योग-व्यायाम

चिसोले छेक्न सकेन मर्निङ वाकको ‘क्रेज’

इकागज |
मंसिर २०, २०७९ मगलवार १६:५४ बजे

टङ्कीसिनवारी- विराटनगर र आसपास मङ्सिर सुरु भएयता बिहानपख चिसो ह्वात्तै बढेर गएको छ ।

चिसो मौसममा कतिपय व्यक्ति न्यानो सिरक छाड्न मान्दैनन् । अबेरसम्म सुत्ने र उठेपछि चिया वा कफीको चुस्कीको साथमा पत्रिका पढ्ने इच्छा हुन्छ । तर, आफ्नो शरीरको स्वास्थ्यप्रति सजग र सतर्क व्यक्ति पनि छन् जो एकाबिहानै मर्निङ वाकमा निस्कने गरेका छन् । 


आफ्नो नियमित मर्निङ वाकलाई न त वर्षाले रोक्यो न त घामले नै रोक्यो । विराटनगरमा मर्निङ वाकको क्रेजलाई बढ्दो चिसोले पनि रोक्न सकेको छैन । विराटनगर–१ का द्वारिका रायमाझीले मर्निङ वाक थालेको पनि वर्षौँ भइसक्यो । उनी नियमित एकाबिहानै मर्निङ वाकका लागि सडकमा निस्कने गर्छन् । उच्च रक्तचापको समस्या देखिएपछि रायमाझीले चिकित्सकको सल्लाहमा मर्निङ वाक थालेका हुन् ।

मर्निङ वाकपछि रायमाझीले आफूलाई तन्दुरूस्त र फुर्तिलो पाएका छन् । ‘पहिला म अल्छी गर्थें । कुनै काम गर्न मन लाग्दैन थियो । डाक्टरको सल्लाहपछि मर्निङ वाक गर्न थालेपछि जोश र जाँगर बढेको छ,' उनले भने ।

रायमाझीलाई मर्निङ वाकमा साथ दिने जनार्दन थापाले शरीरलाई ‘फिट’ राख्न नियमित हिँड्ने गरेको बताए । उनले आधा घण्टा जति पसिना बगाएरै हिँड्दा आफूलाई फाइदा पुगेको बताए । जस्तोसुकै परिस्थितिमा पनि अपर्णा धनावत दैनिक ५० मिनेट मर्निङ वाक गर्छिन् । आफ्नो स्वास्थ्यप्रति सजग धनावतले विगत १० वर्षदेखि मर्निङ वाक गर्दै आएकी छिन् । वास्तविक उमेरभन्दा कम देखिनु धनावतको राज नै मर्निङ वाक हो । उनले मर्निङ वाकले सम्पूर्ण मांशपेशीको व्यायाम हुने अनि मानसिक र शारीरिक थकान मेट्ने बताइन् ।  

सिक्किम मणिपाल कलेजमा इन्टर्न गरिरहेका फिजियोथेरापिस्ट ऋषभ गौतमले मर्निङ वाकले शरीरलाई सन्तुलनमा राख्न मद्दत गर्ने बताए । उनले मर्निङ वाकको नाममा धपेडी हुने गरी कुद्ने र हिँड्ने गर्नाले शरीरलाई फाइदाभन्दा बेफाइदा हुने बताए ।

गौतमले स्वास्थ्य अनुकूल हुने गरी मर्निङ वाक, जगिङ, व्यायाम गरे जटिल बन्दै गएका मधुमेह, रक्तचाप, मुटु रोगबाट टाढा रहन सकिने बताए । रासस


Author

थप समाचार
x