विश्व

इन्डोनेसियाको इन्धन डिपो विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

इकागज |
फागुन २०, २०७९ शनिवार १६:१ बजे

जकार्ता -जकार्ताको उत्तरी भागमा शुक्रबार राति भएको इन्धन भण्डारण विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

जकार्ता डिजास्टर मिटिगेसन एजेन्सी (बीपीबीडी)का कार्यवाहक प्रमुख मुहम्मद रिदवानले घटनामा घाइते हुनेको सङ्ख्या ५१ पुगेको र तिनीहरूको हाल राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् । 


उत्तरी जकार्ताको प्लुम्पाङस्तित सरकारी तेल कम्पनी पर्टामिनाको इन्धन भण्डारण स्टेशनमा शुक्रबार राति करिब ८ः०० बजे विस्फोट भएको थियो । सो विस्फोटनबाट स्टेसन नजिकैका बासिन्दा आगो फैलिने त्रासले घर छाडेर भागेका थिए । 

उक्त आगो निभाउन ५० भन्दाबढी दमकल र २६० भन्दाबढी अग्निनियन्त्रक खटाइएको थियो । करिब छ घण्टा लामो प्रयासपछि आगो निभाउन सफल भएको बताइएको छ । 

विस्फोटले यस क्षेत्रका १,००० भन्दाबढी बासिन्दालाई प्रत्यक्ष असर गरेको थियो । प्रभावितलाई अहिले नजिकैको अस्थायी आश्रयस्तलमा सारिएको छ । उक्त घटनामा आठ जना बेपत्ता भएको बताइएको छ । घटनामा अन्य सम्भावित पीडितको खोजी गर्न उद्धारकर्ता अझै पनि घटनास्थलमा परिचालित छन् ।
 


Author

थप समाचार
x