विश्व

‘अफगान ड्रिमर’लाई कतार फाउन्डेसनको साथ

इकागज |
भदौ २६, २०७८ शनिबार १९:३० बजे

काठमाडौँ - अफगानिस्तानको शासन सत्तामा तालिबान फर्किएपछि मुलुक छाड्ने अफगानी नागरिकको लर्को लाग्यो । अमेरिका नेतृत्वको विदेशी फौजलाई सघाउने अफगानी नागरिकदेखि खेलकुदसहित विभिन्‍न पेशामा रहेका महिलाहरूले पनि मुलुक छाडे । यस्तोमा रोबोट बनाउने महिला वैज्ञानिकहरुको समूहले पनि अफगानिस्तान छाडेको छ ।

‘अफगान ड्रिमर’ नाम गरेको सो समूहका महिला वैज्ञानिकलाई कतारले शरण दिएको छ । शरण दिनेमात्र होइन, कतारले उनीहरूको उच्च शिक्षा र अनुसनधानमा पनि सघाउने भएको छ । यसका लागि लाग्‍ने सम्पूर्ण खर्च कतार फाउन्डेसनले व्यहोर्नेछ । कतार फाउन्डेसन र कतार फन्ड फर डेभलेपमेन्टले आपसी समझारी गर्दै यी अफगानी महिलाहरुलाई दोहाको एजुकेशन सिटीमा राखिनेछ । ता कि उनीहरुले स्थानीय विश्वविद्यालयमा अध्ययन र अनुसन्धानलाई निरन्तरता दिन सकुन् । 


कतार फाउन्डेसन अन्तर्गतको एजुकेसन सिटीमा आठ विश्वविद्यालय र तीनका आगिंक क्याम्पसहरु छन् । जहाँ विभिन्न विषयमा अध्ययन र अनुसन्धान गराइन्छ । अफगानी महिलाहरुको उच्च शिक्षा र थप अनुसन्धानको सपना पूरा गर्नका लागि आफूले सहयोग गरेको कतारी फाउन्डेसनले जनाएको छ ।

अफगान ड्रिमर समूहका महिला वैज्ञानिकहरु हमाद बिन खलिफा विश्वविद्यालयमा रही अध्ययन र अनुसन्धान गर्नेछन् । हमाद बिन विश्वविद्यालयको साझेदार अमेरिकाको टेक्सास ए एन्ड एम विश्वविद्यालय र कार्नेज विश्वविद्यालयसँग रहेकाले ती विश्वविद्यालयमा पनि अफगानी महिला वैज्ञानिकहरुले अनुसन्धान गर्न पाउनेछन् । 

‘यी प्रतिभाशाली वैज्ञानिकहरुको समूहले उचित शिक्षा र अनुसन्धानको मौका पाउन् भनेर हामीले सहयोगको हात बढाएको हो । उनीहरुले अफगानिस्तानमै रही आफ्नो शिक्षा र अनुसन्धानलाई अघि बढाउने अवस्था रहेन । यसकारण कतार फाउन्डेसनले आफ्नो स्थानबाट सकेको मद्दत गर्ने प्रयास गरेको हो,’ कतार फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत शेख हिन्ड बिन्ट हमाद अल थानीले भनेकी छन् ।


Author

थप समाचार
x