आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

अन्यलाई पोस्‍न त्रिविलाई कोभिड बाहाना बन्दै

फेरि एक पटक एमफिल र पीएचडीको शैक्षिक वर्ष गुजार्ने मनशाय

काठमाडौँ : कोभिड-१९ महामारीले शैक्षिक सत्र उथलपुथल पारेको छ । सरकारले देशका धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गर्दा त्रिभुवन विश्वविद्यालयबाट हुने सबै किसीमका परीक्षा ठप्प पारिएको छ ।

उसो त यो समस्या यस वर्ष मात्रै होइन्, गत वर्ष पनि थियो । कोभिड महामारीले शिक्षण संस्था महिनौँ ठप्प भए । त्यही समयमा त्रिविको पठनपाठन रोकियो । परीक्षा सुरु गर्नै ढिलाई भयो । पठनपाठन ठप्प जस्तै छ ।

ढिलो भएको परीक्षाको नतिजा अहिलेसम्म आउन सकेको छैन । परीक्षाफल नआउँदा विद्यार्थीलाई यस वर्षको पठनपाठन गर्नै मुश्किल छ । यो समस्या अहिले त्रिविमा एमफील र पीएचडीका विद्यार्थीमा धेरै छ । उनीहरुले यसअघि दिएको इन्ट्रान्स परीक्षाको नतिजा आएको छैन् ।

समस्या यतिमा मात्रै सिमित छैन । पोहोर कोभिडले गर्दा रोकिएको शैक्षिक वर्ष यस पनि प्रभावित गर्ने गरी त्रिविका पदाधिकारीले नतिजा निकाल्नै आनाकानी गरिरहेको विद्यार्थीको गुनासो छ । 

‘पोहोर कोभिडले गर्दा पढाई र शैक्षिक वर्ष प्रभावित बन्यो’ नाम नखुलाउने शर्तमा एक विद्यार्थीले इकागजसँग भने, ‘यस वर्ष पनि कोभिड देखाएर न नतिजा आउँछ । न पठनपाठन गर्ने सुरसार देखिन्छ । न इन्ट्रान्सको नतिजा छ । कोभिड भन्‍ने मस्त बस्‍ने देखियो ।’  

सरकारले कोभिडमा प्रत्यक्ष कक्षा सञ्चालन गर्न नहुने भन्दै अनलाईन कक्षा चलाउन भनिरहेको छ । त्रिविले पनि मातहतका क्याम्पसलाई त्यही निर्देशन जारी गरेको छ ।
तर आफू भने अनलाइन कक्षा त परको कुरा विद्यार्थीको इन्‍ट्रान्‍सको नतिजा निकाल्नै महिनौ लगाएर हैरान पारेका छन् । खासगरी एमफील र पीएचडी पढ्ने चाहने विद्यार्थी सबैभन्दा ठूलो मारमा परिरहेका छन् ।

देशकै जेठो विश्वविद्यालयमा पढेर एमफील र पीएचडी गर्ने रहर भएपनि त्रिविका पदाधिकारी विद्यार्थीलाई काठमाडौँ वा अन्य विश्वविद्यालयमा धपाउने काम गरिरहेको पनि विद्यार्थीको आरोप छ ।

‘त्रिविमा नतिजा आउनै समय लाग्छ । पठन-पाठन अब के हुन्छ ? टुंगो छैन’ ती विद्यार्थीले थप अगाडि भने, ‘तर काठमाडौँ विश्वविद्यालयमा समयमै नतिजा आउँछ । अनलाइनबाट धमाधम पढाई भइरहेको छ । यो हामीलाई घुमाउरो पारामा काठमाडौँ  वा अन्य विश्वविद्यालयमा पढ्न जाउ भन्याजस्तो व्यवहार भइरहेको छ ।’

विद्यार्थीले एकपछि अर्को गरी गुनासो गरिरहदा त्रिविका पदाधिकारी र परीक्षा नियन्त्रक भने अहिले परीक्षाफल निकाल्ने तयारी भइरहेको बताउँछन् । त्रिविका रजिष्ट्रार डा.पेशल दाहाल अहिले कापी जाच्‍ने काम भइरहेको र बैशाख अन्तिममा नतिजा निकालेर चाँडै नयाँ भर्ना लिने बताउँछन् ।

‘केही संकायको नतिजा आइसकेको छ । त्यसमा पनि विज्ञानको नतिजा त आइ नै सकेको छ’ उनी भन्छन्, ‘शिक्षा र मानविकी संकायको परीक्षाफल चाँडै आउँछ । कोभिडले गर्दा केही ढिलो भएको हो ।’ रजिष्ट्रार दाहालका कुराले त्रिविमा कुनै समस्या छैन् जस्तो लाग्छ । तर त्रिविका पदाधिकारीको जवाफ यस्तै औपचारिकमा टुंगिन्छ । विद्यार्थीले समस्या भने वर्षौदेखि झेलिरहेका छन् ।

कहिले नतिजा आउने ? कहिले भर्ना खुल्ने ? नतिजा आएपछि भर्ना खोल्ने कि नखोल्ने ? कोभिडको बाहना पो देखाउँछन् कि ? विद्यार्थी यस्तै यस्तै समस्याले पिरोलिएका छन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्ंत्रक पुष्पराज जोशी पनि परीक्षाफल प्रकाशन गर्न कापी जाँच्‍ने काम भइरहेको बताउँछन् । 

‘अहिले कोभिड छ । सामाजिक दुरी कायम राखेर कापी जाँच्ने काम भइरहेको छ । दैनिक तीन चार जना प्रोफेसरले कापी जाचिरहनु भएको छ’, उनले भने, ‘अब कापी सकेर आन्तरिक सबै तयारी सकेपछि नतिजा आउँछ । कोभिडले अलिकति समय लागेको हो ।’

त्रिविमा यसपटक कोभिड भएपनि सधै कुनै न कुनै समस्या देखाएर पदाधिकारी र प्रोफेसर पन्छिदै आएका छन् । यसपटक कोभिडका कारण दुई वर्ष प्रभावित पार्ने पदाधिकारीको मनशाय देखिन्छ ।

जसकारण आफ्नो सुन्दर भविष्य बनाउने सपना पालेका विद्यार्थीलाई भने सधै झस्काइरहन्छ । त्रिवि आफ्नै कारण ढिलासुस्ती गर्दै निदाइरहन्छ । विद्यार्थी नियमित पठनपाठनका लागि सरकारी विश्वविद्यालय छाडेर निजी विश्वविद्यालय गइरहन्छन् । नेपालमा लामो समयदेखि यो श्रृङ्खला चलिरहेकै छ ।