फिचर

किम की दुकका नेपाली साउन्ड डिजाइनर

के तपाईँले दीपेन्द्र के खनाल निर्देशित ‘आमा’ चलचित्रमा पतिको उपचारका लागि मिथिला शर्मा यताउति गरिरहँदा पानी परेको आवाज ख्याल गर्नु भएको छ ? 

वा भनौँ अनुप बरालको ‘दोख’मा गाउँमा झ्याउँकिरी कराएको वा चरा चुरुङ्गी चिरबिर गरेको आवाज ख्याल गर्नु भएको छ ? 

अथवा के गाउँको परिवेशलाई दुरुस्त बुनेको ‘ऐना झ्यालको पुतली’मा संवादसँगै बग्ने संगीत सुन्नु भएको छ ?

गर्नु भएको छ भने सितिमिति कसैले ख्याल नगर्ने यो संगीत तयार गर्ने व्यक्तिहरू हुन्, पुष्पासंगम । पुष्पा पलान्चोके अनि संगम पन्तको एकाकार नाम पुष्पासंगम । पहिला एक्लाएक्लै काम गर्ने यो विवाहित जोडी आजभोलि चलचित्रमा सँगै काम गर्छ र चलचित्रको पर्दामा पुष्पासंगमको नाममा प्रस्तुत हुन्छ । तर आज हामी कुरा गर्छौ संगम पन्तका ।

केही वर्षअघिसम्म नेपाली चलचित्रलाई झेल्नै नसक्ने आरोप लाग्थ्यो । यसमा समग्र चलचित्र त भइहाल्थ्यो, आलोचनाको एउटा हिस्सा पाश्र्व संगीतको भागमा पनि पथ्र्यो । तर पछिल्लो समय नेपाली चलचित्रमा केही चिजमा उल्लेख्य सुधार भएको छ भने त्यो पाश्र्व संगीत नै हो । कम्तिमा नयाँ पुस्ताका फिल्मकर्मीमा । यसो हुनुमा संगम पन्तहरूको ठूलो योगदान छ ।

संगम पन्तको यो संगीत यात्रा सुरु हुन्छ, सन् २०११बाट । सन् २०११ मा संगम पन्त मदन भण्डारी कलेजमा विद्यार्थी थिए । कक्षामा उनका साथी थिए पवन अधिकारी । अधिकारी चलचित्र लेखक तथा निर्देशक अविनाश विक्रम शाहसँग मिलेर काम गरिरहेका थिए र त्यतिबेला अविनाश विक्रम शाहहरू ‘एकादेश’मा फेस्टिभल गर्थे ।

संगमले यो फेस्टिभलमा जानेको सहयोग गरे । तर यही संगतले उनले अविनाशकै लघु चलचित्र ‘म खुसी छु’मा पहिलो पल्ट पाश्र्व संगीत गर्ने मौका पाए । यसपछि भने नेपालका धेरै चर्चित लघु चलचित्र संगमको संगीतले सुमधुर बने । 

उनले सन् २०१२ मा मीन बहादुर भामको ‘बाँसुल्ली’मा काम गरे भने राजन कठेतको ‘नागार्जुन’, सन्तोष भट्टराईको ‘सास फेरे जस्तो लाग्छ’ मानव सुवेदीको ‘गर्व’ लगायतका लघु चलचित्रमा यही समयमा काम गरे ।​फिचर फिल्म तर्फ भने उनले पाश्र्व संगीत सुरु गरेको चलचित्र ‘ऋतु’ हो । दोस्रो फिल्म चाहिँ नविन सुब्बाको ‘गुडबाई काठमाडौँ’ ।

सुरुवाती कालखण्डमै संगीतसँग खेल्न रुचाउने उनले मदन भण्डारी कलेजबाट प्लस टु सकाएपछि काठमाडौँ युनिभर्सिटीमा ब्याचलर सकाएर अहिले त्यहीँ भिजिटिङ फ्याकल्टीको रुपमा विद्यार्थीलाई पढाउँछन् ।

श्रीमति पुष्पा पलाञ्चाेकेका साथ स‌गम पन्त

यति मात्र होइन संगम पन्त अहिले इस्टोनियाको तालिनन युनिभर्सिटीमा पनि साउन्ड पढाइरहेका छन् र यसैको सिलसिलामा उनी विगत तीन चार वर्षदेखि युरोपमा बसिरहेका छन् । युरोपमा संगीतबाहेक उनले ध्यान र योगका कक्षाहरू पनि सञ्चालन गर्छन् ।

काठमाडौँ युनिभर्सिटीबाट म्युजिकमा ब्यालर सकाएपछि संगम नेपालमै काम गरिहेका थिए । यही बेला उनले युरोपको इरासमस कार्यक्रममा आवेदन खुलेका जानकारी पाए । उनले संगीत पढ्नका लागि आवेदन दिए र छनौट पनि भए ।

यसपछि भने उनले नेपाल छाडेर युरोपमा संगीत सिक्न थाले । पोर्चुगलको लिस्बनबाट सुरु भएको उनको कोर्स इस्टोनियामा सकियो । पढाइ सकेर नेपाल फर्कने सोचिरहेका थिए, आफूले पढेकै कलेजमा पढाउने अफर पाए । उनले यसलाई अवसर ठानेर सहर्ष स्वीकार गरे ।

‘विगत तीन चार वर्षमा मेरो जीवनमा नसोचेका नसोचेका अवसरहरू आए जसमध्ये यो पढाउने अवसर पनि थियो,’ संगमले छोटो समयका लागि नेपाल आएको अवसरमा इकागजसँग कुराकानी गर्दै भने, ‘यसले मलाई किम की दुक जस्ता विश्व सिनेमाका हस्तीको फिल्ममा पनि काम गर्ने सौभाग्य जुरायो । यहीँ रहेर मैले अरु विदेशी फिल्ममा पनि काम गर्ने मौका पाइरहेको छु ।’

किम की दुक दक्षिण कोरियाका ‘अथर’ निर्देशक हुन् जसले आफ्नो जीवनकालमा विश्वका प्रतिष्ठित कान्स, भेनिस, बर्लिन अवार्डका ट्रफी उचालेका छन् । उनले बनाएका ‘स्प्रिङ समर, फल, विन्टर एन्ड स्प्रिङ’, ‘समारिटन गर्ल’, ‘थ्री आइरन’, ‘पियटा’ विश्वका हेर्नेपर्ने फिल्मको सूचीमा अटाएका फिल्म हुन् ।

आफ्नौ ६० औँ जन्मदिन मनाउने ९ दिन बाँकी रहँदा कोभिड १९ कारण लाटभियामा रहेका किम की दुकको सन् २०२० मा मृत्यु भयो । तर निधन हुनुअघि उनले ‘कल अफ अ गड’ शीर्षकको सिनेमा खिचेका थिए । तर सिनेमा पूरा गर्न नपाउँदै किम की दुक बितेपछि उनका निर्माताले यो जिम्मेवारी लिएका थिए । 

किम की दुकले आफ्नो निधनअघि ‘कल अफ अ गड’ शीर्षकको सिनेमा निर्देशन गरेका थिए । यही चलचित्रमा संगम पन्तले साउन्ड डिजाइन गर्ने दुर्लभ अवसर पाए ।

इस्टोनियाको कलेजमा पढिरहँदा संगम कलेजकै साथीसँग ब्ल्याकनाइट्स भन्ने फेस्टिभलमा भाग लिन गएका थिए । यो फेस्टिभलमा यही फिल्मका निर्माता पनि आएका थिए । निर्माताले साउन्ड डिजाइनर खोजिरहेको बताएपछि साथीले आफूसँगै संगमसँग मिलेर गर्ने प्रस्ताव राखेपछि संगमले यो फिल्ममा काम गर्ने अवसर पाए । ध्वनि विभागमा रहेर काम गर्ने चार जनामध्ये संगमको नाम साउन्ड डिजाइनरमा उल्लेख छ । भेनिसमा प्रदर्शन भएको फिल्म अघिल्लै साल हलमा आइसकेको छ ।

अहिले उनले किम की दुकै जीवनीमा बनिरहेको डकुमेन्ट्रीका लागि पनि काम गरिरहेका छन् । योबाहेक उनले लेबनानको एउटा फिल्ममा पनि काम गरिरहेका छन् । 

यो फिल्ममा काम गर्दाको भने उनको अनौठो अनुभव छ । उनले काम गरेको लेबनानी फिल्मको भाषा रसियन । तर उनलाई रसियन नआउने । ‘दृश्य मात्र हेरेर काम गरेको चाहिँ यो पहिलो फिल्म भयो । सुरुमा निकै गाह्रो भएको थियो तर जसोतसो सकियो,’ उनले बताए ।

बाहिर जस्तो नेपालमा ध्वनिलाई कथावाचनको महत्वपूर्ण हिस्सा मान्ने जमात तयार भइनसकेको जस्तो लाग्छ संगमलाई । तर उनले जति पनि नेपाली सिनेमामा काम गरेका छन्, तिनमा भने उनले स्वतन्त्रतापूर्वक काम गर्न पाएको उनको अनुभव छ । 

‘पछिल्लो समयमा चलचित्र राम्रो बन्नलाई ध्वनिको ठूलो हात हुँदोरहेछ भन्ने चेतना बढेको छ । यो नेपाली चलचित्रका लागि राम्रो कुरा हो,’ संगम भन्छन्, ‘किनकि कथासँगै ध्वनिले पनि कथा भनिरहेको हुन्छ । चरित्र र चरित्रको भावनालाई यही पाश्र्व संगीतले नै हामीसम्म सञ्चारित गरिरहेको हुन्छ ।’

स‌ंगम पन्तले साउन्ड डिजाइन गरेको किम की दुकको चलचित्र 'कल अफ गड'को कोरियन पोस्टर । पाेस्टरमा उनको पनि नाम देख्‍न सकिन्छ ।

पाश्र्व संगीत गर्ने जिम्मेवारी लिएपछि संगमले फिल्म हेर्छन् र त्यहाँको परिवेश बुझ्छन् । त्यसैले संगीत भर्दा उनले अधिकांश समय कथालाई नै आधार मान्ने गरेको बताउँछन् । संगम भन्छन्, ‘राम्रो फिल्मले आफैँ संगीत सिर्जना गरिरहेका हुन्छन् । त्यहाँ मैले धेरै केही गरिरहनै पर्दैन ।’

नेपालमा पाश्र्व संगीतको कुरा गर्दा ‘लाउड’ शब्दले खुब प्राथमिकता पाउँछ । सामान्य टिप्पणीदेखि समीक्षकका कलमले पनि पाश्र्व संगीत ‘लाउड’ भएको टिप्पणी ठोकिदिने चलन छ । पाश्र्व संगीतको दुनियाँमा यसको मापन कसरी हुन्छ ?

संगम विदेशतिर यो कुरा मापन गर्ने यन्त्र आइसकेको भए पनि नेपालमा यसले प्रवेश पाइनसकेको बताउँछन् । ‘लाउडनेस मिटर’मा राखेर ‘लाउडनेस स्ट्यान्डर्ड’ चेक जाँच गरेपछि मात्र कुनै फिल्म हल वा फेस्टिभलमा पठाउने अभ्यास विदेशमा प्रचलनमा रहेको उनले बताए ।

‘भेनिस वा अरु फेस्टिभलले पनि साउन्डको कुरा गर्दा यतिसम्मको भनेर मापदण्ड तोकेका छन् । त्यो सामान्यतया ध्वनिको भाषामा २३ एलयुएसएस भन्ने हुन्छ,’ उनले सुनाए ।

आजभोलि ध्वनि रेकर्ड गर्दा लोकेसन साउन्ड प्रयोग गर्ने कुरालाई पनि राम्रो मानिने गरेको छ । यसको अभ्यासमा नेपाली चलचित्रकर्मी पनि लागेका छन् । उनले यो कुरा चाहिँ छायांकन गर्ने स्थल र अनुकुलता हेरेर प्रयोग गर्न सकिने बताए ।

‘युरोपतिर आधा सिंक र आधा डब गर्ने पनि चलन रैछ । सिंक गर्दा यथार्थ नजिक रहने कुरा हामी सबैले बुझेकै छौँ । डबिङ गर्दा रियल बनाउन अलि धेरै मेहनत गर्नपर्छ,’ उनले भिन्नता बताए ।

नेपालमै रहँदा पनि संगमले नेपालीसँगै विदेशी प्रोजेक्टमा पनि काम गरेका छन् । तर काम गरेमध्ये उनलाई एकदमै चित्त बुझेको चाहिँ चलचित्र ‘महानगर’को का भएको उनले कुराकानीमा बताए । ‘यो चलचित्रमा काम गरिरहँदा हामी काठमाडौँ र मुस्ताङ बाँडिनु पनि गरेको थियो ।

किनकि काठमाडौँमा यसको सुटिङ भइरहँदा मुस्ताङमा आमा खान्डो भन्ने फिल्मको पनि सुटिङ भइरहेको थियो । तर यो चलचित्रको पुरै संगीत अझ त्यसमा पनि खास गरी सिनेमाको क्लाइमेक्समा बज्ने संगीत आफैँलाई पनि एकदमै मन पर्छ,’ उनले खुसी हुँदै सुनाए । संयोगवश यो चलचित्र आउँदो शुक्रबार नेपालमा प्रदर्शन हुँदैछ ।

नेपालका  विभिन्न केबल च्यानलमा प्रर्दशन हुँदै ‘राधे’, चलचित्र विकास बोर्ड भन्छ, ‘विना सेन्सर प्रदर्शन गर्न पाइन्न ।’

काठमाडौं : नेपालमा सिनेमा हल बन्द छन् । कोभिड १९ को दोस्रो लहर आएसँगै सरकारले भिडभाड हुने ठाउँ ...