बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

टिपरको ठक्करबाट मृत्यु

काठमाडौँ- काठमाडाैँ महानगरपालिका–१४ कलंकीस्थित सडकमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । गएराति बा४ख ६८४३ ले नम्बरको टिपरले बा२ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार हाल ललितपुर बस्दै आएका बझाङ फलराका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनी मोटरसाइकलको पछाडि सवार थिए । ठक्करबाट सख्त घाइते उनको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते मोटरसाइकल चालक ललितपुर धोवीघाट बस्ने बझाङ चैनपुरका २६ वर्षीय निखिल बमको सोही अस्पतालमा उपचार पछि थप उपचारका लागि सुन्धारास्थित भ्याली अस्पताल ल्याइएको छ ।

टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता ललितपुर महानगरपालिका–४ जवलाखेलस्थित सडक पेटीमा एक पुरुष आज मृत फेला परेका छन् । अन्दाजी ४०/४५ वर्षको देखिने मृतकको पहिचान खुलेको छैन । उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।