सप्ताहन्त

खुसी किन यति हलुका हुन्छ होला ?

चे शंकर |
माघ १, २०७८ शनिवार १०:३४ बजे

जब सम्झनामा आउने चीजहरू 
सपनामा आइदिन्छन्, अनि 
मन कुटुक्क हुन्छ 
अनुहार मलिन गरी सुसाउँछ 
र, बन्द हुन्छ सोच ! 
हुन्नन् शब्दहरू आफैंसँग कुरा गर्न 
र निस्कन्छभित्र आवाज 
घन्टीको अन्तिम इकोज जस्तो !  

सम्झनामा आउने चिजहरू,
तिमीलाई बुझाउन नसकेर चित्त दुखाउनु 
अन्जान मान्छेलाई चोट पुर्‍याएर माफी नमाग्‍नु
कसैको त्यस्सै नराम्रो सोच्‍नु 
यस्तै यस्तै ! 


तर कत्ति सम्झनामा आउने चिजहरू 
सपनामा आउँदा, मन फुरुङ्ग भइदिन्छ 
तर, 
एकै छिनमा कता हराउँछ कता 
खुसी किन यति हलुका हुन्छ होला ? 
चिप्ली जाने, घ्युकुमारीको टुक्रा जस्तो 
फेरि मलिन गरेर सुसाउँछ अनुहार 
हुन्छ मन कुटुक्क ! 

सायद हुनु र नहुनुको बीचमा 
अल्झेको हुन्छ होला यी सम्झना 
हुनु र नहुनुको अर्थ खोज्दा खोज्दै 
बितिजान्छ होला यो जीवन !
 


Author

चे शंकर

(चे शंकर नाट्य लेखक तथा निर्देशक हुन् ।)


थप समाचार
x