सप्ताहन्त

चिरिमाया बनिन् पिँजराको चरी

नीरज लवजू |
माघ ८, २०७८ शनिबार १२:५८ बजे

साँघुरो कोठाको झन्डै बीचतिर हिटर धपक्क बलेको छ । बाहिर चिसो हावा चलिरहेकाले झ्यालका खापा बन्द छन् । तै पनि खापाका कापकापबाट मधुरो प्रकाश कोठामा छिर्दा कोठा निस्पट्टै अँध्यारै भने छैन । तीन दिनदेखि चिरिमाया कोठाबाट बाहिर निस्केकी छैनन् । दिनैभरि कोठा, अझ सिरकमा गुट्मुटिएर बसेकी छन् ।

हिटर बाल्दा बल्ल कोठा अलि न्यानो भएको छ । नत्र त सिरक ओढेर बस्दा पनि उनलाई जिउ तताउन निकै गार्‍हो हुन्छ । टाउकोमा ऊनको टोपी र त्यसमाथि अझ बाक्लो खास्टो ओढेकी छन् ।


खाटैमा नातिनीले ल्याइदिएको भातको गाँस टिपेर त्यसै निदाएकी चिरिमाया खुट्टा चिसो भएपछि ब्युँझिन् र खाटबाट लत्रिएको कम्बल तानेर खुट्टा छोपिन् । खाटबाट नओर्लिकन आफैले खेल्न भ्याउने झ्यालको खापा खोलेर यसो आकाशतिर नियाल्दै भनिन्, “उफ् बुढेसकालमा चिसोले पनि साह्रै दुःख दिने रहेछ ।”

“यो घामलाई पनि के भएको हो कुन्नि ! देवता भएपछि मान्छेलाई सुख पो दिनुपर्छ । जाडो बेला मज्जाले चर्किनु नि !,” आकाशमा मधुरो सुर्यलाई एकैछिन नियाल्दै चिरिमायाले मनमा कुरा खेलाइन् । अनि, हतारहतार झ्याल बन्द गरिन् ।

खाटको बायाँ भित्तामा झुन्ड्याइएको आसहरिको तस्बिरले आफूलाई नै नियालिरहेको चिरिमायाले महसुस गरिन् । झ्यालको कापबाट छिरेको मधुरो उज्यालो आसहरिको तस्बिरमै परेको थियो ।

सुनसान छ कोठा । बाहिर एकाध मोटरसाइकल हुइँकेको बाहेक कतै केही चालचुल छैन । भित्तामा अडेस लगाएर चिरिमायाले आसहरिलाई सम्झिन् । आसहरिले छोडेर गएको पनि दस वर्ष बितिसकेछ । सँगै बाँच्ने मर्ने कसम खाएर आफूलाई एक्लो बनाई संसारबाट बिदा भएको आसहरिसँग अहिले पनि चिरिमायाको चित्त दुखाइ छ । आसहरिसँगको वियोगपछि त्यो कोठा दिनानुदिन झने विरक्तलाग्दो बन्दै गएको छ ।

चिरिमायाले दुवै हातले आफ्ना गाला छामेर हात फेरि सिरकभित्रै घुसारिन् । उनलाई आफ्नो विगत कत्ति पनि सम्झन मन छैन । उनले जति जति विगत सम्झन्छिन्, त्यति त्यति आफू कमजोर भएको अनुभव गर्छिन् । विगतका दुःखका दिन सम्झेर उनले आफ्ना सुकिसकेका आँखामा फेरि पनि आँसुको मुहान खोज्न चाहिनन् ।

“तिमी जहाँ भए पनि खुशी रहनू !,” आसहरिको तस्बिरतिर हेर्दै चिरिमायाले ‘प्रार्थना’ गरिन् । उनले गर्न सक्ने त्यत्ति न हो ।

मौसम चिसो भएकोले चिरिमाया कोठाबाटै बाहिर ननिस्केको तीन दिन भए पनि घरबाटै बाहिर ननिस्केको भने दुई वर्ष बितिसकेछ । कोभिड नआउँदासम्म चिरिमाया हरेक दिनजसो चोकमा गएर आफ्नै समकालीनहरूसँग अनेक दुःख-सुख र घरायसी कुरा गरेर समय बिताउँथिन् । उनीहरूलाई हरेक दिन कुरा गर्न केही न केही विषय जुरेकै हुन्थ्यो । 

कहिले कसैको घरझगडा, कहिले कसैका छोराछोरी र नातिनातिनाका सफलता, कहिले छोरी ज्वाइँका कुरा, कहिले बालीनालीका कुरा, कहिले बुहारीका कुरा- हरेक दिन केही न केही कुरा गर्ने विषय हुन्थ्यो नै ।

घाम ताप्थे, बिस्कुन सुकाउँथे, कतै जात्रा पर्व भए टाढैबाट भए पनि हेर्न जान्थे । घरका सानातिना काममा सघाउपघाउ गर्थे । घरका कोही आफूसँगै नभए पनि चिरिमाया आफ्नै समवयीहरूसँग मन साट्थिन् र कुरा गर्थिन् । आसहरिको वियोग भुल्न त्यसले उनलाई केही भए पनि सघाउ पुर्‍याएको थियो ।

तर, कोरोनाले चिरिमायाको जीवन र दिनचर्यामा नचिताएको हेरफेर ल्यायो ।

“अजी ! अब बाहिर नजानुहोस् ! कोरोना फैलिरहेको छ,” नातिनीले एक बिहान चोकमा जान लाग्दा चिरिमायालाई भनिन् । त्यही दिनदेखि उनको बाहिर जाने र आफ्ना समवयीहरूसँग मन साट्ने क्रम रोकियो । उनको परिधि घरभित्रै सीमित भयो । दुई वर्षमा उनी सबभन्दा टाढा कतै गएकी थिइन् भने त्यो घरकै कौसीमात्र थियो । बिहान मन्दिर जाने क्रम रोकियो । जात्रा पर्व, मेला र आफन्तको घर धाउने काम पनि सबै ठप्प भयो ।

कहीँ जान नपर्ने भएपछि उनी बिहान ढिलामात्र उठ्ने भइन् । सुत्दासुत्दा ढाड नगलुन्जेल उनी खाटबाट तल नझर्ने भइन् । खाना खानमात्र भान्सामा उक्लिएकी उनी दिनभर कौसीमा बसेर साँझको चिसो हावा चल्न थालेपछि मात्र कोठामा झर्थिन् । यसरी नै चिरिमायाले दुई वर्ष बिताइन् ।

आमालाई कोभिड लाग्ला भन्दै छोरीहरू आउने क्रम पनि निकै पातलो भयो । अरू आफन्त त आउनै छोडे ।

“आउन त मन छ नि आमा, के गर्नु ! समय ठीक छैन । तपाईँलाई रोग सर्ला भनी आउनै पो डर लाग्छ,” कोठाको ढोकाबाटै कान्छी छोरीले भनिन् । आधा मुख मास्कले छोपिएको छोरीको अनुहार पनि चिरिमायाले पूरा हेर्न पाइनन् ।

“खोइ आमा, आएको बेला जिउमा तेल मालिस गरिदिऊँ,” अघि-अघि छोरीहरू भन्थे । अहिले छोरीहरू कोठाभित्रै आउन अनकनाइरहेको देख्दा चिरिमायालाई चित्त दुख्छ । उनलाई छोरीहरूले हातमा स्पर्श गर्दै मायाले सुम्सुम्याइदेओस् भन्ने लाग्छ । बुढाबुढी भएपछि मान्छेलाई के खाऊँ के खाऊँ हुन्छ रे ! चिरिमायालाई पनि छोरीहरूले केही न केही ल्याएर आफ्नै हातले खुवाऊन् भन्ने लाग्छ । छोरीहरूले ल्याउन त धेरै कुरा ल्याउँछन् । तर, ढोकामै छोडेर जान्छन् । मानौँ, चिरिमाया बन्दी हो । मानौँ, चिरिमाया जेलमा कैद छिन् ।

अस्ट्रेलियामा बसेको नातिले कहिलेकाहीँ मोबाइलमा फोन गर्छ । त्यहाँ पनि कोरोनाले दिनु दुःख दिएको रहेछ । “अजी ! म पनि कोठाबाट ननिस्केको दुई हप्ता भइसक्यो,” नातिले सुनाउँथ्यो । कपाल जिङ्ग्रिङ पालेको नातिले के खायो होला भनी चिरिमायालाई चिन्ता लाग्छ । “अजी ! तपाईँ पनि बाहिर नजानू है । तपाईँको उमेरलाई कोभिड लागे अझ गार्‍हो हुन्छ,” नाति मायाले भन्थ्यो ।

उमेर गएपछि आफ्नै हातखुट्टाको पनि भर हुँदैन रे ! त्यही भएर घरकै सानातिना काम गर्न पनि चिरिमायालाई आँट आउँदैन । कुनै बेला चार दिन, तीन रात लगातार ढिकी–जाँतो गर्ने चिरिमायाले आफ्नै हात र खुट्टा पनि आफ्नो नहुने दिन आउला भनी सायदै कल्पना गरेकी थिइन । कहिलेकाहीँ चिरिमाया आसहरिले भनेको कुरा सम्झन्छिन् ,“हेर चिरिमाया ! मैले त पढेलेखेको छु । म त बुढेसकालमा किताब पढेर बिताउँला ! तिमी कसरी बिताउँछ्यौ ?” आसहरिले छोडेर नगएको भए चिरिमाया पनि किताब पढेको सुनेरै भए पनि दिन कटाउने 
थिइन् ।

चिरिमायाका अब धेरै सपना छैनन् जीवनका । खासमा उनको जीवनका कुनै ठूला सपना नै छैनन् । उनको सपना परिवार, श्रीमान्, सन्तान, आफन्त, सामाजिक दायित्वकै वरपर घुमेको छ । उनको परिधि त्यत्ति फराकिलो होइन ।

“बोल्दाबोल्दै मर्न पाए धन्य हुने थिएँ,” उनी कहिलेकाहीँ भन्थिन् ।

“यो बुढी कति लामो समय बाँचेको जस्तो लाग्छ होला है तिमीहरूलाई,” एक दिन चिरिमायाले बुहारी र नातिनीलाई भनेकी थिइन् । उनको यस्तो कुरा सुनेर बुहारी र नातिनी वाल्ल परेका थिए ।

“यो अजी पनि के के कुरा गर्नुहुन्छ के के ! लौ मास्क लगाउनुस् ! बुवालाई सन्चो छैन,” नातिनीले हातको मास्क चिरिमायालाई लगाइदिँदै भनिन् ।

बुढेसकालमा त्यसै पनि मनमा अनेकथरी कुरा खेल्छन् । त्यसमाथि कुरा गर्ने कोही साथी नहुँदा चिरिमायाको मनमा नानाथरी कुरा खेल्न थालेको थियो । सपना पनि अचम्म अचम्मका देख्थिन् ।

“आज तिम्रो बुबाले मलाई लिन आउनुभयो । जाऔँ जाऔँ भन्दै हुनुहुन्थ्यो । मैले छोरालाई कोभिड भएको छ । उसलाई बाफ लिन पानी तताएर आउँछु भनेर फर्केँ,” चिरिमायाले एक दिन बेप्रसङ्ग छोरालाई भनिन् ।

“आमा धेरै नसोच्नुस् न ! नानाथरी कुरा सोच्नुहुन्छ अनि नानाथरी सपना देख्नुहुन्छ,” छोराले भन्यो ।

एक बिहान चिरिमाया खाटबाट उठेर छोरालाई खोज्न थालिन् ।

“बुहारी, छोरा खोई ?,” चिरिमायाले बुहारीलाई सोधिन् ।

“उः यहीँ हुनुहुन्छ नि,” नजिकै चियासँगै पत्रिका पढिरहेको छोरालाई देखाउँदै बुहारीले भनिन् ।

“छोरा, मलाई लुम्बिनी दर्शन गर्न लैजाऊ न,” आमाले भनिन् ।

चिरिमायाको यस्तो कुरा सुनेर छोरा पनि अक्क न बक्क भयो ।

“हुन्छ नि आमा ! समय अलि मिलेपछि जाऊँला नि !”

“कहिले मिल्छ समय ?”

“कोरोना अलि कम भएपछि जाऊँला नि है आमा !”

“खोई यो कोरोना कहिले सकिने हो, बाबू ? मलाई त कोरोनाले निकै एक्लो बनायो ।” 

त्यसको केही दिनपछि सरकारले एउटा सूचना जारी गर्‍यो– ६० वर्षभन्दा माथि उमेरका नागरिक सकभर घरबाट बाहिर ननिस्कनु होला !


Author

थप समाचार
x