सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

‘विश्व शान्तिका लागि वैदिक र आधुनिक विज्ञानलाई सँगै लैजानुपर्छ’

काठमाडौँ- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विश्व शान्ति, समृद्धि र विकासका लागि वैदिक विज्ञान र आधुनिक विज्ञानलाई एकसाथ लैजानुपर्नेमा जोड दिइएको छ ।

नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलनको दोस्रो दिनको कार्यक्रमलाई आज भृकुटीमण्डपमा सम्बोधन गर्दै उनले वैदिक विज्ञान विना आधुनिक विज्ञान अधुरो हुने बताए ।

योग, यज्ञ र ध्यानका माध्यमबाट विश्व शान्ति, समृद्धि र विकासमा सहयोग पुग्ने भनाइ पूर्वअध्यक्ष रेग्मीले राखेका थिए । महर्षि महेश योगीले पनि ५० वर्षअघि नेपाल आउँदा हिमालयको काखमा रहेको नेपालले वैदिक ज्ञानका माध्यमबाट विश्वलाई शान्तिको सन्देश दिन सक्ने उद्घोष गर्नुभएको उल्लेख गर्दै उनले त्यसलाई साकार बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाले योग, यज्ञ र ध्यानका माध्यमबाट नै विश्व शान्ति, समृद्धि र विकास हुनसक्छ भन्ने महर्षिको वचनलाई आधुनिक विज्ञानले पनि प्रमाणित गरेकाले वैदिक र आधुनिक विज्ञानको सम्मेलन गरिएको जानकारी दिए । प्रा डा दीर्घराज घिमिरेले उग्रताको शयन गर्नसक्ने शक्ति वैदिक मन्त्रमा हुने उल्लेख गर्नुहुँदै त्यसका माध्यमबाट आधुनिक विज्ञानले पनि लाभ लिएको बताए ।

वैदिक दर्शनमा उल्लेख गरिएको ३३ करोड देवतामध्ये रुद्र जेठो भएको उल्लेख गर्नुहुँदै उनले तिनै रुद्र भगवान्लाई खुसी पार्न गरिने यज्ञ नै रुद्री भएको बताए ।

महर्षि नेपाल आएको स्वर्ण महोत्सवका अवसरमा महासम्मेलनसँगै विश्व कल्याणका लागि अतिरुद्री विराट महायज्ञ पनि आयोजना गरिएको छ । बिहीबारदेखि सुरु भएको महायज्ञ कात्तिक २५ गते सकिने फाउन्डेसनले जनाएको छ । महायज्ञमा भावातीत ध्यान र सिद्धि साधना गरिरहेका एक हजार १११ वैदिक पण्डितले रुद्राभिषेक गरिरहेका छन् । –रासस