आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

ए डिभिजन लिग: अन्जनकोे ह्याट्रिकमा एनआरटीलाई हराउँदै चर्चब्वाइज शीर्ष स्थानमा

काठमाडौं– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाईटेड शीर्ष स्थानमा उक्लिएको छ।

च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम एनआरटीलाई ४–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज शीर्ष स्थान उक्लिएको हो । चर्च ब्वाइजको जितमा अन्जन विष्टले ह्याट्रिक गोल गरे । सुशील शाहले एक गोल थपे । एनआरटीका दिपेश आले मगरले एक गोल फर्काए । जितसँगै चर्च ब्वाइजले १५ खेलमा २७ अंक जोडेको छ । एनआरटीको  १५ खेलमा १७ अंक रहेको छ । 

त्यस्तै शनिबार नै भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले सातदोबाटो युथ क्लबसँग बराबरी खेलेको छ । 

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटो र मनाङले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेल दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । 

यस बराबरीसँगै सातदोबाटोले १५ खेलमा २३ अंक जोडेको छ । मनाङले १५ खेलमा १९ अंक जोडेको छ ।