योग-व्यायाम

योग गर्नेलाई ‘डिप्रेसन’ हुँदै नहुने हो ?

सृजना खड्का |
माघ १, २०७७ बिहीबार १५:२५ बजे

तस्बिर स्रोत : जेसीसी सिकागो

‘डिप्रेस्ड छु’ भन्ने बित्तिकै हामीले दिने पहिलो सुझाव हुन्छ ‘योग गर, ध्यान गर । धेरै नसोच् ।’ सामान्य मानिस मात्र नभएर कतिपय अवस्थामा मनको रोग निको पार्न मनोविद् वा मनोचिकित्सकले समेत योग र ध्यान गर्ने सल्लाह दिन्छन् । यसो भनिरहँदा सबैलाई एकै पटक आउने प्रश्न हो, के योग गर्ने मान्छे चाहिँ कहिल्यै दुखी वा ‘डिप्रेस्ड’ हुँदैनन् त ?

यही विषयमा मनोविश्लेषक बासु आचार्यको भनाइ उनकै शब्दमाः 


योग गर्नु राम्रो हो । तर, योग गर्ने मानिसलाई डिप्रेसन हुँदै नहुने भन्ने चाहिँ हुँदैन । योग गर्नाले डिप्रेसनबाट जोगाउन भने मद्दत गर्छ । योगले शरीर र मन दुबैलाई आनन्दित तुल्याउँछ ।

डिप्रेसन हुनेले योग गर्नु राम्रो हो । तर, डिप्रेसन भएकाले योग गर्न सक्दैनन् । डिप्रेस्ड मानिसहरुमा अब जीवन सक्कियो÷बर्बाद भयो भन्ने खालको सोच आउँछ । एउटा डिप्रेस्ड मानिसलाई आफंै योग गर्न गाह्रो हुन्छ । उसले प्रोफेसनलको सहायता लिनुपर्छ । 

योगले शरीर र मनको कसरत गरेर दुबैैलाई एकिकृत बनाउँछ । जीवनशैलीलाई सजिलो र सकारात्मक बनाउँछ । योग पूर्विय दर्शनको पाटो हो । जुन बिस्तारै अन्तराष्ट्रियकरण हुँदैछ । 

डिप्रेसन र योगबीचको सम्बन्ध

डिप्रेसन भनेको दिक्दारीपन हो । न्यूरोलोजिकल गडबढी हो । डिप्रेस्ड हुँदा सोच्ने तरिका फरक हुन्छ । त्यस्तै, योग भनेको अध्यात्मसँग जोडिएको विषय हो । डिप्रेशन मनोविज्ञानसँग जोडिएको छ । योग र डिप्रेसन अर्थात् आध्यात्म र मनोविज्ञानलाई सँगसँगै जोडेर लैजानुपर्छ । 

योगले मानिसको जीवनशैली नै परिवर्तन गरिदिन्छ । यसरले शरीर मनको कसरत गराउँछ, स्फुर्त राख्छ । योग जीवन जिउने कला हो । यसमा अभ्यास गर्ने कुराहरु मात्रै नभएर मनन गर्ने कुराहरु पनि धेरै छन् । आफूलाई चेतना आउन थालिसकेपछि जो कोहीले योग गर्दा हुन्छ । 

योगका फाइदा

–योगले धेरै सोच्न दिँदैन  

–शरीरलाई स्फूर्त राख्छ । शरीर तगडा हुनेबित्तिकै मन पनि तगडा हुन्छ । 

–कसरी सोच्ने, व्यवहार गर्ने भनेर मनको बाटो बनाउँछ । 

–शरीरभित्र भएका अंग प्रत्यांगको कसरत गर्छ । 

–निरोगी बन्न सघाउँछ ।

–जीवनशैली बदल्छ । 

(‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ आज छैँठौँ राष्ट्रिय योग दिवस मनाइँदैछ । यसै उपलक्ष्यमा मनोविश्लेषक आचार्यसँग संवादमा आधारित)


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x