विश्व

अफगानिस्तानको सत्तामाथि तालिवानको नियन्त्रणले युरोपमा पारेको प्रभाव

इकागज |
साउन ३०, २०७९ सोमबार १६:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- विद्रोही तालिवानले अफगानिस्तानको सत्तामाथि कब्जा जमाएको सोमबार एक वर्ष पूरा भएको छ । तालिवानले सत्ता कब्जा गरेपछि हजारौँ नागरिकले अफगानिस्तान छाडे । 

तालिवान सत्तामा आएपछि त्यसको सबैभन्दा ठूलो प्रभाव भने युरोपमा पर्‍यो । सन् २०२१ को अगस्ट १५ मा तालिवानले अफगानिस्तानको सत्तामाथि कब्जा जमाएको अर्को महिना नै युरोपमा शरणार्थीका लागि आवेदन दिने अफगान नागरिकको संख्या जुलाईभन्दा दोब्बरले बढेको युरोस्टेटको तथ्यांकले देखाएको युरोन्यूजले जनाएको छ । 


सन् २०२१ को जुलाई मा ६ हजार ५ सय अफगान नागरिकले युरोपमा शरण लिनका लागि आवेदन दिएकोमा सेप्टेम्बरमा भने त्यो संख्या १४ हजार ४ सय पुगेको थियो । सन् २०२२ देखि शरण माग्‍नेहरूको संख्यामा गिरावट आएपनि गत वर्षको तुलनामा अझै बढी छ । 

तर यो संख्या अझै पनि सन् २०१५ र २०१६ भन्दा कम रहेको युरोन्यूजले उल्लेख गरेको छ । तालिवान आक्रमण तथा अस्थिरताका कारण सन् २०१५ र २०१६ मा ३ लाख ६० हजारभन्दा बढी अफगान नागरिकले युरोपमा शरणका लागि आवेदन दिएका थिए । 

पछिल्लो समय गत वर्षको अगस्टदेखि करिब २३ हजार ९ सय ४० जनाले जर्मनीमा शरण माग गरेका छन् । त्यसपछि फ्रान्समा १३ हजार ७ सय ३० जनाले शरण माग गरेको तथ्यांकले देखाएको छ । 

गत वर्षको जुलाईदेखि सेप्टेम्बरसम्म ६७ प्रतिशतको आवेदन स्वीकृत भएको थियो भने अक्टोबरदेखि डिसेम्बरसम्म ८८ प्रतिशतको आवेदन स्वीकृत भएको थियो । जबकी सन् २०२२ को पहिलो तीन महिनामा उक्त दर ८१ प्रतिशतमा झरेको छ । 

यति हुँदा पनि सन् २०२२ को अप्रिलसम्म ९७ हजार ९ सय ६० जनाको आवेदन विचाराधीन रहेको छ ।


Author

थप समाचार
x