आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

लमजुङमा फेरि भूकम्प गयो, काठमाडौँमा पनि धक्का

सांकेतिक तस्बिर

काठमाडौँ : लमजुङमा फेरि भूकम्प गएको छ । बिहान ८ बजेर २६ मिनेटमा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार लमजुङमा बुधबार बिहान गएको यो दोस्रो भूकम्प हो । बिहान ५ बजेर ४२ मिनेटमा पनि भूकम्प गएको थियो । भूकम्पले लमजुङमा केही घर भत्किएका छन् भने केही घाइते समेत भएका छन् ।

लमजुङमा लगातार दुई भूकम्प जाँदा काठमाडौँ हल्लाएको छ । लमजुङका साथै आसपासका जिल्ला र काठमाडौँ उपत्यकामा समेत धक्का महसुस भएको हो । बिहान गएको भूकम्पको धक्का केहीले महसुस गरेपनि बिहान ८ बजेपछि गएको दोस्रो भूकम्पको धक्का भने धेरैले महसुस गरेका थिए । 

सामाजिक सञ्जालमा भूकम्प गएको भन्दै धेरैले धक्का महसुस भएको लेखेका छन् । लमजुङ केन्द्रबिन्दु बनाएर गएका दुवै भूकम्प २०७२ सालको भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख अधिकारीले बताए ।