फोटो फिचर

गाईको विदाई र बाघको स्वागत गरेर मनाइयो तमु ल्होसार [फाेटाे फिचर]

अनुज बज्राचार्य |
पुस १५, २०७८ बजे

काठमाडौँ - तमू गुरुङ समुदायले यस पटकको आफ्नो महान् चाड तमू ल्होसार ‘ल्वों ल्हो’ गाई वर्ग वर्षको बिदाइ तथा ‘तो ल्हो’ बाघ वर्ग वर्षको स्वागत गरी मनाइरहेका छन् । ल्होसार चाड विशेष गरी भोट बर्मेली समुदायका मानिसहरूले मनाउने महान् चाड हो । यो चाड नेपालमा मात्र नभएर विश्वका अन्य मुलुकहरूमा पनि मनाउने गरिन्छ । नेपालमा यो समुदायले मनाउने ल्होसारहरूमा तमू ल्होसार, तोला ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसार हुन् । 


यीमध्ये तमू ल्होसारको आफ्नै विशिष्ट इतिहास र परम्परा रहेको उल्लेख छ । आदिमकालमा कुनै वैज्ञानिक गणना पद्धतिको विकास नहुँदाको समयमा पनि यस समुदायका त्यतिबेलाका अग्रज पुर्खाहरूले विभिन्न जीवजन्तुलाई आधार बनाई वर्ष गणना गर्ने पद्धतिको विकास गरेको बताइन्छ । त्यही परम्पराको निरन्तरताको रूपमा आजको दिनलाई गुरुङ जातिले तमू ल्होसारका रूपमा मनाउने गरेका छन् ।  

बिहीबार टुडिखेलमा भएको कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले यस पर्वले समुदायमा सामाजिक सद्भाव अभिवृद्धिका लागि योगदान पुग्ने बताउँदै तमू ल्होसारका अवसरमा सार्वजनिक बिदा दिएकामा नेपाल सरकारप्रति आभार व्यक्त गरे । 

नेपाल आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद्का अध्यक्ष जगत बरामले अघिल्लो सरकारले बिदा कटौती गरेकामा दुःख व्यक्त गर्दै तमू ल्होसार राष्ट्रिय पर्व भएकाले यसलाई राष्ट्रिय क्यालेण्डरमा नै उल्लेख गरी नियमित सार्वजनिक विदाको व्यवस्था गर्न माग गरे । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख अतिथी भएर मन्तव्य दिएका थिए । 

कार्यक्रममा सो समुदायका विभिन्न क्षेत्रका झाँकी र्‍यालीहरु प्रदर्शन गरिएको थियो भने सो समुदायका विभिन्न विधाका विशिष्ट व्यक्तिहरुलाई प्रधानमन्त्री देउवाले सम्मान गरेका थिए । पर्वको औपचारिक उद्घाटन समारोहपछि विभिन्न सांस्कृतिक कार्यक्रम जारी रहेको छ ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार