सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

दश वर्षमा बल्ल भवन बन्यो

म्याग्दी- अन्नपूर्ण गाउँपालिका-५ शिखमा सुरू भएको दश वर्षमा भवन निर्माण सकिएको छ । तत्कालीन जिल्ला विकास समितिले थालेको गाउँ विकास समिति हालको वडा कार्यालय भवन निर्माण पूरा हुन दश वर्ष लागेको हो । जिविसले विसं २०६९ देखि एक तलाको चार कोठे भवन निर्माण सुरू गरेको थियो । 

अलपत्र परेको भवन निर्माणलाई पूर्णता दिएर यसै हप्तादेखि कार्यालय सञ्चालन गरिएको अन्नपूर्ण-५ का वडाध्यक्ष राजेश तिलिजाले बताए । 'गाविस हुँदै सुरू भएको भवन निर्माणको काम अलपत्र परेको थियो,' उनले भने, 'पहिलो कार्यकालमा निर्माणलाई पूर्णता दियाैँ, दोस्रो कार्यकालमा प्रयोगमा आएको छ ।'

चुहिने समस्या रहेको भवनमा ढलान र जस्तापाताले छाएर एक तला थपिएको छ । गत आर्थिक वर्षमा रु तीन लाख विनियोजन भएको थियो । यसअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समितिको एक कोठामा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । 

सभाहल र कर्मचारीका लागि आवास सुविधासहितको नयाँ भवन निर्माण भएपछि कार्यालय सञ्चालन, तालिम, बैठक सञ्चालन गर्न र सेवाग्राहीलाई सहज भएको छ । पन्ध्र महिनामा सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा विसं २०६९ देखि भवन निर्माण सुरू भएको थियो ।