बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

माइतीघरमा धर्नामा बसेका महिलाको माग सम्बोधन गर्न सरकारलाई निर्देशन

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलमा धर्नामा बसेका महिलाको माग सम्बोधन हुने प्रत्याभूति गरि घर फर्कने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले काठमाडौंको माइतीघर मण्डलमा धर्नामा बसेका महिलाहरुको स्वास्थ्य स्थिति परीक्षण गर्न गराउन र माग सम्बोधन हुने प्रत्याभूति गरि घर फर्कने वातावरण बनाउन महिला आयोग, गृहमन्त्रालय, महिला बालबालिका मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो । 

नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि अधिकारकर्मी रूबी खानसहितका अधिकारकर्मीहरू गत मंसिर ९ गतेदेखि माइतीघर मण्डलमा धर्नामा बसेका छन् । त्यस्तै बैठकले महिला हिंसा, लैंगिक हिंसाका घटनाहरु संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न पनि निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिइन् । 

बैठकले महिला हिंसाका सम्बन्धमा परेका उजुरीहरुलाई द्रूतमार्गबाट शीघ्र किनारा लगाउन साथै पीडितको सुरक्षाको सुनिश्चितता गर्न पनि निर्देशन दिइएको जानकारी दिइन् ।