सप्ताहन्त

त्यो भव्य पोताला दरबार र चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष

चिरञ्‍जीवी मास्के |
असार १९, २०७८ १७:५२ बजे

माथि आकाशबाट तल कता हो कता ठडिएका हिमश्रृङ्खला र साना ठूला थुम्काहरूको घाँसे मैदान । एकैछिन अघिसम्म हवाइजहाजको झ्यालबाट तल हेर्न हच्किएको सँगैको साथी रोमाञ्चित बन्दै मलाई ठेलेरै अलौकिक दृश्यावलोकनमा एकोहोरियो । 

२०७५ सालको भदौ महिना, म, विष्णु गौतम, चन्द्रशेखर अधिकारी, शरच्चन्द्र भण्डारी, राजन पौडेल, दिनेश थापा, बलराम घिमिरे, पुजा चौहान, कमल बुढा र संगम प्रसाई गरी १० जना पत्रकार चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक एक्सपोमा सहभागी हुन ल्हासा भ्रमणमा गएका थियाँै । उहिले हाम्रा पुर्खाहरूले नून ल्याउने ठाऊँ, भोट अर्थात् तिब्बतको राजधानी ल्हासा । नून र सुनसँग जोडिएको पुर्खाको रोमाञ्चक कहानीले त्यसै पनि ल्हासासँग निकट बनाएको थियो । झन त्यो अलौकिक सहरको सौन्र्दय र आश्चर्यलाग्दो विकासे प्रगतिले त्यसै–त्यसै मन पुलकित भइदियो । 


इस्वीको साताैँ शताब्दीमा तिब्बतीहरूको राज भएको ल्हासामा चीनले शासन गर्न थालेको छोटो समयमै विकासले फड्को मारेको स्थानीय कम्युनिस्ट नेताहरूले बताए । हाम्रो टिममा रहेका र कूटनीतिमा नै लेख्दै आएका मित्र स्वयं पनि चीनको विकास देखेर कम चकित थिएनन् । ‘म १० वर्षअघि आउँदा यति धेरै विकास भएको थिएन, १० वर्षको अवधिमा कति धेरै विकास भएको,’ उनले भनिहाले ।

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १ सय वर्ष पुगेको छ । मुख्य नेतृत्वमा रहेका थोरै नेताले चलाएको १ अर्ब ४१ करोड जनसंख्या भएको विशाल चीनले हरेक क्षेत्रमा उस्तै विकास गरेको देख्न सकिन्छ । 

२०७१ सालमा म चीनकै बेइजिङ, हैनान र गोन्जाओ पुगेको थिएँ । चीनको राजधानी, औद्योगिक तथा व्यापारिक केन्द्र बेइजिङ, हैनान र गोन्जाओभन्दा फरक थिएन, तिब्बतको टाँसिघाङको विकास । हामीले टाँसिघाङमा ६८ वर्षकी महिला खान्ड्रासँग अलि लामो गफ गर्यौँ । उनी गाउँको विकासबाट असाध्य धेरै खुसी थिइन् । गाउँको विकासमा चिनियाँ कम्युनिस्ट पार्टी र त्यसमा संलग्न नेतृत्वको महत्वपूर्ण भूमिका रहेको खान्ड्रोको भनाइ थियो ।

साँच्चै टाँसिघाङको विकास लोभलाग्दो नै थियो । तिब्बतको राजधानी ल्हासाबाट छ सय किलोमिटर टाढाको यो गाउँ पुग्न बसमा जम्मा ६ घण्टा मात्र लाग्छ । अनि गाउँमा सडक, बिजुली, पानी, विद्यालय, स्वास्थ्य चौकी कुनै कुराको पनि कमी थिएन । ल्हासा ३ हजार ४ सय ९० मिटरको उचाइमा छ । हाम्रो प्रसिद्ध कालिञ्चोक मन्दिरभन्दा अग्लो ठाउँ । ल्हासा नेपालको हिमाली जिल्ला जस्तै हो जताततै पहाड र हिमालले घेरिएको । तर सडक नागबेली आकारमा सलल बगेको छ । किनभने अलिकति पहाड आयो कि सुरुङ मार्ग बनाइदिएको छ, चीन सरकारले । त्यसैले त ७ सय १५ किलोमिटरभन्दा लामो सडक पार गर्न जम्मा ६ घण्टा चानचुन समय मात्र । 

चीनको कम्युनिस्ट पार्टीले विश्वको सबैभन्दा विशाल मुलुकमा शासन गरेको १०० वर्ष पुगेको छ । चीनमा कम्युनिस्ट शासनयताको विकासलाई हेर्दा साँच्चै ठूलो फड्को मारेको छ । नेपालमा पनि कम्युनिस्ट पार्टी स्थापनाको ७२ वर्ष पुग्यो । २०४६ सालको जनआन्दोलन पछि पटक पटक कम्युनिस्ट पार्टीले सरकार पनि बनाएको छ तर विकासको गति उल्लेखनीय र प्रशंसनीय हुन सकेको छैन । कम्युनिस्ट पार्टीभित्रको दलगत र आन्तरिक खिचातानी तथा इगोको लडाइँका कारण मुलुकले नै ठूलो मूल्य चुकाउनु परिरहेको छ । 

मेरो अनुभवमा कम्युनिस्ट सरकार बनेको समयलाई मूल्याकंन गर्दा कि पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा विकास र सामाजिक परिर्वतनका काम भएको थियो कि बरु अरुले जति नै गाली गरे पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका दीर्घकालीन योजना अघि सारेको झैं देखिन्छ । 

पोताला दरबारको आकर्षण 

ल्हासाको मुख्य आकर्षण पोताला दरबार नै हो । भर्खरै बुलेट ट्रेन सञ्चालनमा आएकाले चर्चामा ट्रेन पनि सामेल भएको छ । तर, पोतलाको आकर्षणको अगाडि अरु फिका नै हुन्छन् । 

पोताला दरबारको साइनो नेपालसँग पनि जोडिएको छ । इस्वी सम्वत सातौं शताब्दीमा निर्मित पोताला दरबार त्यस बेलाका तिब्बती राजा स्रङचङ गम्पोले थांग वंशकी राजकुमारी वन् छङसँग विवाह गर्नको लागि निर्माण गरेको इतिहास छ । पोताला दरबार भएको छिंग हाई–तिब्बत समुद्र सतहदेखि सबैभन्दा अग्लो स्थानमा रहेको छ ।  पोताला दरबार तिब्बती वौद्ध धर्मको शानदार र भव्य संरचना पनि हो ।  

३ हजार ७ सय मिटरको उचाइमा अवस्थित पोताला दरबार ३ लाख ६० हजार वर्गमिटरमा फैलिएको छ । तिब्बती राजा स्रङचङ गम्पोले नेपाली राजकुमारी भृकुटीलाई पनि यही दरबारमा भित्राएको किवंदन्ती छ ।  उनीसँग बिहे गर्न नै उक्त दरबार बनाएको भनिन्छ । यो दरबारमा अहिले पनि राजा स्रङचङ गम्पो, राजकुमारी वन् , नेपालको राजकुमारी भृकुटी र स्रङचङ गम्पोका भारदार लु तुं चान्को शालिक राखिएको छ । 

पोताला दरबारलाई साख पोतालो  पनि भनिन्छ । यो शब्द संस्कृत भाषाको उच्चारणबाट लिइएको हो । यसको अर्थ अवलोकितेश्वेरको बासस्थान हो भन्ने पढ्न पाइन्छ । त्यसै कारण लोक दुनियाँमा पोताला दरबारलाई ‘दोस्रो फु थो पहाड’ पनि भनिन्छ । पोताला दरबार तिब्बतको ल्हसाको लाल पर्वतको काखमा टलक्क टल्केको छ । 

चीनको कम्युनिस्ट पार्टीले मुलुकमा शासन गरेको सय वर्ष पुग्यो । नेपालमा कम्युनिस्टको इतिहास पनि ७२ वर्षको छ । पटक पटक कम्युनिस्ट पार्टीले सरकार पनि बनाएको छ तर विकासको गति उल्लेखनीय र प्रशंसनीय हुन सकेको छैन ।

लाल डाँडोको सबभन्दा अग्लो स्थानमा गम्पोले देहशुद्धि र पूजा गर्ने कोठा बनाएका छन । यो गुफा आकारको देवालय हो । 

ल्हासामा तिब्बती शासकको नाटक 

ल्हासाको स्थानीय सरकारले विशिष्ट पाहुना आएको बेला पोताला दरबार र तिब्बती शासकसँग सम्बन्धित ऐतिहासिक नाटक देखाउने गरेको छ । यो नाटक हामी १० जनाले पनि हेर्ने सौभाग्य पायौँ, नेपालकै हाइप्रोफाइल नेताका कारण । हाम्रो भ्रमण टोलीसँगै नेपालको तर्फबाट तत्कालीन सभामुख कृष्णबहादुर महरा, पूर्व मन्त्रीहरू आनन्दप्रसाद पोखरेल, महेश बस्नेत लगायतको उपस्थिति थियो । टोली फरक भए पनि कार्यक्रम एउटै थियो । उक्त नाटकमा झण्डै पाँच सय चिनियाँ सेनाले अभिनय गर्ने ल्हासाको स्थानीय सरकारले बताएको थियो । पहाडमा रहेको प्राकृतिक नाचघरमा प्रर्दशन भएको नाटक तथ्यपरक मात्र हैन यथार्थ पनि लाग्दथ्यो । 

नाटकमा १३ सय वर्षअघि भएको तिब्बती र हान जातिबीच भएको सम्बन्धलाई देखाइएको छ । यो वास्तवमै उद्भूत थियो । नाटक कतिसम्म यथार्थ थियो भने हिमपात भएको दृश्य देखाउन दर्शकलाई समेत प्लास्टिकको बर्षाती दिइएको थियो । हिमपातको दृश्य देखाइँदा दर्शकदीर्घामा समेत हिउँ फुसफुसाएर बर्सन्थ्यो । 

ल्हासाको त्यो ऐतिहासिक नाटक हेरिरहँदा मैले नेपालको ऐतिहासिक सहर दोलखामा हरेक वर्षको बडादसैँको टिकाको भोलिपल्ट प्रर्दशन गरिने खड्गे जात्रा सम्झिएँ । जसरी ल्हासामा प्रर्दशन गरिएको नाटकमा तिब्बती राजाहरूको कहानी जोडिएको छ त्यसैगरी दोलखाको खड्गे जात्रामा दोलखा राज्यको कहानी जोडिएको छ । फरक यति हो ल्हासाको ऐतिहासिक कहानी जोडिएको नाटकको प्रस्तुति, प्रविधि र व्यवस्थापन राम्रो छ, दोलखाको खड्गे जात्रामा त्यो कुराको अभाव देखिन्छ । 

ल्हासाको ऐतिहासिक नाटक जस्तै दोलखाको खड्गे जात्रालाई नगरपालिकाले स्वामित्व लिएर प्रर्दशनको व्यवस्था मिलाउने हो भने यसले ऐतिहासिक तथ्यको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समेत पक्कै टेवा पुग्ने छ । 

ल्हासाबाट फर्के लगत्तै मैले ४ सय ५६ मेगावाट विद्युत (केही दिनमै उत्पादनको तयारीमा रहेको) उत्पादनको थलो दोलखाको लामाबगरलाई ल्हासासँग तुलना गरेर ‘कहिले बन्ला ल्हासा जस्तै लामाबगर’ भनेर लेखेको थिएँ । वास्तवमै हावापानी, प्राकृतिक बनोट र प्राकृतिक स्रोतको हिसाबले दोलखाको लामाबगर तिब्बतको ल्हासाभन्दा कम छैन । ल्हासा बिशाल छ, लामाबगर सानो छ । तर हामीले सानो लामाबगरलाई पनि विकासको गतिमा अगाडि बढाउन सकेका छैनौँ । ४ सय ५६ मेगावाटको तामाकोसी जलविद्युत आयोजना सञ्चालन नभएको भए लामाबगरमा सडक जाने कुरा नै कल्पना बाहिरको हुन्थ्यो होला । 

तिब्बतको विकास र सीपीसीको एक सय वर्ष

तिब्बतमा छोटो समयमा द्रूततर विकास भएको छ । चीनको दुर्गम मानिने तिब्बतका गाउँहरू अहिले आर्थिक, सामाजिक र राजनीतिक सबै हिसाबले सम्पन्न भएका छन् । तिब्बत जनकांग्रेसको स्थायी समिति उपाध्यक्ष तथा बाह्य सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले चिनियाँ कम्युनिस्ट पार्टीको अनुशासन, विकासप्रतिको लगनशीलता र सामूहिक भावनाकै कारण सिंगो चीनले हरेक कुराको विकासमा फड्को मार्दै विश्वमा अघि बढिरहेको दाबी गर्दा हामीलाई विश्वास लागेको थिएन । तर चीनको विकासले विश्वका परम्परागत शक्तिलाई पछि छोड्दै गरेको आँखै अगाडि देख्दा हामी चीनप्रति नतमस्तक बन्न बाध्य भयौँ ।

तीन वर्षअघिको ल्हासा भ्रमणबाट म अहिले पनि उत्तिकै रोमाञ्चित र उत्साहित छु, तिब्बतसँगको हाम्रो सामीप्य, उस्तै प्राकृतिक बनोट, हामीसँगको सिमाना आदि कारणले । अझ तिब्बतको चमत्कारी विकासले त मेरो शरीरमा बेग्लै उर्जा सञ्चारित गर्छ । 

तर जब म नेपालमा भएको सत्य बोध गर्छु, नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, जातीय विविधता जस्ता कुराले गौरवान्वित हुन्छु । अनि फेरि राजनीतिक रुपमा देखिएको खिचातानी, बेमेल, राष्ट्रियताप्रतिको उदासीनता र विकासमा भएका लापरबाहीले दुखी हुन्छु । 

छिमेकी मुलुक भएको नाताले कतिपय विषयमा चिनियाँ प्रभाव नेपालमा प्रत्यक्ष, अप्रत्यक्ष परेकै छ । विकासमा भएको प्रगतिको अनुसरण चाहिँ नेपालले किन गर्न नसकेको होला ? विकासको प्रभाव चाहिँ किन नपरेको होला ? मनमा यस्ता प्रश्नको तुफान चल्ने गर्छ । धेरै नेपाली नेताहरूले चीनलगायत विश्वका विकसित मुलुकहरूको भ्रमण पनि गरिसकेका छन् । फेरि पनि ती मुलुकहरूको विकासे मोडलको अनुसरण चाहिँ किन हुन नसकेको होला ? यो प्रश्नले पनि मलाई गिज्याइ रहन्छ । 

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १ सय वर्ष पूरा भएको अवसरमा चीन सरकार, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनतालाई शुभकामना दिइरहँदा नेपालको विकास र समृद्धिको अभियानमा चीन सरकारको शुभेच्छा र निरन्तर हातेमालोको अपेक्षासमेत गर्दछु । 
  
 



Author

थप समाचार
ad
x