कास्कीका दुई अनागरिकलाई बुढ्यौलीमा नागरिकता

पोखरा- कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ का दुई वृद्धले नेपाली नागरिकता प्राप्त गरेका छन् ।
१६ वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानुनी प्रावधान रहेपनि ती पुरुषहरूले ७८ र ६८ वर्षमा नागरिकता पाएका हुन् । जिल्ला प्रशासन कार्यालय कास्कीले हातमा नागरिकता थमाएपछि उनीहरू बुढ्यौलीले छोएपछि बल्ल नागरिक बन्न सफल भएका हुन् ।
माछापुच्छ्रे गाउँपालिका ८ भुनेका ७८ वर्षीय डमरबहादुर गुरुङ र सोही वडा घलेल गाउँका दानबहादुर गुरुङले ६८ वर्षमा नागरिकता पाएका हुन् । बुढ्यौलीमा नागरिकता पाएपछि उनीहरू निकै खुसी छन् । नागरिकता लिएपछि डमरले भने, ‘हाम्रो पनि आफ्ना मान्छे रहेछन् ।’
माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष रामबहादुर गुरुङको नेतृत्वमा उनीहरूलाई नागरिकता प्रदान गरिएको हो । उनीहरूलाई मंगलबार जिल्ला प्रशासन कार्यालयबाट वंशजको आधारमा नागरिकता दिइएको हो । वडा कार्यालयले केही दिनअघि नागरिकताबाट वञ्चितलाई वडामा सम्पर्क गर्न आग्रह गरेपछि उनीहरू सम्पर्कमा आएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।
वडामा नागरिकताबाट वञ्चित व्यक्तिहरू रहेको थाहा पाएपछि वडाध्यक्ष गुरुङले नाता प्रमाणित, बाबुआमाको मृत्यु दर्ता प्रमाणित, जन्म दर्ता, प्रहरी मुचुल्कालगायत कागजात तयार गरी प्रशासनमा लगेपछि उनीहरूलाई नागरिकता दिलाउन सफल भएको उनले बताए ।
‘दुवै जनाले आज जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता लिनुभएको छ,’ उनले भने, ‘अब दुवै जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकारबाट प्राप्त हुने सेवा सुविधा बुझ्ने बाटो खुलेको छ । वडा समितिको पहलमा वहाँहरूले नेपाली नागरिकता लिनुभएको हो ।’ उनीहरु एकल भएका कारण पनि छोराछोरीको नागरिकता बनाउनु नपर्ने भएपछि उनीहरू अहिलेसम्म अनागरिक जीवन बिताइरहेको वडाध्यक्ष गुरुङले सुनाए ।
‘उहाँहरु मध्ये डमर दाइ अविवाहित हुनुहुन्छ भने दान दाइको बिहे भएपनि श्रीमतीसँग सम्बन्ध राम्रो नभएपछि एक्लै बस्नुभएको छ,’ उनले भने, ‘लेकतिर बस्ने पोखरामा पनि आउँदै नआउने उहाँहरूको छोराछोरीको नागरिकता बनाउने कुरा पनि भएन ।’
वडावासीलाई गाउँ-गाउँमा सिंहदरबारको अनुभूति दिलाउन लागि परेकोले उनीहरू जस्तै अरु नागरिकताबाट वञ्चितहरूको खोजी गर्ने उनको भनाइ थियो । गुरुङद्वयलाई नागरिकता दिलाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै उनीहरू जस्तै अरुको खोजीमा लाग्न वडाध्यक्ष गुरुङले आग्रह गरे ।

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

प्रतिक्रिया