विश्व

रुसी सेनाको आक्रमणबाट युक्रेनमा १८ जना मारिए

इकागज |
असार १७, २०७९ शुक्रवार १३:४ बजे

फाइल तस्बिर

किभ- युक्रेनको बन्दरगाह सहर ओडेसको आवासीय क्षेत्रमा आज बिहान रूसी सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा परी दुईजना बालबालिकासहित १८ जना मारिएका छन् । 

रूसी क्षेप्यास्त्रको निशानामा आवासीय बहुतले भवन र मनोरञ्जन क्षेत्र परेका युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणमा परी ३० जना घाइते भएका छन् । आक्रणको दृश्यमा जलेका भवनका अवशेष देखिएको छ । युक्रेनी सेनाले आक्रमणकारीहरूलाई भगाएको दाबी गरेको छ ।  


युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा युरोपेली देशमा इन्धन आपूर्ति प्रभावित भएको छ भने खाद्य सङ्कटको चुनौती थपिएको छ । गत सोमबार किभस्थित किनमेल घरमा भएको भीषण आक्रमणलाई लिएर युक्रेनले रूसमाथि युद्ध अपराधको आरोप लगाएको छ । एक हजारभन्दा बढी सर्वसाधारण किनमेलमा व्यस्त भएका बेला गैरसैनिक क्षेत्रमा रूसी फौजले गरेको आक्रमणको युक्रेनी राष्ट्रपतिले निन्दा गरेका थिए । 

पाँच महिनाअघि नै राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरिएको ‘विशेष सैन्य कारबाही’ उसको भूमि कब्जाका निम्ति नभइ सैन्य सामर्थ्य र हतियार भण्डार नष्ट गर्ने उद्देश्य भएको बताएका थिए । (एपी)


Author

थप समाचार
x