मकवानपुरमा डेंगु संक्रमित ५ सय नाघे

मकवानपुर- मकवानपुर जिल्लामा डेंगु संक्रमितको सङ्ख्या ५ सय नाघेको छ । लामखुट्टेको टोकाईबाट हुने डेंगु संक्रमण बढेसँगै अस्पतालमा बिरामीको चाप समेत बढेको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुर जिल्लामा साउन यता ५ सय ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले संक्रमितको सङ्ख्या बढिरहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरे । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-४ र ५ नम्बर वडामा सबैभन्दा बढी संक्रमितहरू रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गत साउनको तेस्रो सातासम्म २८ जनामा देखिएको डेंगु ज्वरोका संक्रमितहरूको संख्या हाल ५ सय ५८ जना पुगेको छ । हेटौंडाका ४ र ५ नम्बर वडाका बढी ग्यारेजहरू धेरै रहेको तथा जनघनत्व समेत बढी भएका कारण यहाँ बढी संक्रमितहरू रहेको कार्यालयले जनाएको छ ।
विद्यालयहरूको चौरमा झाडी भएका कारण स्कुले बालबालिकाहरूलाई समेत डेंगुको संक्रमण हुने जोखिम बढेको छ ।
डेंगुको कारण कसैको पनि ज्यान नगएको तर अस्पताल र मेडिकलहरूमा डेंगु बिरामीको चाप बढेको घिमिरेले बताए ।
जिल्लाको सरकारी अस्पताल हेटौंडा अस्पतालमा पछिल्ला दिनहरूमा डेंगुका लक्षणसहित ज्वरोका बिरामीहरूको संख्या पनि ह्वात्तै बढेको अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिए ।
उनले अस्पतालमा दैनिक एक सयभन्दा माथि ज्वरोका बिरामीहरू उपचारका लागि आउने गरेकाे बताए । उनका अनुसार सीमित किट रहेकाले डेंगु परीक्षणका लागि उनीहरूलाई बाहिरी मेडिकल पठाउनु पर्ने बाध्यता रहेकाे छ । जिल्लामा सरकारी अस्पताल, स्थानीय पालिकाहरू स्थित स्वास्थ्य संस्था तथा बजार क्षेत्रका निजी स्वास्थ्य क्लिनिकहरूमा डेंगु परीक्षण हुँदै आएको छ ।
तर, स्थानीय तहले डेंगु नियन्त्रणका लागि खासै पहल कदमी चालेको छैन । एक महिनाअघि केही स्थानमा हेटौंडा उपमहानगरपालिकाले लामखुट्टे नष्ट गर्नका लागि स्प्रे गरेको भए पनि हाल नगरपालिकाले त्यसतर्फ चासो नै दिएको छैन । विभिन्न अनावश्यक निर्णय गरेका कारण विवादमा मुछिएको तर स्थानीयवासीको स्वास्थ्य सवालमा भने नगरपालिकाले सरोकार नराखेजस्तो व्यवहार गरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
गएको आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा १९५ जनामा मात्र संक्रमण देखिएको थियो । तर, चालू आर्थिक वर्षको दुई महिनामै उक्त संख्या झण्डै तेब्बरले भएको छ । डेंगु संक्रमण फैलाउने लामखुट्टेले दिउँसो टोक्ने भएकाले घर, विद्यालय तथा कार्यालय वरपर लामखुट्टे बस्न झाडीहरू तथा जमेको पानीहरू हटाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया