सप्ताहन्त

सूर्यको ‘अग्‍नि-दीक्षा’

चिरञ्‍जीवी मास्के |
भदौ २६, २०७८ ७:४७ बजे

अलिकता अतीतको दौड, वर्तमानको व्याख्या र भविष्यको चिन्ता 
मेरो मानसपटलमा अहिले ३६ वर्षअघिको केही रोमाञ्चित याद सलबलाइरहेका छन् । त्यतिबेला मेरो उमेर १४ वर्षको थियो । आमाको काखमा लुटपुटिएर थोरै पढाइ, धेरै उछलकुद गर्ने उमेर । हुनत मेरो आमा मलाई जन्म दिएको पाँच महिनामै बित्नुभयो तर मलाई आमाको बहिनीले अविवाहित रहेर पालनपोषण गर्नुभएकाले मलाई आमाको काखको कहिल्यै कमी भएन । 

मेरा ती रोमाञ्चित यादहरू भने उमेर अनुसारको उछलकुदका हैनन् । राजनीतिक चेतका याद हुन् । राजनीतिक चेत मलाई रसियन उपन्यास ‘अग्‍निदीक्षा’को पढाइबाट प्राप्त भएको थियो । मलाई अहिले पनि पाभेलको संघर्षमय जीवनीले कता-कता सुखानुभूति गराइदिन्छ । स्वास्थ्यले साथ दिँदासम्म पाभेलले पार्टी र जनताका लागि संघर्ष गरे । शोभियत संघ निर्माणमा आफ्नो रगत पसिना बगाए । अनि आँखा कमजोर हुँदै गएपछि उनले लेखनबाट हामी जस्ता युवाहरूलाई सामाजिक क्रान्तिमा अग्रसर गराए । 


हो, ‘अग्‍निदीक्षा’, पाभेल अर्थात् उपन्यासका लेखक निकोलाइ आस्त्रोभ्स्कीको आफ्नो संघर्षको कहानी थियो । उनले सोभियत संघ निर्माणमा जति रगत पसिना बगाए, त्यसैलाई लेखनमार्फत जीवन्त बनाउँदै विश्वभरिका अरु धेरै युवाहरूलाई सामाजिक क्रान्तिमा अग्रसर गराए । 

पाभेल अस्वस्थ भएर जतिबेला अस्पतालमा थिए डाक्टरहरूले उनलाई फेरि सक्रिय राजनीतिक क्रान्तिमा सहभागी हुन असम्भव भनिरहेका थिए । उनले त्यतिबेला आफ्नो धर्मपत्नीलाई भनेका थिए, ‘नहडबडाऊ प्यारी ! मलाई मार्न त्यति सजिलो छैन । म बाँच्न चाहन्छु, कमसेकम यी विद्वान् डाक्टरहरूको सब हिसाब-किताब उलट-पुलट गर्न चाहन्छु । मेरो स्वास्थ्यबारे उनीहरू जे जति कुरा गर्दै छन् सब ठीक छ, उनीहरू एउटै गल्ती गर्दै छन् कि मलाई कामका लागि अयोग्य घोषित गर्न चाहन्छन् । हेरौँ, कसरी उनीहरू यसो गर्लान् ।’

पाभेल अर्थात् निकोलाई आस्त्रोभ्स्की त्यसपछि शारीरिक परिश्रमसहितको सक्रिय राजनीतिमा त फर्किएनन् तर उनले वैचारिक राजनीतिक दृष्टिकोणसहितको एउटा जीवन्त क्रान्तिकारी दस्तावेज विश्वकै लागि उपहार दिए, ‘अग्‍निदीक्षा’ । 

कम्युनिस्ट आन्दोलनका लागि यथास्थितिवादी र उग्रवादी दुवै घातक हुन्छन् । निकोलाई आस्त्रोभ्स्कीले अग्‍निदीक्षामा लेखेका छन्- गाँउका केटाहरू निक्कै उग्रवामपन्थी हुँदै छन् । उनीहरू हदभन्दा ज्यादा अगाडि बढ्न सक्छ । वास्तवमै साम्यवादी लक्ष्यका साथ समाजवादी आन्दोलन अगाडि बढाउन विचार, इमानदारी र धैर्य आवश्यक हुन्छ । यथास्थितिवादी र उग्रवादी सोचले विचार, इमानदारी र धैर्य तिनै कुरा दिन सक्दैन अर्थात् लक्ष्यसहितको यात्रामा सफलता मिल्न सक्दैन । ‘अग्‍निदीक्षा’ले दिएको सन्देश यही हो । 

‘अग्‍निदीक्षा’ पढेपछि मैले पनि साम्यवादी लक्ष्यका साथ समाजवादी यात्रा तय गरेको हो । तर अहिले कसो-कसो असम्भव यात्राको अथक यात्री ठान्दछु आफूलाई । अथक यस अर्थमा कि मैले मेरो समाजवादी यात्रालाई पूर्णविराम भने लगाइसकेको छैन तर गन्तव्य क्षितिजपारि कता हो कता ढम्म हुस्सुले ढाके जसरी रिमरिममात्र देखिरहेको छु । किनभने नेपालमा जति पनि वामपन्थी अभियान अगाडि बढेका छन् तिनलाई पाभेलले भनेजस्तै उग्रवादी सोचले विचलित गरिदिएको छ । 

नेपालमा विचारको हिसाबले बीपी कोइराला र मदन भण्डारीलाई आदर्श पुरुष ठान्दछु । समाजवादी लक्ष्यलाई आत्मसात् गर्दै बीपी कोइरालाले पुँजीवादी समाजलाई छिचोल्न केही हदसम्म प्रयत्न गरेका हुन् । अनि साम्यवादी लक्ष्यका साथ मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत समाजवादी यात्रा सुरु गरेका हुन् । तर विडम्बना ! न नेपाली कांग्रेसले बीपीको समाजवादी लक्ष्यलाई आत्मसात् गर्न सक्यो, न कम्युनिस्ट पार्टीहरूले साम्यवादी गन्तव्यलाई समाजवादी मार्गमार्फत अगाडि बढाउन सके । 

समाजवादी उर्जा त स्व. मनमोहन अधिकारीमा थियो । जीवनको उत्तरार्धमा पनि साम्यवादी गन्तव्यलाई उधिन्‍नकै लागि संसदीय मोर्चालाई बलियो बनाउन निर्वाचनको प्रचार अभियानकै क्रममा उनले सधैँका लागि यो दुनियाँबाट विश्राम लिए । पाभेलले जसरी नै शरीरले नदिँदा नदिँदै पनि स्व. मनमोहन अधिकारीले आफ्नो दायित्व निर्वाह गर्न चुनावी मोर्चामा आफूलाई सक्रिय गराए, तर पूर्ण सफलता पाउन सकेनन् । 

मनमोहन अधिकारी उनै थिए जसले नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री हुँदा कम्युनिस्ट चरित्रलाई व्यवहारमा उर्तान थोरै जमर्को गरेका थिए । आफ्नो गाँउ आफै बनाउ, वृद्ध भक्ता जस्ता केही लोकप्रिय कार्यक्रम मार्फत । ‘अग्‍निदीक्षा’को पाभेलले जसरी नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि शरीरको वेगलाई समेत नियन्त्रण गरेर राजनीतिक यात्रालाई अगाडि बढाएको कुरा सत्य हो ।

धेरैले केपी शर्मा ओलीको आलोचना गर्छन् । म पनि केपी शर्मा ओली राजनीतिक कसीमा शतप्रतशत शुद्धता पाएका राजनीतिज्ञ हो भन्दिनँ, तर दृष्टिकोणको हिसाबले समकालीन राजनीतिज्ञहरूमा अब्बल हुन् भन्‍ने कुरामा म विश्वस्त छु । दुई पटक मुलुकको प्रधानमन्त्री हुँदा उनले धेरै काम गर्न सकेनन् या केही झिनामसिना गल्ती कम्जोरी पनि गरे । उनले थोरै काम गरे, राम्रो काम गरे र त्यो दीर्घकालसम्म अब्बल हुने काम गरे । काम के के गरे त्यसको व्याख्या आवश्यक ठान्दिनँ । समय क्रममा उनको कामको मूल्याङ्कन हुने नै छ । जसरी यतिबेला धेरैले निरंकुश राजतन्त्रका प्रतिनिधि, पञ्चायती व्यवस्थाका जन्मदाता राजा महेन्द्रको कामको प्रशंसा गर्दछन् ।

राजा महेन्द्रको प्रसंग मैले धेरैपटक उठाइसकेको छु । उनको दृष्टिकोण समाजवादी थियो, त्यसैले म उनको प्रशंसक हुँ । कार्यशैली निरंकुश थियो होला या उनका आसेपासेहरूले निरंकुश सामन्ती कार्यशैली अपनाएका थिए । तर म निर्धक्क भन्‍न सक्छु अहिलेसम्मका राजनीतिज्ञहरूमा राजा महेन्द्रले जति समाजवादी दृष्टिकोण र सोही अनुसारको कार्ययोजना कुनै पनि दल वा दलका नेताले अघि सारेका छैनन् । 

‘अग्‍निदीक्षा’ रसियन उपन्यास । ‘सूर्य’, नेकपा एमालेको चुनावचिह्न- मेरो जीवनमा सधैँ मधुर काउकुती र कम्पन ल्याउने यी दुई उपहार !

त्यतिबेला राजा महेन्द्रले सुरु गरेका विभिन्‍न उद्योगहरूले रसियन सामाजिक संरचनाको झल्को दिनेगर्छ । सरकारले सञ्चालन गरेका उद्योगहरूमा जनताले काम गरेका थिए । तर विडम्बना समाजवादी चिन्तन बोकेका आदर्श पुरुष बीपी कोइरालाले जन्माएको नेपाली कांग्रेसको सरकारको पालामा ती धेरै उद्योगहरू धमाधम निजीकरण भए । 

पाभेलको संघर्षमय जीवनीले मलाई कहिलेकाहीँ युवा अवस्थामा आफूले राजनीतिक चेतका साथ गरेका केही कामहरूको स्मरण गराउँछ । ती कामहरूले फेरि एकपटक रोमाञ्चित बनाउँछ । र फेरि वर्तमान राजनीतिमा कम्युनिस्ट पार्टीहरूको रवैयाले ती रोमाञ्चित यादहरूलाई फगत कर्कलाको पातमा जमेको मोतीका दाना जस्ता पानीको थोपाजसरी नै क्षणभरमा अलप गरिदिन्छ । 

तत्कालीन मालेको अखिल, तत्कालीन माक्र्सवादी र नेकपा एमाले । जहाँ जुन मोर्चामा काम गरे इमानदारीपूर्वक, लगनका साथ सामाजिक परिर्वतन हुन्छ भन्‍ने विश्वास लिएर काम गरे । मुलुकमा प्रजातन्त्र आएपछि चरिकोटमा हामी कम्युनिस्ट पार्टीका धेरै युवाहरूले कम्युनिस्ट सरकार निर्माणको अभिलाषासहित निर्वाचन प्रचारका लागि रातोदिन नभनी काम गर्‍यौँ । आफ्ना-पराया नभनी संघर्ष र सहमति गर्‍यौँ । तर उपलब्धि, फेरि विभाजन, फेरि गालीगलौज, फेरि संघर्ष !

मलाई सम्झना छ २०४६/०४७ पछिका संसदीय निर्वाचनहरू । हामी धेरै युवा साथीहरू कम्युनिस्ट मुभमेन्टमा सामेल भएर राजनीतिक बहस र विचारमा सक्रिय थियौँ । एमालेको चुनावचिह्न सूर्यको रापिलो आकृतिले कति मोहित थियौँ । कुमार थापाले कपडामा, घरका भित्ताहरूमा, सडकको बीच बीचमा र दायाँबायाँ वालहरूमा सूर्य चिह्न बनाउँदा हामी कति एकाग्र भएर त्यसलाई नियालिरहन्थ्यौँ । त्यो निर्जीव सूर्य चिह्नलाई आफ्नो जीवन ठानेर त्यसको सुरक्षाका लागि रातोदिन कसरी विपक्षीसँग पौँठेजोरी खेलिरहन्थ्यौँ । आज त्यही सूर्यचिह्नमा कालो पोत्न हिजोका सहकर्मी मित्रहरू नारी सुर्कंदै अघिसर्दा मन छियाछिया भएझैँ पीडा हुन्छ । 

यो पीडा २०५४ पछि केही वर्ष बेहोरेका हामीले फेरि यस्तै दिन आउला भनेर सायदै सोचेका थियौ होला । तर यसलाई रोक्ने सामथ्र्य न १० बुँदे सहमतिले राख्न सक्यो, न ९ भाइले नै । २०५५ सालतिर हुनुपर्छ इलाम यात्राको क्रममा पाँचथरको तत्कालीन कुनै गाउँ विकास समिति (गाविस) का अध्यक्ष मेरो सहयात्री भएका थिए । उनी एमालेबाट निर्वाचित अध्यक्ष थिए । उनी भन्दै थिए- यो कम्युनिस्ट पार्टीका नेताहरू आफ्नो अहं र पदलोलुपताकै कारण विभाजित भइरहन्छन् । 

त्यतिबेला मलाई उनको अभिव्यक्ति असभ्य र असहज लागेको थियो । तर अहिलेको विभाजन आखिर ती अध्यक्षले भनेकै मुताबिक त देखियो । नत्र किसन श्रेष्ठ र प्रेम आलेहरूको रजगज कहाँ रहने थियो र ? झण्डै झण्डै सिङ्गो कम्युनिस्ट पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा विभाजन र केपी शर्मा ओलीको नेतृत्वमा बनेको झण्डै दुई तिहाइको सरकार कहाँ ढल्ने थियो र ?  

म धेरै लेख्दिनँ । ‘अग्‍नि दीक्षा’का पाभेल अर्थात् निकोलाई आस्त्रोभ्स्कीले भनेका छन्, “मानिसको सबैभन्दा अमूल्य सम्पत्ति हो जीवन । मानिस एकैपल्ट मात्र जन्मन्छ र उसले यो जीवन त्यसरी बिताउनु पर्छ जसले गर्दा निरुद्देश्यपूर्वक बिताइएका वर्षहरूका लागि पश्चात्ताप गर्न नपरोस, नीच र तुच्छ अतीतको कलंकपूर्ण आगोले उसलाई नजलाओस् । मानिसले यसरी आफ्नो जीवन बिताउनु पर्छ जसले गर्दा अन्तिम घडीमा उसले भन्‍न सकोस्- मैले सम्पूर्ण जीवन र सम्पूर्ण शक्ति विश्वको उत्कृष्ट लक्षपूर्तिका लागि, मानवको मुक्तिका लागि अर्पण गरे ।” 

अहिले हामी सामाजिक रूपान्तरणका लागि साम्यवादी सपना साँचेर समाजवादी मार्गमा यात्रारत केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, पुष्पकमल दहालहरूलाई यही प्रश्न गरिरहेका छौ- तपाईंहरू निरुद्देश्यपूर्वक बिताइएका वर्षहरूका लागि पश्चात्ताप गर्नुहुन्छ कि मैले सम्पूर्ण जीवन र सम्पूर्ण शक्ति विश्वको उत्कृष्ट लक्षपूर्तिका लागि, मानवको मुक्तिका लागि अर्पण गरे भनेर गौरव गर्नुहुन्छ ?



Author

थप समाचार
ad
x