बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

सरकारले अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विमानस्‍थलमा विदेश जाने र स्वदेश फर्कने यात्रुको चाप

फाइल तस्‍बिर

काठमाडौँ : पछिल्लो ३ दिनमा हवाईमार्ग हुँदै विदेशिने र विदेशबाट आउने यात्रुहरूको संख्या ह्वात्तै बढेको छ । कोभिड-१९  संक्रमणको दोश्रो लहर तीब्र बनेसँगै रोकथाम  र नियन्त्रणका लागि सरकारले आज २३ गते रातति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरूको चाप बढेको हो । 

पछिल्ला दुई दिनमा यात्रुहरूको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । नेपाललाई ट्रान्जिट प्वाईट बनाएर तेश्रो मुलुक उडान गर्न नपाउने बैशाख १३ गतेको मन्त्रिपरिषद् निर्णयपछि यात्रुहरूको आवागमनमा कमि आए पनि १९ गतेको निर्णयसंगै आवागमनको दर वृद्धि भएको हो । सरकारले अन्तराष्‍ट्रिय उडान र अवतरणमा रोक लगाए पनि नेपालस्थिति विदेशी दुतावासहरूले पनि नेपालमा घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लैजाने गरेको , कोभिड भ्याक्सिन लगाएर टे«किङ गर्न आएका पर्यटकहरूले पनि कम्तिमा १० होटल क्वारेन्टिन बस्नुपर्ने भएपछि आफ्नै देश फर्कने गरेको र घुम्न आएका पर्यटकले पनि घुम्न नपाएपछि फर्कने गरेकाले यात्रुहरूको चाप बढेको बताइएको छ । 

उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरू स्वदेश फर्कने अनुपात पनि ह्वात्तै बढेको छ । अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले अन्तराष्ट्रिय उडान रोक्ने नेपाल सरकारको निर्णयसंगै विदेशमा रहेका नेपाली स्वदेश फर्किने र श्रमका लागि विदेश जाने नेपालीहरूले पनि निर्धारित उडान अघि सारेको, कामको सिलसिलामा र घुम्न आएका विदेशी नागरिकहरू आफ्नै देश फर्कने क्रम बढेकाले आवागमन ३० देखि ४० प्रतिशत सम्म वृद्धि भएको बताए । 

उनले भने, 'केही दिन सम्म यात्रुको आवागमन घटेको थियो ।  पछिल्लो एक दुई दिन यात्रुहरुको आवागमन बढेको छ ।  १९ गतेको मन्त्रिपरिषद् निर्णयपछि अत्यावश्यक कामले आफ्नो देश फर्कनुपर्ने विदेशी नागरिकहरू र  विदेशमा रहेका नेपाल फर्कन चाहने नेपाली नागरिकहरू तालिका परिवर्तन गरेर आउने जाने क्रम बढेको छ । पछिल्लो पटक ३०/४० प्रतिशतले बढेको छ ।'

उनकाअनुसार हवाईमार्गबाट बैशाख २२ गते मात्रै २ हजार २९० जना प्रस्थान भएका छन् भने ३ हजार ८८४ जना नेपाल भित्रिएका छन् । त्यसैगरी, २१ गते १ हजार ४४० नेपाल छोडेका छन् भने ३ हजार १८३ जना नेपाल आएका छन् । २० गते १ हजार २०५ जना, १९ गते १ हजार ३६९ जना, १८ गते १ हजार ६९० जना र १७ गते २ हजार ५०९ जना हवाईमार्ग हुदै विदेश गएका छन् । अध्यागमनका अनुसार, २० गते २ हजार ३ सय २३ जना, १९ गते २ हजार ५ सय १० जना,१८ गते २ हजार ३१ र १७ गते २ हजार ६ सय २७ जना नेपाल भित्रिएका छन् । यात्रुहरूको चाप बढेपछि मंगलबार मात्रै एयर अरेबियाले ३ वटा उडान थप गरेको थियो । त्यसैगरी अन्य एयरलाईन्सहरूले पनि उडान थप गरेका छन् ।