विश्व

श्रीलंकामा इन्धन भण्डारण ‘खाली भएको’ अधिकारीको दाबी

इकागज |
असार १९, २०७९ आइतवार २०:१३ बजे

फाइल फोटो

कोलम्बो - श्रीलंकामा एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको ऊर्जा मन्त्रीले आइतबार बताएका छन् । देशमा आर्थिक संकट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ । अधिकांश पेट्रोल पम्पहरू धेरै दिनदेखि इन्धनविहिन रहँदा पेट्रोल र डिजेलको खोजीमा राजधानीका धेरै स्थानमा सर्वसाधारणको लाइन निकै लामो देखिने गरेको छ । 

मन्त्री विजेसेकेराले मुलुकमा पेट्रोल भण्डार करिब चार हजार टन रहेको र यसले एक दिनको माग पनि धान्न नसक्ने बताएका छन्।  विजेसेकेराले कोलम्बोमा सञ्चारकर्मीसँग भने, “पेट्रोल तथा डिजेल जुलाई २२ र २३ सम्ममात्र आइपुग्ने अनुमान गरिएको छ । 


उनले पत्रकारहरूसँग भने, `हामीले नियमितबाहेकका अन्य आपूर्तिकर्तासँग सम्पर्क गरेका छौं, तर जुलाई २२ अघि हामी कुनै पनि नयाँ आपूर्तिको लागि आश्वासन पाउन सकेका छैनौँ ।` गत हप्ता, नगद अभावको कारण श्रीलंकाले पेट्रोल र डिजल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि ईन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो । 

सोमबार बैंक तथा कार्यालयहरू पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित दशभरका अधिकांश पेट्रोल पम्पहरू आइतबारदेखि बन्द भएका छन् । निराश मानिसहरूले केही गाडीहरूसँग लिफ्ट माग्दै आफ्नो गन्तव्यमा पुग्न खोजेका दृष्यहरू सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन् ।

देशको दुई तिहाइभन्दा बढी व्यक्तिलाई यातायात सेवा दिइरहेका निजी स्वामित्वमा रहेको बसले इन्धन अभावका कारण नराम्ररी प्रभावित भएकाले आइतबारदेखि अत्यन्त नै न्यूनरूपमा सेवा सञ्चालन गरेको बताए ।  

निजी बस सञ्चालक संगठनका अध्यक्ष गेमुनु विजेराट्नेले भने, `हामीले हाम्रा सदस्यहरूको स्वामित्वमा रहेको कूल २० हजार बसमध्ये देशभरि करिब एक हजार बसहरू सञ्चालन गरिरहेका थियौँ । भोलिको अवस्था पक्कै झनै बिग्रनेछ देखिएको छ किनकि हामीसँग डिजेल पाउने कुनै उपाय छैन ।` तत्काल कुनै समाधान नआउने देखिएकोले सोमबारदेखि सेवा थप खुम्चिँदै जाने उनले बताए । 

यहाँको लोकप्रिय यातायात मानिने तीन पाङ्ग्रे सवारी साधन पनि सडकमा छ लिटर पेट्रोलको कोटा प्राप्त गर्न दिनभरि लाममा देखिन्थे भने फाट्टफुट्ट सेवामा पनि कुदेको देखिन्थे । विदेशी मुद्राको अभावले मुलुकको सबैभन्दा खराब आर्थिक संकट व्यहोरिरहेको यस मुलुकमा अति आवश्यक सामग्रीको आयातलाई समेत धान्न नसकेपछि यहाँका दुई करोड २० लाख जनताले दैनिक गम्भीर कठिनाइ भोग्दै आएका छन् ।

देशले गत वर्षको अन्त्यदेखि रेकर्ड गरिएको उच्च मुद्रास्फीति र लामो विद्युत ब्लाकआउटको पनि सामना गरिरहेको छ । सबै गैर–आवाश्यक सरकारी संस्था र विद्यालयहरूलाई जुलाई १० सम्म बन्द गर्न आदेश दिइएको छ । यसले गर्दा आवतजावतमा कमी आएको र उर्जाको माग कम बनेको भएपनि यही माग सम्बोधन गर्न नसक्दा सरकारी अधिकारीहरूले नागरिकसँग क्षमा याचना गर्दै इन्धन जोहोका लागि दौडधुप गरिरहेका स्थानीय सञ्चारमाध्यममा बताउने गरिएको छ ।

 इन्धनको उच्च मागसँगै पेट्रोल पम्पहरूमा लामबद्ध मानिसहरूबीच बेलाबखत विवाद र झगडा हुनेगरेका स्थानीय सञ्चारमाध्यमहरूले बताउने गरेका छन् । 

अप्रिलमा देशले ५१ अर्ब डलर बाह्य ऋणमा चुक्ता गरेपछि श्रीलंका हाल सम्भावित जमानतका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्तामा छ । रासस


Author

थप समाचार
x