सप्ताहन्त

चौतारीमा ढलेको चन्द्र

हृदयन्द्रजंग शाही |
जेठ ५, २०८० शुक्रबार १३:४४ बजे

सधैँ झैँ मर्निङ वाकबाट फर्केर चिया र डुनोट खाँदै थिए । जब नजिकैका दुई महिलाका संवाद सुनेँ, चिनी हालेको चिया पनि जीवनकै सबैभन्दा खल्लो लाग्यो । म चियाको चुस्की भन्दा पनि उनीहरुको कुरामा चाख लिन थालेँ । एक जना महिलाले च्वःच्वः गर्दै वाक्य टुङ्ग्याइन् ‘चन्द्रे अब बाँच्दैन । अघिपछि यताउता छट्पटिरन्थ्यो। अब त अन्तिम सास पनि छटपटिएरै जाने भो । उ त्यो चौतारीमा रगत छादेर छटपटाइराछ रे ।’

अर्की महिलाले थप्दै भनिन‘ रक्सी नखा रक्सीले ज्यान खाला भन्यो, खाइदे त हाइसन्चै हुन्थ्यो नि आमै भन्थ्यो । भगवानले पनि कति चाँडै सुनेछन् कुन्नी । ’मलाई यी सब कुनै दन्त्य कथाको कुरा गरे जस्तो लाग्यो । मन भित्रभित्रै पिरलियो । अब त मुखमा चियाको एक घुट्की पनि खान मन लागेन ।


आफैँ यसरी डुबेछु की चियामा डुबाएको डुनोट पनि धेरै डुबेर चुँडिसकेछ । झसङ्ग भएर सोधेँ – ‘को आन्टी कहाँ के भएछ ? ‘अघि मास्थिर आउदा देखेनौ चन्द्रे त्या मर्न आँट्या छ रे । घर खोटाङ हो कि कता भन्थे । कोही छैन त्यस्को आफ्नो । मरे पनि लास के गर्ने हो ?’ महिलाले जवाफ दिइन् ।

मरे पछि लास के गर्ने हो ? यो वाक्यले म अवाक भएँ । एक त कोही नहुनेको मर्दा पनि कोही नहुनुको पीडा त्यसमाथि झन् त्यहाँ मान्छे जिउँदै जीवनमा अन्तिम पटक संर्घष गर्दै छ । अस्पताल पुर्याउनु कता हो कता । यता मान्छेलाई मरेपछि ठेगान लगाउनुको चिन्ता छ । मानवता पनि कता गयो कसैलाई थाहा छैन । अब त आँखा पिलपिल गर्न थालिसक्यो । चिया यसै छोडेर हिडेँ । मन अमिलो भयो । अलिपर मान्छेहरु माथि रोडबाट तल चियाइरहेका थिए । बच्चामा बजार जाँदा बाटोमा जादुकरले जादु देखाउदा लाम लागेर जादू हेर्नेहरुको भिड लागे जस्तै त्यहाँ पनि झन्डै ५० भन्दा बढि मानिसहरु मुकदर्शक बनेर सडक नाटक हेरे जस्तो हेरिरहेका थिए । 

तल चन्द्रे होसमा थियो या बेहोसीमा थियो ? कसैलाई थाहा छैन तर ति मान्छेहरुको लागि रङ्गमञ्च देखाइरहेको थियो । रङ्गमञ्च त्यति ठूलो पनि थिएन । तल धोबिघाटको ढुङ्गेधारा । माथि वर र पिपलको चौतारी । सायद उ अघिपछि पनि यहीँ सुत्थ्यो । वर र पिपलको साथी बन्न आएको थियो ।

सायद ऊ चराहरुको पनि साथी थियो होला । आफ्नो दौँतरीको पीडा खप्न नसकेर होला । माथि रुखमा बसेर चराले दुःख बाँडिदिएका थिए । चन्द्रे आफ्नो दुःख व्यक्त गर्ने बोल्न सक्ने अवस्थामा थिएन । त्यसैले होला डालीमा बसेर चराहरु च्याः च्याः गर्दै थिए । त्यो रङ्गमञ्चमा चौतारी पछाडि मन्दिर छ । अनि मन्दिरको आँगनमा सेतो फर्म माथि गद्दाले ओडेर नाटक रचिरहेको थियो, चन्द्रे । वरिपरि रगतले लतपतिएको आँगन । अनि भुनभुनाइरहेका ति झिँगा ।

सायद ति झिँगाले उसलाई साहस दिएको हुनुपर्छ । बेलाबेला हात चलमलाउँथ्यो । मान्छे त ५० मिटर दूरीबाट हेरिरहेका थिए । उसको नजिक जान त कोही मानिरहेको थिएन । त्यसैले पनि ति झिँगाले मान्छेको धर्म निभाउँदै थिए होलान् । माथि रोडबाट ऊ ऊ हात चलाइराछ । सास अझै बाँकी छ । मर्या छैन भन्दै सबै उसको मृत्यु कुरिरहेका थिए । 

गएर सोधेँ ‘कसैले एम्बुलेन्स बोलाउनु भो ?’ एक जना आन्टीले भनिन् – एम्बुलेन्स बोलाए पनि त्यत्रो पैसा कसले तिर्दिन्छ ? उपचार गर्नु परेन ?’ ओहो ! मान्छे कति ढुङ्गा भैसकेछन् । यहाँ कसैको प्राण भन्दा पैसा प्यारो छ । यो झम्सिखेल एरियामा महङ्गा महङ्गा कार घरहरु मात्रै छन् सोच्थे । यहाँ त मन पनि कति महङ्गो रैछ । काँडाले त के घोच्थ्यो र । जति उहाँको कुराले घोच्यो । मन भक्कानिएर आयो । आफुसँग पैसा भैदिएको भए यि म गर्छु भन्थेँ होला । 

पत्रिका किन्नलाई गोजीमा १० रुपैयाँ मात्र थियो । सोचविचार गरेर भनेँ– ‘सबैले चिन्नुहुदो रैछ । मिलेर पैसा उठाएर गरे भैहाल्यो नि !’ फेरि आन्टी कड्किइन– एकजना मान्छे कुर्न जानु परेन, को जान्छ ? मैले बरु म जाउँला भने । त्यतिकैमा एकजना दाइ आएर उसको घरतिरको उसलाई चिन्ने एकजना रैछन् । आउँदै छन् । तिनले आफ्नो मान्छेलाई खबर गर्देका छन् । आउँदै छन् रे भने ।

म अचम्म परेँ । कोही नभएर आकाशलाई छानो मानेर सुतेको, अब धर्तीकै विरानो हुन लागिसकेको मान्छेको अझै पनि आफ्नो मान्छेको खोजी हुँदै थियो । यति बुझिसकेपछि भगवानकै काखमा पल्टिएर पनि भगवानको साथ नपाएको चन्द्रेको अवस्था हेर्न नसक्ने भएँ । अब यो सहरमा मान्छे–मान्छेको बीचमा बसेर पनि आफ्नो मान्छे नहुनुको पीडा महसुस भयो ।

अब सह्य भएन । टाउको घुमाउला जस्तो आफैँ लडौँला जस्तो भयो । १०० मा फोन गरेर विस्तृत जानकारी दिएँ । हामी आउछौँ भन्नुभयो । पत्रिका किनेर घर आएँ । एक गिलास पानी खाएँ । पत्रिका पढ्नै सकिन । मन सम्हाल्नै सकिँन । कसैलाई भन्ने आँट पनि आएन । आखाभरि आँशु भरियो । ल्यापटप खोलेँ । यो लेखेँ । मन अलिकति हलुका भयो ।

अरु देशमा कोही पनि नहुनेको राज्य हुन्छ । आत्मस्वाभिमान सहितको मर्ने अधिकार हुन्छ । तर मेरो देशमा मर्न पनि सुखले पाइँदैन । भन्न त कोही नहुनेको भगवान हुन्छ भन्छन् । तर त्यो पनि नहुने रैछन् । सम्बन्धित निकायको ध्यान जाओस् । चन्द्रे मृत्य ुविजयी होस् । सबै देख्दा देख्दै र जान्दा जान्दै पनि एकदमै निथ्थो महसुस भयो । केही गर्न सकिन । यस्तो आत्मग्लानी कसैलाई खेप्न नपरोस् ।


Author

थप समाचार
x