बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

अफिम कारोबारमा संलग्न पूर्व वडासदस्य पक्राउ

फाइल फोटो

बागलुङ - जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध लागूऔषध अफिमको कारोबारमा संलग्न रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ की राखीलाक घर्तीमगर लाई पक्राउ गरेको छ ।

विसं २०७७ मंसिर ४ गते बागलुङको ढोरपाटन नगरपालिका–१ स्थित निसी भल्कोट सन्दीप गेस्ट हाउसमा दस किलो अफिम छाडेर फरार भएकी घर्ती मगरलाई शनिबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

३३ वर्षीया घर्तीमगर पुथाउत्तरगङ्गा–२ की पूर्व वडासदस्य समेत हुन् । आफ्नो नामथर सरीता घर्तीमगर बताएर गेस्टहाउसको कोठामा बसेकी घर्ती मगरले अफिमसहित तौल गर्न प्रयोग हुने डिजिटल काँटा, सिक्का, सिम कार्ड, मोबाइल, कपडालगायत सामग्री त्यहीँ छाडेर फरार भएकी थिइन् । 

घटनालगत्तै प्रहरीले अफिमलगायत सामग्री बरामद गरी फरार घर्ती मगरको खोजी सुरु गरेको थियो । खोजतलासका क्रममा डेढ वर्षपछि रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा लुकिछिपी बसिरहेको अवस्थामा घर्ती मगरलाई नियन्त्रणमा लिइएको जिप्रकाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर राईले बताए । 

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको सहयोगमा घर्ती मगरलाई पक्राउ गरिएको उनको भनाइ छ । बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घर्ती मगरमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस