फोटो फिचर

सन्दर्भः भूकम्प दिवस

टेकै टेकोको सहर, हेर्दा लाग्छ डर [फोटो फिचर]

अनुज बज्राचार्य |
माघ २, २०७८ बजे

काठमाडौँ : ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ आइतबार भूकम्प सुरक्षा दिवस मनाइएको छ । भूकम्पले नभइ कमजोर संरचनाले मानवीयलगायतको क्षति गर्छ भन्ने चेतना जगाउँदै २०५५ सालदेखि माघ २ गतेलाई भूकम्प दिवसका रुपमा मनाउन सुरु गरिएको हो । 


दिवसका अवसरमा आइतबार भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले ललितपुरको पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । तर सरकारले धुमधामका साथ कार्यक्रम गरेर भूकम्प दिवस मनाइरहदा काठमाडौँका धेरैजसो सम्पदा भने टेकोमा अडिएका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत धेरै सम्पदा जोखिममा छन् । २०७२ सालको भूकम्पले भत्केका, भत्किन लागेका सम्पदाका संरचना ढल्किएका छन् । भूकम्पले भुईमै लडेका सम्पदा केही उठाइएका छन् । धेरै उठाउनै बाँकी छ ।

तर टेको लगाएर धानिएका सम्पदा भत्काउन पनि जटिल छ । मौलिकता र ऐतिहासिक महत्व विनास गरियो भन्दै पुरातत्वविद्को आलोचना हुन्छ । त्यसैले भत्काउदाँ पनि सुख छैन । सम्पदाविद्को आलोचना हुने डरले पनि धेरै सम्पदा टेकोमा अडिन बाध्य भएका हुन् । 

सम्पदा जोगाउन पनि टेको नलगाई सुख छैन । जसरी बिरामीलाई बचाउन शरिरमा स्लाइनको सुई घोचिरहेको हुन्छ । त्यसैगरि सम्पदाको शरिरभरि टेकोरुपी सुई घोपिएको छ । जसरी स्लाइनको सुई बिरामीका लागि बाच्ने आधार हो, त्यसैगरी भूकम्पले सिकिस्त सम्पदालाई टेकोले टेवा दिइरहेको छ । 

आइतबार एकातिर भूकम्प दिवस मनाइरहदा अर्कोतिर सम्पदाको केन्द्रविन्दु काठमाडौँमा सम्पदाको हालत भयभीत छ । जो टेकोमा अडिएर उभिएका छन्, ती अर्काे कुनै सानो परकम्पले ढल्न पनि सक्छन् । तर त्यसबारे चाँसो दिइएको छैन । 

टेकोले धानिएका सम्पदा वरिपरी बालबालिका हिड्छन् । भुइचालो घण्टी बजाएर आउँदैन । त्यसरी आउने अर्को भूकम्पले अर्को विनास निम्त्याउन सक्छ । तर पनि सरकार रमिते बनेको देखिन्छ । भूकम्प गएको वर्षौसम्म पनि सरकारले सम्पदा पुनर्निर्माण गर्न सकेको छैन । 

जसकारण सम्पदाले सुन्दर सहर हिजोआज कुरुप देखिएको छ । यसर्थ, एक सिनेमाको लोकप्रिय डाइलग सम्झिदै भन्न सकिन्छ, वाह ! टेकै टेकोको सहर, हेर्दा लाग्छ डर !


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार