आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

चर्च ब्वाइजले यसरी जित्यो लगातार तीनवटै डिभिजन लिगको उपाधि

काठमाडौँ– यही वर्ष ‘बी’बाट उक्लिएको चर्च ब्वाइज युनाइटेड क्लबले सायदै सोचेको थियो– ‘ए’ डिभिजन लिगको उपाधि उचाल्छौं । तर, भइदियो यस्तै ।

चर्च ब्वाइज राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको एक खेल खेल्नुअगावै च्याम्पियन बनिसकेको छ । उसो त उपाधि जित्ने तयारीका साथ स्टार खेलाडीहरू, अनुभवी प्रशिक्षकको क्लबले कमी हुन दिएको थिएन । त्यसैको उपलब्धि हो उपाधि ।

हरेक खेलमा प्रशिक्षक बालगोपाल महर्जनको रणनीति अनि खेलाडीहरूको मेहनत नै उपाधिका लागि हकदार बन्यो । उसो त लिगको सातौं खेलसम्मका प्रशिक्षक प्रदीप हुमागाईंको योगदानलाई पनि कम आँक्न मिल्दैन । उनी रहँदा चर्च ब्वाइज अपराजित थियो ।

जारी लिगमा उत्कृष्ट खेल पस्केका खेलाडीमध्ये अन्जन विष्ट र आशिष चौधरीले समान ७/७ गोल गरेर क्लबलाई यहाँसम्म ल्याएका छन् ।

ए डिभिजनको डेब्युमै उपाधि जितेर एउटा इतिहासलाई फेरि सम्झाइदिएको छ चर्च ब्वाइजले । त्यो इतिहास मनाङ मर्स्याङ्दीको नाममा छ । उसले पनि ए डिभिजनको डेब्युमै उपाधि भित्र्याएको थियो २०४३ मा । त्यही कीर्तिमानलाई चर्च ब्वाइजले जारी लिगमा जादुमयी खेल देखाउँदै भेटेको छ ।

चर्च ब्वाइजले पनि मनाङको जस्तै इतिहास रचेको छ । मनाङले २०४२ मा 'बी' डिभिजन खेल्यो अनि उपाधि जित्यो । २०४१ मा सी डिभिजन खेल्यो अनि उपाधि जित्यो । ठीक उसैगरी लगातार तीनै वटा डिभिजनको उपाधि जित्ने अर्काे क्लब बनेको छ चर्च ब्वाइज ।

चर्च ब्वाइजले अघिल्लो संस्करणको ‘बी’ डिभिजन लिग खेलेको थियो । त्यसको उपाधि उचाल्दै यो वर्ष चर्च ब्वाइजले ‘ए’ डिभिजनमा डेब्यु गरेको हो । ‘सी’ डिभिजन जित्दै चर्च ब्वाइजले ‘बी’ मा डेब्यु गरेको थियो ।

चर्च ब्वाइज ललितपुरस्थित बालकुमारीको क्लब हो । २०६६ सालमा अगाडि राष्ट्रिय खेलकुद परिषदमा फुटबल क्लबको सामाजिक क्लबमा दर्ता भएको थियो । स्थापनासँगै चर्च ब्वाइजले स्थानीय टुर्नामेन्टहरूमा भाग लिन थाल्यो ।

स्थानीय स्तरमा बिस्तारै पकड जमाउँदै गरेको यो क्लबले ‘सी’ डिभिजनका लागि छनोट खेल्यो । चौथोपटकसम्म छनोट हुन सकेन । तर, हार मानेन । क्वालिफायरमा निकै संघर्ष गरेपछि पाँचौँपटक मात्रै ‘सी’ डिभिजनमा छनोट हुन सकेको थियो ।

सुरुआती चरणमा संघर्ष गरेको चर्च ब्वाइजले ‘सी’ डिभिजनमा छनोट भएपछि भने पछाडि फर्कन परेको छैन । त्यो बेलादेखि क्लबले निकै सफलता पाइरहेको छ ।

लगातार पाँच पटकको प्रयासमा मात्र क्वालिफायरबाट सी’ डिभिजन लिगमा उक्लेको थियो । सी डिभिजन लिग क्वालिफायरमा कूल ३८ क्लबहरू सहभागी थिए । धेरै क्लब भएपछि ग्रुप बनाइएको थियो । ग्रुप विजेता छनोट हुने प्रावधान अनुसार चर्च ब्वाइज ग्रुप ‘इ’ बाट छनोट भई सेमिफाइनलको यात्रा तय गरेको थियो ।

चर्च ब्वाइज ‘सी’ डिभिजन क्वालिफायर सन् २०१९ मा भएको हो । ग्रुप ‘एफ’ को सेतीओपी च्याम्पियन ब्वाइज क्लबलाई सेमिफाइनलमा ५–१ गोल अन्तरले जित्दै चर्च ब्वाइज फाइनल पुगेको थियो ।

२०१९ जुनमा भएको फाइनलमा सुन्धारा युवा क्लबलाई ५–० गोल अन्तरले जित्दै चर्च ब्वाइज ‘सी’ डिभिजन लिगमा उक्लेको थियो । वीरगन्ज युनाइटेड, झापा एफसी र चर्च ब्वाइज युनाइटेड ‘सी’ डिभिजन लिगमा सँगै उक्लेका हुन् ।

सन् २०२० मा हुनुपर्ने ‘सी’ डिभिजन लिग कोभिड–१९ ले गर्दा हुन सकेन । सन् २०२१ को सहिद स्मारक ‘सी’ डिभिजन लिगको समूह चरण खेलहरूमा आफ्नो समूहमा शीर्ष स्थान हासिल गर्दै चर्च ब्वाइजले सुपर सिक्सको यात्रा तय गरेको थियो ।

लिगको सुपर सिक्स खेल सकिँदा शीर्ष स्थानमा रहेर चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो । चर्चले उपाधि जित्ने क्रममा १० अंक जोडेको थियो । झापा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको हो । ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेडले उपाधिसहित १० लाख हात पार्यो ।

त्यस्तै वीरगञ्ज युनाइटेड क्लब र सामाजिक युवा क्लब पनि दोस्रो र तेस्रो स्थान हासिल गर्दै ‘बी‘ डिभिजनमा बढुवा भएका थिए। चर्च ब्वाइज र वीरगञ्ज ‘सी’ मा बढुवा भएको एकै वर्षमा ’बी’ डिभिजनमा उक्लिएको हो । 

चर्च ब्वाइजका सनम राई उत्कृष्ट डिफेन्डर र चर्च ब्वाइजकै सलमान लिम्बु उत्कृष्ट मिडफिल्डर घोषित भएका थिए । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने दुवै व्यक्तिगत २५–२५ हजार हात पारेका थिए ।

‘बी’ डिभिजन लिग २ मार्च २०२२ मा सुरु भएको थियो र २० अप्रिल २०२२ मा सकिएको थियो ।

उक्त लिगको च्याम्पियन बन्दै चर्च ब्वाइज युनाइटेड ‘ए’ डिभिजन लिगमा उक्लेको थियो । चर्च ब्वाइज युनाइटेडले बी’ डिभिजन लिग पनि एक खेलअगावै जितेको हो । उसले बाँसबारी क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै लिगको उपाधि जित्यो अनि सन् २०२२/२०२३ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि बढुवा भयो ।

लिगको १३ खेलमा ९ जित निकाल्दै ‘ए’ डिभिजनमा डेब्यु गर्न पायो । उसले सो लिगमा २ हार र २ बराबर खेल्दै २९ अंक जोडेको थियो । लिग च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेडले उपाधिसहित १५ लाख हात पार्यो । लिगको सर्वाधिक गोलकर्ता चर्च ब्वाइजकै आशिष चापागाईं बने । उनले लिगमा ११ गोल गरेका थिए । दोस्रो स्थानमा रहेको खुमलटार एफसीले २२ अंक जोडेको थियो । चर्च ब्वाइज ‘बी’ मा बढुवा भएको एकै वर्षमा ‘ए’ डिभिजनमा उक्लिएको हो । चर्चले लिग जित्दा सँगै ‘ए’ डिभिजन प्रवेश गरेको खुमलटार रेलिगेसन जोनमै छ ।

लिगमा २५ खेल खेल्दै १२ जित ४ हार र ९ बराबर ४५ अंक जोडेर लिग च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेडले उपाधिसहित ७५ लाख हात पार्नेछ । साविक विजेता मच्छिन्द्र फुटबल क्लबभन्दा एक खेल बढी खेले पनि ६ अंकको अग्रता छ ।

खुमलटारसँग खेल्न बाँकी रहेको चर्च ब्वाइज ४५ अंक पुगेको छ । दोस्रोमा रहेको मछिन्द्रको ३९ अंक छ । अब अर्को खेल चर्च ब्वाइजले हार्दा र मच्छिन्द्रले अब खेल्ने दुवै खेल जितेर अंक बराबरी गर्दा पनि हेड टु हेडका आधारमा लिग चर्च ब्वाइजले जित्ने छ ।