बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा तीन पदका लागि ६ जनाको उमेदवारी

बुटवल । राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा मंगलबार ६ जनाले मनोनयन दर्ता गराएका छन् ।  प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर सत्तारूढ दलले मिलेर मनोनयन दर्ता गराए भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले एकल रूपमा मनोनयन दर्ता गराएकाे हाे ।

माघ १२ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकी राज्य लक्ष्मी गैरे  र राष्ट्रिय जनमोर्चा (राजमो) को तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्माले मनोनयन दर्ता गरेका हुन्।

त्यस्तै, नेकपा एमालेबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारले मनोनयन दर्ता गराएको  निर्वाचन कार्यलय दाङले जनाएको छ। 

मनोनयन दर्ता गराउन जाँदा सत्तारूढ दलहरूले घोराहीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट जुलुससहित संयुक्त रूपमा गएका थिए भने एमालेका नेताहरू पनि दलबल र ब्यानरसहित मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगेका थिए।