बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

ऊर्जामा काम गर्न एमसीसी पर्खनु हुँदैन : मन्त्री रायमाझी

फाइल तस्बिर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिंचाईं मन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामको निम्ति मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्‍नु नहुने बताएका छन् । 

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्‍न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामको लागि एमसीसी पर्खेर बस्‍न नहुने बताएका हुन् । 

विद्युत खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेकोले एमसीसीलाई नपर्खी ट्रान्समिसन लाइनहरू देशकै लगानी अथवा अरु नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्ने बताए । एमसीसी लागू गर्ने अथवा खारेज के गर्ने भन्‍ने विषय छिटोभन्दा छिटो टुंग्याउनुपर्ने उनको भनाइ छ ।

रायमाझीले बेला बेलामा विद्युत जाने समस्या विद्युत भार बढी भएको र कमजोर संरचनाका कारण भएको बताए । विद्युतको अपर्याप्तताका कारण विद्युत काटिएको नभई पुरानो संरचनाका कारण बेला बेला जाने गरेको उनको भनाइ छ । मन्त्री रायमाझीले देशको राजनीतिक प्रणाली र परिवर्तनको मुद्दाहरू नै गुम्‍ने स्थिति आएको कारण मध्यावधि निर्वाचनमा जानुपरेको बताए । उनले मध्यावधि निर्वाचनमा जानु प्रगतिशिल कदम भएको टिप्पणी गरे । 

देशको परिवर्तनको रक्षा गर्न निर्वाचन आवश्यक रहेको उनको भनाइ छ । उनले प्रतिपक्षी दलहरू निर्वाचनमा जान डराएको तथा सडकमा आन्दोलन गरेर देशको विकास र समृध्दि नहुने बताए । 

रायमाझीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको बिहिबार देखि हुने भारत भ्रमणमा दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्ने र नेपाल भारतबीचको अन्तर्विरोध न्युनिकरण गर्ने विषयमा छलफल हुने जानकारी  दिए । ज्ञवालीको भारत भ्रमण परराष्ट्रमन्त्री स्तरीय नियमित भ्रमण रहेको उनले बताए ।