विश्व

अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती

इकागज |
जेठ २३, २०८० मगलवार २१:५० बजे

फाइल फोटो

बेइजिङ - अमेरिकाले चिनियाँ सामानको आयात ह्वात्तै घटाएको छ । पश्चिमा कम्पनीले आफ्नो आपूर्ति शृङ्खलालाई चीन बाहिर पुर्‍याएसँगै अमेरिकाले पनि चिनियाँ सामग्रीको आयात कटौती गरेको हो ।

हालै सार्वजनिक भएको तथ्यांकअनुसार दश वर्षको अन्तरालमा पहिलोपटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ । परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ । अमेरिकी उपभोक्ताले पनि चीन बाहेकका मुलुकका सामानलाई रुचाएका पाइएको छ । ती उत्पादन किफायती भएकाले उपभोक्ताको रोजाइमा परेका हुन् । 


दक्षिण कोरिया र जापानका उत्पादनतर्फ अमेरिकी उपभोक्ता आकर्षित हुँदै गएका छन् । यद्यपि ती मुलुकबाट अमेरिका आयातको हिस्सा ५० प्रतिशतभन्दा कम हुने ठानिएको छ । भारत, भियतनाम, ताइवान र मलेसियाका उत्पादनले पनि उनीहरूको मन जितेको छ । 

चीन र अमेरिका एकअर्काका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । अमेरिकी व्यापार तथ्यांक प्रयोग गर्ने किर्नीको रिशोरिङ इन्डेक्सका आधारमा गत वर्ष एसियाली देशहरूबाट अमेरिकाले आयात गरेको वस्तुको ५०.७ प्रतिशत चिनियाँ सामानको थियो । यो सङ्ख्या  दश वर्षअघि लगभग ७० प्रतिशत थियो ।

किर्नीको तथ्यांकअनुसार विगत पाँच वर्षमा भियतनामबाट अमेरिकाले दोब्बर र अघिल्लो दशकमा तीन गुणाले आयात गरेको थियो । यसले संयुक्त राज्य अमेरिकामा खपत हुने एसियाली उत्पादनहरूको ठूलो हिस्सामा योगदान पुर्‍याएको स्पष्ट हुन्छ । 


Author

थप समाचार
x