आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

जेठ १० गते नागरिक आन्दोलनले प्रेमविरोधी जात व्यवस्था दिवस मनाउने

काठमाडौँ : रुकुममा प्रेम विवाह गर्न खोज्दा मारिएका जाजरकोटका नवराज विश्वकर्मासहित ६ जना युवाहरुको सम्झनामा जेठ १० गते बृह्त नागरिक आन्दोलनले प्रेमविरोधी जात व्यवस्थाको प्रतिरोध दिवस मनाउने भएको छ ।

गएको वर्ष जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँमा मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा नवराज विश्वकर्मासहित ६ जना युवाहरुको कुटी कुटी हत्या भएको थियो । विवाहका लागि युवतीलाई भगाउन गएका नवराजसहित लोकेन्द्र सुनार, सन्जु विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढामगर र गोविन्द शाहीको सोती गाउँका मानिसहरुले कुटी कुटी हत्या गरी शब भेरी नदीमा फालेका थिए ।

युवाहरुको हत्यामा सलंग्न चौरजहारी नगरपालिका ७ का वडाध्यक्ष डम्बर मल्ल, युवतीका बुवासहित दर्जनौ मानिस अहिले पनि जेलमा छन् । तर मुद्दाको अन्तिम फैसला हुन सकेको छैन । दलित युवाले गैरदलित युवतीसँग विवाह गर्न खोज्दा सारा गाउँले मिलेर वडाध्यक्षको नेतृत्वमा युवाहरुको हत्या गरेको दिनलाई बृह्त नागरिक आन्दोलनले प्रेमविरोधी जात व्यवस्था प्रतिरोध दिवस मनाउने निर्णय गरेको हो ।

मंगलबार एक विज्ञप्ति निकालेर बृह्त नागरिक आन्दोलनले जातीय छुवाछुतमुक्त मूलुक घोषणा भएपनि व्यवहारमा दलित समूदायको हत्या भइरहेको भन्दै आपत्ति जनाएको छ । जेठ १० गते हुने कार्यक्रममा कविता बाचन, नाटक प्रदर्शन तथा भिडियो समेत प्रदर्शन गरिने बृहत् नागरिक आन्दोलनले विज्ञप्तिमा उल्लेख गरेको छ ।