सप्ताहन्त

नेपालको समृद्धि सूत्र

चिरञ्‍जीवी मास्के |
भदौ १२, २०७८ १९:४२ बजे

समृद्धि कसरी सम्भव होला ? नेपालमा विकास र समृद्धिको नारा घन्किरहँदा आम मानिसले सोध्ने प्रश्न हो यो । तर यसको जवाफ भने त्यति सहज छैन् । किनभने समृद्धिको लागि सपना देख्नु पर्छ, योजना बनाउनु पर्छ तर नेपालमा न त सपना देख्ने छुट छ, न योजना बनाउने नै । नेपालको राजनीतिक दल, नेपाली जनता एकैपटक विकास र समृद्धि चाहन्छन् जुन सायद सम्भव नहोला । 

चीनको तिब्बत विकास र समृद्धिको उत्कर्षमा पुगेको छ । विकास र समृद्धिको यात्रा सुरु गरेको १० वर्षको अवधिमा तिब्बतले नमुना योग्य कामहरू गर्न सकेको छ । जसको श्रेय चीनका राष्ट्रपति सि चीन फिङलाई जान्छ । उनले तिब्बतलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन ठूला ठूला सपनाहरू देखे, ठूला ठूला योजनाहरू बनाए र त्यसको कार्यान्वयनको लागि अविचलित ढङ्गले अगाडि बढिरहे । तिब्बतमा जलस्रोत, पर्यटन, सडक, कृषि उत्पादन लगायतका हरेक क्षेत्रमा तीव्र विकास भइरहेको छ ।


चीनको तिब्बतमात्र हैन झण्डै चार दशकको अवधिमा चीनको हरेक प्रान्त विकास र समृद्धिकोलागि विश्वकै नमुना बन्दै गएको छ । देङ साओ पिङ युगबाट सुरु भएको चीनको समृद्धि यात्रा सि चिन फिङसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ । जसको उदाहरण कृतिम चन्द्रमा र सूर्य निर्माणमा प्राप्त भएको सफलता हो । त्योसँंगै समुन्द्रमाथिको पुल, २२ हजार मेगावाटको जलविद्युत आयोजना, तीव्र  गतिको रेल आदि चीनको विकासका अपत्यारिला उदाहरण हुन् ।

स्वस्थानी कथामा उल्लेख भएको महादेव चड्ने रथ तयार गर्दा तेत्तिस कोटी देवताले त्यसको भार वहन गर्न नसके जस्तै ओलीले देखेको विकास र समृद्धिको सपनाको भार नेपालका बौद्धिक वर्गले वहन गर्न नसक्दा सामाजिक सञ्जालहरूमा नकारात्मक टीकाटिप्पणीहरू भइरहे ।

झण्डै चार हजारको उचाईमा रहेको तिब्बतको ल्हासामा १० वर्षको अवधिमा देखिएको विकासको नमुनाले नेपाललाई धेरै कुरा सिकाउन सक्छ । ल्हासाको विकास र समृद्धिको नमुनालाई नेपालले पच्छ्याउने हो भने १० वर्षकै अवधिमा नेपालले पनि धेरै विकास गर्न सक्छ किनभने नेपालमा पनि तिब्बतमा जस्तै धेरै हिमाली तथा उच्च पहाडी भू–भाग छन् । 

चीनको तिब्बतले १० वर्षको अवधिमा विकास र समृद्धिको फड्को मार्न सक्नुमा केही प्रमुख कारणहरू छन् जसको अनुसरण नेपालले गर्न सक्छ कि सक्दैन त्यो महत्वपूर्ण हुन्छ । 

विकास र समृद्धिको पहिलो शर्त जमिनमा सरकारको अधिकार हो । तिब्बतमात्र हैन सिंगो चीनमा जमिनको अधिकार पूर्ण रुपमा सरकारसँग रहेकोले विकासका हरेक योजनाहरू कार्यान्वयन गर्न सहज भएको छ । त्यसैगरी राजनीतिक इमान्दारी, नेतृत्वप्रति विश्वास, योजना निर्माण र कार्यान्वयनको लागि प्रतिबद्धता तथा जनसहभागिता विकास र समृद्धिको लागि अत्यावश्यक तत्वहरू हुन् । 

तिब्बत जन कांग्रेसको तत्कालीन स्थायी समिति उपाध्यक्ष तथा बाहृय सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुया तिब्बतको विकासमा राष्ट्रपति सि चिन फिङको सपना तथा योजना र तिब्बती जनताको विश्वास, प्रतिबद्धता र जनसहभागिता प्रमुख रहेको बताउँछन् । एक कार्यक्रममा सहभागी नेपाली पत्रकारहरूसँगको कुराकानीमा चु चुन्हुयाले आफू नेपालमा समेत बसेको र तिब्बत र नेपालबीच धेरै कुरामा समानता रहेकोले विकास र समृद्धिको लागि तिब्बतले नेपाललाई धेरै कुरामा सहयोग गर्न सक्ने बताएका थिए ।

विकास र समृद्धिमा किन पछि छ नेपाल ?

सामाजिक, सांस्कृतिक र प्राकृतिक रुपमा नेपाल धेरै धनि छ । नेपालमा विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि समय मापन गौरीशङ्कर, माछापुच्छ्रे« लगायतका थुप्रै हिम श्रृङ्खलाहरू छन् । हिमताल, विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित मठ मन्दिरहरू, ऐतिहासिक जातजाति, उनीहरूको भाषा, लिपि र संस्कार संस्कृति नेपालका विशेषता र सम्पत्ति हुन् । तर यी विशेषताहरूको उपयोग हुन सकेको छैन् । 

 

नेपालको दुर्भाग्य त के छ भने कसैले विकास र समृद्धिको सपना देख्यो भने त्यसलाई चर्को ढङ्गले आलोचनामात्र हुन्छ । हामी आफू पनि सपना देख्दैनौ, योजना बनाउदैनौ अनि अरुले देखेको सपना र योजनालाई पनि गलत ढङ्गले ब्याख्या गरेर हतोत्साहित बनाउने प्रयत्न गर्छौ । 

नेपालले प्राकृतिक रुपमा जे प्राप्त गरेको छ त्यसैको आधारमा विश्वभरीबाट पर्यटक आउने गरेका छन् । भएको विशेषता र सम्पत्तिलाई उचित व्यवस्थापन गर्न सकिएको खण्डमा नेपालमा भएको पर्यटन आगमनको संख्यालाई दोब्बरभन्दा बढी बनाउन सकिन्छ । तर यो कुरामा न सरकारले चासो देखाएको पाइन्छ, न स्थानीय सरकार, राजनीतिक दल र अन्य निकायले नै चासो देखाएको पाइन्छ । नेपालको दुर्भाग्य त के छ भने कसैले विकास र समृद्धिको सपना देख्यो भने त्यसलाई चर्को ढङ्गले आलोचनामात्र हुन्छ । हामी आफू पनि सपना देख्दैनौ, योजना बनाउदैनौ अनि अरुले देखेको सपना र योजनालाई पनि गलत ढङ्गले ब्याख्या गरेर हतोत्साहित बनाउने प्रयत्न गर्छौ । 

विकासको लागि सडक, विद्युत, शिक्षा जस्ता कुराहरू प्राथामिक आवश्यकता हुन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रेल कुदाउने, पानी जहाज किन्ने, हावाबाट विजुली निकाल्ने, घर घरमा पाइपबाट ग्यास पु¥याउने, विद्युतको अत्यधिक उपयोग गर्ने योजना बनाउदा बौद्धिक बर्गले समेत त्यसलाई दिउँसै देखिएको सपना भन्दै चर्को आलोचना गरे । सामाजिक सञ्जालमा सडकमा जमेको पानीमा जहाज कुदाएको ब्यङ्ग्यात्मक चित्र र क्याप्सन राखेर पूर्व प्रधानमन्त्री ओलीको योजनाको खिल्ली उडाउने काम भए । अरुले ल्याएको योजनाको आलोचना मात्र गर्ने, खिल्लीमात्र उडाउने अनि आफू चाहिँ कुनै जिम्मेवारी निर्वाह  गर्न तयार नहुने हो भने विकास र समृद्धि सम्भव हुदैन । 

के हो समृद्धि सूत्र ?

नेपालको विकास र समृद्धिको लागि सर्वप्रथम नीतिमा सुधार आवश्यक छ । जमिनमा हदबन्दी मात्र हैन जमिनको सम्पूर्ण अधिकार सरकारमा रहनु पर्छ र सरकारले निश्चित समयको लागि नागरिकलाई लिजमा जमिन उपलब्ध गराउने प्रावधान हुनुपर्छ । जमिनमा व्यक्तिको स्वामित्व नभएपछि विकासमा धेरै सहजता हुन्छ । जमिनमा व्यक्तिको स्वामित्व रहँदासम्म हरेक काममा बाधा अड्चन आउने निश्चित छ । सडक, पार्क, विद्युत आयोजना, एयरपोर्ट जेसुकै बनाए पनि समस्या जमिनसँगै जोडिएर आउने गरेको छ । त्यसैले जमिनमा व्यक्तिको हैन सरकारको स्वामित्व कायम हुने कुरा नीतिगत सुधारको पहिलो प्राथामिकता रहनु पर्छ । 
विकास र समृद्धिको लागि अर्को आवश्यकता भनेको सपना देख्ने र योजना बनाउने नेता तथा नेतालाई विश्वास गर्ने र सकारात्मक सुझाव र साथ दिने जनता हो ।

नेपालमा विकास र समृद्धि अगाडि बढाउन सपना देख्ने र योजना बनाउने नेतासँंगै त्यसलाई सकारात्मक रुपमा ग्रहण गर्दै आवश्यक सुझाब र साथ दिने जनता चाहिन्छ । ढुङ्गे युगबाट सुरु भएको मानव विकासको चरण लोकतान्त्रिक गणतन्त्रसहितको आधुनिक युगसम्म आइपुग्दा दुई जना नेता तत्कालीन राजा महेन्द्र र नेता केपी शर्मा ओलीले दीर्घकालीन प्रभाव पार्ने उत्कृष्ट लक्ष्य सहितको सपना देख्ने आँट गरेका थिए ।

राजा महेन्द्रले पूर्व पश्चिम राजमार्ग निर्माण, तराईसँग सीमाना जोडिएका हरेक जिल्लाका सदरमुकाम सिमा बजारमा राख्ने, तराई क्षेत्रमा पहाडी मुलका मानिसहरूको बसोबास गराई जात, जाति, भुगोल र भेषभूषाको आधारमा हुने विभेद अन्त्यको प्रयास, जनकपुर चुरोट कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, हेटौंडा सिमेन्ट उद्योगलगायतका सरकारको स्वामित्व रहेको उद्योग स्थापना र सञ्चालन जस्ता कम्युनिष्ट समाजवादी अभियान सञ्चालन गरेका थिए । राजा महेन्द्रको प्रशंसा गर्दा मलाई राजावादी या अरु त्यस्तै आरोप लाग्न सक्छ तर सत्य यहि हो । 

 

ढुङ्गे युगबाट सुरु भएको मानव विकासको चरण लोकतान्त्रिक गणतन्त्रसहितको आधुनिक युगसम्म आइपुग्दा दुई जना नेता तत्कालीन राजा महेन्द्र र नेता केपी शर्मा ओलीले दीर्घकालीन प्रभाव पार्ने उत्कृष्ट लक्ष्य सहितको सपना देख्ने आँट गरेका थिए ।

राजा महेन्द्र पछि केपी शर्मा ओलीले कम्युनिष्ट समाजवादी अभियान सुरु गर्ने प्रयत्न गरे तर नेपाली बौद्धिक वर्गले त्यसलाई विश्वास गर्ने र ग्रहण गर्ने क्षमता नै राख्न सकेनन् । स्वस्थानी कथामा उल्लेख भएको महादेव चड्ने रथ तयार गर्दा तेत्तिस कोटी देवताले त्यसको भार वहन गर्न नसके जस्तै ओलीले देखेको विकास र समृद्धिको सपनाको भार नेपालका बौद्धिक वर्गले वहन गर्न नसक्दा सामाजिक सञ्जालहरूमा नकारात्मक टीकाटिप्पणीहरू भइरहे । नेपाल सानो छ भनेर सानो सोच राख्यौं भने विकास र समृद्धि सम्भव छैन । बृहत सोच र योजना विकास र समृद्धिको सूत्र हुन् त्यसैले ओलीको सपना र योजनालाई आवश्यक सुझावसहित साथ र सहयोग आवश्यक छ ।

नेपालको सन्र्दभमा विकास र समृद्धिको बाधक सरकारी संयन्त्रहरू बीचको समन्वयको अभाव पनि हो । कुनै एउटा मन्त्रालय या कार्यालयले तयार गरेको योजना कार्यान्वयनमा सरकारकै अर्को कार्यालय या मन्त्रालयले नै असहयोग र अड्को थाप्ने काम गर्दा समस्या हुने गरेको छ । त्यसैले विकास र समृद्धिको योजनालाई निर्वाध ढङ्गले अगाडि बढाउन सरकारी निकायहरू बीच समन्वय र सहकार्य आवश्यक हुन्छ । जसको लागि योजना निर्माणकै चरणमा सरोकारवाला मन्त्रालय र कार्यालयहरू बीच संयुक्त बैठक गरेर कार्यक्रम अगाडि बढाउनु पर्ने हुन्छ ।

विकास र समृद्धिको अर्को महत्वपूर्ण पाटो भनेको जनसहभागिता हो । स्थानीय या केन्द्रीय सरकारले अघि सारेको योजना कार्यान्वयनमा जनसहभागिता रहेन भने त्यो योजना सफल हुन सक्दैन । त्यसैले सरकारले तल्लो तहसम्म पुगेर वस्तुगत ढङ्गले योजना छनौट गर्नुपर्छ ताकि त्यसमा आम जनताले अपनत्व महसुस गर्न सकुन् । अनि जनताले पनि सरकारले अघि सारेका स्थानीय या राष्ट्रिय महत्वका योजनाहरूलाई आफ्नो दैनिकीसँग जोडेर सुझाव दिने र आवश्यक सहयोग गर्नुपर्छ ।  अहिले हाम्रो सोचाइ सानो सानो काम पनि सरकारले गर्ने हो, हामीले त रमिता हेर्ने र आलोचना गर्नेमात्र हो भन्नेमा केन्द्रित छ । जबसम्म आम नागरिकले आफ्नो अधिकारसँगै कर्तव्यको बोध गर्दैनन् तबसम्म विकास र समृद्धि दीगो बन्न सक्दैन । 

चीन, जापान, अमेरीका, स्वीटजरल्यान्डलगायत विश्वका   मुलुकहरू विकास र समृद्धिमा अघि बढिरहेका छन् ती सबै मुलुकमा सपना देख्ने र योजना बनाउने सक्षम नेता तथा त्यसलाई साथ र सहयोग गर्ने जनता छन् । त्यसैले ती मुलुकले प्राकृतिक सुन्दरतामात्र हैन कृतिम सुन्दरतालाई समेत बिक्रि गर्न सकेका छन् । नेपालमा सरकारको भरोसा जनता र जनताको साथ सरकारलाई हुन सक्यो भने प्राकृतिक सुन्दरता र सम्पत्तिबाटै आर्थिक उपार्जन गर्दै १० वर्षभन्दा छोटो समयमा विकास र समृद्धिको मार्गमा अघि बढ्न सकिन्छ । 
 



Author

थप समाचार
ad
x