बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

उपत्यकास्तरीय भूतपूर्व सैनिक सम्मेलन सम्पन्‍न

काठमाडौँ : नेपाली सेनाका उपत्यकास्तरीय भूपू सैनिक सम्मेलन सम्पन्न भएको छ । सैनिक कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्व र नेपाली सेनाको व्यवस्थापनमा उपत्यका भित्रका तीन जिल्लाहरुमा बसोवास गर्ने भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा भूपू सैनिक भेला सम्पन्न भएको हो ।

‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार-आत्म सम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ उपत्यका पृतना हेडक्वार्टर नारायणहिटीमा उपत्यकास्तरीय भूपू सैनिक सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले कल्याणकारी कोषका हिताधिकारीहरुको आवश्यकता र अपेक्षालाई सम्बोधन हुने गरी कल्याणकारी गतिविधिहरु विकेन्द्रित गरिएको बताए ।

सम्बोधनकै क्रममा उनले नेपाली सेनाको कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना २०८७’ को लक्ष्य सिप सिकाउनु र आत्मनिर्भर बनाउनु रहेको बताउँदै कल्याणकारी कोष मार्फत अवकाश प्राप्त सैनिक व्यक्तिहरुको लागि स्वेदशमा नै रोजगारीका अवसरहरु सिर्जना गरी परिवारसँगै सुखमय जीवनयापन सुनिश्चित गर्न अधिकतम प्रयास गर्दै आएको बताएका थिए । सम्मेलनमा काठमाडौँ, भक्तपुर र ललितपुरमा रहेका भूतपूर्व सैनिकको सहभागिता थियो ।