बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

सार्क अर्थमन्त्रीहरूको बैठक सम्पन्न

काठमाडौँ : एसियाली विकास बैंक (एडीबी) को भर्चुअल वार्षिक बैठकको क्रममा दक्षिण एसियाली सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरूको पनि बैठक भएको छ । सार्कको अध्यक्षता नेपालले गरिरहेकाले उक्त बैठकको अध्यक्षता अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए । कार्यक्रममा एडीबीका प्रमुख अर्थशास्त्री एवं आर्थिक अनुसन्धान तथा क्षेत्रीय सहयोग विभागका महानिर्देशक यासुयुकी सवादाले कोभिड–१९ प्रभावित अर्थतन्त्रहरूमा कसरी समावेशी र उत्थानशील आर्थिक विस्तारलाई प्रवर्धन गरी पुनरुत्थान गर्ने भन्ने सम्बन्धमा प्रस्तुती दिएका थिए । प्रस्तुतीकरणका क्रममा उनले महामारीको विद्यमान अवस्था, सम्भावित अल्पकालीन मध्यकालीन र दीर्घकालीन चुनौती तथा सार्क क्षेत्रको दीगो र हरित आर्थिक वृद्धिका सम्बन्धमा चर्चा गरेका थिए । 

आफ्नो मन्तव्यका क्रममा अर्थमन्त्री पौडेलले सार्कलाई निरन्तर सहयोग गर्दै आएकोमा एसियाली विकास बैंकलाई धन्यवाद दिदैं कोभिड–१९ ले अर्थतन्त्रमा ठूलो चुनौती थपेकाले यसका नकारात्मक असर न्यूनीकरणका लागि आपसमा सामूहिक सहकार्य गर्नुपर्ने प्राथमिकता औल्याएँ । 

सार्ककका महासचिव इसला वीरकुनले ‘कोभिड–१९ प्रभावित अर्थतन्त्रको पुनरूत्थानः समावेशी र उत्थानशील आर्थिक वृद्धि’ विषयमा बोल्दै सार्कका सबै सदस्य राष्ट्रहरूले खोपका माध्यमबाट सबैभन्दा पहिले महामारी न्यूनीकरण गरी आर्थिक गतिविधि सुचारु गर्नुपर्ने बताएका थिए । उनले कठिन परिस्थितिमा कोभिड–१९ सँग प्रतिवाद गर्न आपसी सहकार्यको खाँचो औल्याउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा सबै सार्क राष्ट्रको प्रतिवद्धतामा स्थापना भएको कोभिड–१९ आपत्कालीन कोषको प्रशंका गरे । सबै देशले उक्त कोषमा स्वेच्छिक योगदानको प्रतिवद्धता जनाएका हुन् । उनले स्वास्थ्य सेवामा लगानी बढाउनुपर्ने र अन्य केही ठूला परियोजनाहरू एसियाली विकास बैंक, विश्व बैंक लगायतको सहकार्यमा अघि बढाउनुपर्नेमा जोड दिए ।

एसियाली विकास बैंकका उपाध्यक्ष शिसिन चेङले एडीबीले सार्क क्षेत्रमा सञ्चालन गरेका परियोजनाहरू तथा एडीबी र सार्कबीचको सहकार्यका सम्बन्धमा सार्कका अर्थमन्त्रीहरूलाई जानकारी गराएका थिए । उनले कोभिड–१९ ले अर्थतन्त्रमा पारेका नकारात्मक असर न्यूनीकरण गर्दै सार्क क्षेत्रको आर्थिक विकास र समृद्धि तथा यस क्षेत्रका जनताका समृद्धिमा काम गर्न एडीबी प्रतिवद्ध रहेको बताए । 

सार्क क्षेत्रका अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले महामारीले अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभाव न्यूनीकरणका लागि चालिएका कदमका सम्बन्धमा चालिएका कदमहरूका सम्बन्धमा आपसमा छलफल गर्दै निरन्तर सहयोगका लागि एडीबीलाई धन्यवाद दिए । सार्क अर्थमन्त्रीहरूले सार्क क्षेत्रमा सम्भावनाको पूर्ण उपयोग गर्दै आपसी सहयोग र आर्थिक विस्तार हुने अपेक्षा गरेका छन् । एडीबीको भर्चुअल वार्षिक बैठक यही सोमबार देखि बुधबार (मे ३ देखि ५) सम्म भर्चुअल माध्यमबाट सञ्चालन गरिएको थियो ।