सप्ताहन्त

षड्यन्त्र नम्बर १३

लिलाराज खतिवडा |
असार ४, २०७९ १०:५ बजे

आफ्नो सपनाको बाटो हिँड्नू । चाहे एक्लै परियोस् । सपनाको बाटो हिँड्नेहरूलाई नै थाहा हुन्छ, एक्लै नहिँडेसम्म सपना पूरा हुँदैन । हुँदै हुँदैन । सपनाहरूलाई सफलीभूत गर्न एक्लै यात्रा तय गर्नु अति जरुरी हुन्छ । भीडमा हिँड्नेहरूले त यहाँ केवल अरुकै मात्रै सपना पूरा गर्छन् । भीडमा अनुसरण, एकान्तमा आविष्कार । 

आफूले पढेमध्ये सबैभन्दा उच्च लाग्थे मलाई माथिका वाक्यहरू । 


त्यसैले आजभन्दा २५ वर्ष अगाडि नै यस लेखकले चाहे त्यो अवचेतनमै किन नहोस्, एउटा नितान्त वैयक्तिक यात्रा तय गरेको थियो । अर्थात्, लेखकको पहिलो विपश्यना शिविर, अखबारका कार्यालयमा केही वर्ष जिन्दगीको रोटी डढाएर, सन् १९९७ को मार्च महिनामा शिवपुरीको फेदैमा । अनि बुद्धको त्यस साधनाले बदलिदियो उसको सारा जीवन । हो, केही आविष्कार जरुरी थियो । कताकता जिन्दगी र जगत अधुरो महसुस भइरहेको । ठिकसँग खाना नपचिरहेको । ठिकसँग निद्रा पनि नलागिरहेको । 

तर कथामा सोचेजस्तो भएन । अलिकति प्राविधिक गडबडी । बुझ्नु भएन ? भारत खोज्न हिँडेको कोलम्बस, अमेरिका पुगिदियो । 

भदौमा आँखो फुटेको डिंगोले जताततै हरियो देखे जस्तै आजभन्दा २३ वर्षअगाडि एउटा ‘फिल्म सुटिङ’मा आँखा फुटेपछि मैले पनि जताततै क्यामेरा महसुस गर्न थालें । सुटिङ छाडेर हिँडेपछि पनि मलाई लागिरह्यो, सुटिङ जारी छ । यस्तो मलाई अझै लाग्छ । लागिरहेछ । अनि आँखा बन्द गरेर म सेक्सपियरलाई सम्झिन्छु– दुनियाँ एक रंगमञ्च हो । यहाँका हरेक मान्छे कलाकार । अनि निर्देशक हो, ईश्वर ! 

स्मरण रहोस्, विराटनगरको त्यो रहस्यमय ‘फिल्म सुट’मा मेरो ‘तेस्रो आँखो’ फुटेको थियो, ‘जैविक आँखो’ होइन । अनि म जताततै अभिनय गर्न थालेको । कहिले चीसो अवसादको, कहिले घोर पागलपनको । कहिले चियापसलमा, कहिले भट्टीमा । कहिले घरमा, कहिले घाटमा । अभिनय । केवल अभिनय ।

सन् १९९९, 
कार्यालय : काठमाडौँ टुडे, चुके निवास, बागबजार ।
७ महिना भारत, इगतपुरीको बिपश्यना इन्टरनेसनल एकाडेमी (धम्मगिरी)मा साधना गरेर काठमाडौँ फर्किएको थिएँ । यता फर्केर पत्रकारिता गर्नुबाहेक अरु उपाय थिएन । अरु काम जानेको भए पो ? तसर्थ मैले भर्खरै काठमाडौँ टुडे ज्वाइन गरेको थिएँ । त्यहाँ राजन शर्मा, सुधीर शर्मा, राजाराम गौतम, रञ्जन झा र निश्चल चापागाईं पनि कार्यरत थिए । उनीहरू पत्रकारितामा निकै सिरियस । त्यसैले कतिपयले पेशामा ‘पेन्सन’ पकाइसके पनि अझै कार्यरत छन् ।  

काठमाडौँ टुडेमा केही दिन धाएपछिको कुरा हो, बेलाबेला अखबारका कार्यालय धाउन रुचाउने लेखक तथा निर्देशक अनुप सुबेदीले अफर दिए, ‘मेरो एउटा साथीले मेगा टेलीसिरियल बनाउँदै छ । खेल्ने हो ?’

यसै पनि सम्पादक टीकाराम राईसँग मेरो त्यति जमिरहेको थिएन । उनको ‘इन्सल्टिङ’ व्यवहार धेरैलाई जँच्थेन । उनी राम्रो साथी हुन सक्थे । तर मेरो नजरमा उनी एक झूर सम्पादक थिए ।

निर्देशकको नामै नसोधी अनुपलाई मैले ‘हुन्छ’ भनिदिएँ । आखिर मान्छेले आफ्नो ‘प्यासन’को खुबै माया गर्छ । म कसरी अपवाद हुन सक्थें ? कलाकार बन्ने सपना बोकेको मान्छे म पत्रकारितामा त्यति ‘सिरियस’ थिइनँ । राजनीतिक रिपोर्टिङको पेलाइले उल्टै ‘बोर’ भइसकेको थिएँ । त्यसैले मूलधार इतर म ‘अफबिट’ लेख्न थालिसकेको थिएँ । मूलधारे पत्रकारितामा म ‘फिट’ थिइनँ ।

अर्को दिन, 
चमेनागृह : प्राइम ब्रोडकास्टिङ कर्पोरेसन, हात्तीसार ।
अनुप सुबेदीले मलाई त्यहाँ लगेका थिए, ‘मेगा टेलीसिरियल’को निर्देशक भेटाउन । केही बेर कुरेपछि निर्देशक आइपुगे । त्यतिञ्जेलमा त्यहाँ दिनेश डिसी पनि यताउता गरिरहेका थिए । पुसको महिना थियो । उनले खैरोकालो ओभरकोट लगाएका थिए । मैले के लगाएको थिएँ, याद भएन । 

कसैले दिनेशलाई प्रतिक्रिया दियो, ‘तपाईंको पेट त खुबै लागेछ नि !’
दिनेशले हाँस्दै भने, ‘नीर दाइको ठाउँ लिने पनि त कोही चाहियो नि । चाहिएन ?’

मने, उनी नेपालमा त्यतिबेलै अभिनेता नीर शाहको स्थान लिने सपना बोक्थे । त्यो पनि भुँडी ठूलो पारेर । आज २३ वर्षपछि यो स्टोरी लेख्दै गर्दा मलाई उनी के गर्दैछन्, थाहा छैन । तर मलाई उनको बोल्ने ‘स्टाइल’ निकै मन पथ्र्यो । उनी रेडियोमा बोल्न ‘फिट’ हुन् । उनका निकै श्रोता पनि थिए । तर अभिनयमा उनी धराशयी भए । उनी कुशल बोलक्कड हुँदाहुँदै एक ‘फ्लप’ कलाकार साबित भए ।

खैर, केहीबेर चमेनागृहमा कुरेपछि निर्देशक आइपुगे । अनुपले मलाई उनीसँग परिचय गराए । उनी थिए, पुकार भट्टराई । तुलसी घिमिरेको ‘मुक्ति सिरियल’ सकाएर उनी ढाडिएका रहेछन् । मैले उनलाई ‘मुक्ति’मा हेरेको थिएँ । त्यहाँ उनको खलनायकी हेर्न लायक छ । पुकार ‘तरङ्ग’ भन्ने सिरियल बनाउने तरखरमा थिए । उनलाई ठूलो संख्यामा कलाकार र प्राविधिक चाहिएको थियो । उनले मलाई काम दिने भए ।
 
अनुपले पुकारलाई छुट्ने बेलामा भने, ‘बट यु ह्याभ टु पे हिम ।’

पुकारले एउटा रहस्यमय मुस्कान छरेर जवाफ दिएका थिए, ‘स्योर, आइ विल ।’

यसप्रकार उचित पारिश्रमिकसहित ‘तरङ्ग’मा एउटा ‘रोल फिक्स’ भएपछि ‘ल्यान्डलाइन नम्बर’ साटासाट गरेर हामी छुट्यौं ।

२ हप्तापछि
बिराटनगर, सुटिङमा ‘प्यानोइड’ ।
मलाई सबैजना रहस्यमय लाग्दै थिए । टाउकोमा निकै तनाव पनि महसुस भइरहेको । सिरियलको कथा वा स्क्रिप्ट केही थाहा नदिई पुकारले सुटिङमा डाके । 

अझ उनले मेरो भारी आवाजको तारिफ गर्दै भने, ‘तपाईंको आवाज निकै बुलन्द छ । अलिकति लगानी गर्नुभयो भने, राम्रो रोल दिन्छु ।’

मेरो दिमाग खराब भयो ।

३ दिन सुटिङ भएपछि मलाई भने उनीसँग काम गर्ने इच्छा मरिसकेको थियो । खल्तीमा भएको एक हजार रूपैयाँ पनि पुकारलाई दान गरेपछि म एउटा गाउँले साथीको कोठामा गएर सुतें । तर निद्रा लागेन । आज्ञाचक्रमा अथाह तनाव महसुस भइरहेको थियो । आँखा बन्द गर्दा निधारको मध्यमा प्रकाशका झिल्काहरूले आक्रमण गर्न थाले । आँखा खोल्दा र बन्द गर्दासमेत मलाई क्यामेराहरूको आभास हुन्थ्यो । एक्लै बर्बराइरहेका बेला समेत लाग्थ्यो कि हजारौं मान्छेहरूले मलाई एकसाथ हेरिरहेका र सुनिरहेका छन् ।

के सुटिङ जारी छ ? कि यो बल्ल शुरु भएको हो ? के भएको हो यो सब ? इन्द्रजाल हो यो ? कि हो यो एक कालोजादू ? 
 
बडा सकसले रात कट्यो । डर र त्रासले मनमा डेरा हालेको थियो । मुटुको ढुकढुकी बढेको थियो । अनि सास रोकिएला जस्तो । मैले जताततै षडयन्त्र देखें । आफूभित्र अरु नै कोही घुसेर नियन्त्रणमा लिन खोेजे जस्तो । मेरो व्यक्तित्वलाई अर्कै व्यक्तित्व वा अज्ञात शक्तिले ‘ओभरल्याप’ गरे जस्तो । अनि मलाई प्रत्येक मान्छेहरू शंकास्पद लाग्दै थिए । यस्ता अनुभवलाई ‘प्यारानोइया’ भनिन्छ भन्ने पनि थाहा थिएन । लाग्थ्यो, म एक अति जटिल चक्रव्यूहमा फँस्दै गइरहेको छु ।

पछि इगतपुरीमा डा. धनञ्जय चब्हानसँग परामर्श गरेपछि केही प्राविधिक कुरा थाहा भए । तर म ‘मेडिकल साइन्स’ अर्थात् डा. चब्हानलाई पत्याइरहेको थिइनँ । लाग्थ्यो, गहिरो विपश्यना ध्यान गरेकाले आफूलाई सिद्धि हासिल भइरहेको हो । अर्थात्, ‘माइन्ड पावर’ सतहमा आइरहेको हो ।  

साँच्चै के भएको हो ? 

बिहान भएपछि म सुटिङमा नगएर बस चढी आफ्नो घर फर्किएँ । अनि मलाई लाग्दै थियो सुटिङ जारी छ । यसबीच समयको लामो अन्तराल बितिसकेको छ । अनेक घटना भइसके । मलाई भने अझै लाग्छ कि सुटिङ जारी छ, निरन्तर । अनि म जताततै र जुनसुकै बेला अभिनय गरिरहेको छु – आफैँसँग अनि अरुसँग पनि ।

निर्देशक को हो ? 

यदि ऊ एक मानव होइन भने ईश्वर हो । ‘गड इज दि डाइरेक्टर’ । 

‘हु नोज’ ?!

सुटिङ छाडेर इगतपुरी, ‘मेडिकेटेड’ ।
सुटिङ छाडेर म इगतपुरीस्थित धम्मगिरी पुगें जहाँ अघिल्लो वर्ष लामो समय ध्यानसाधना गरेको थिएँ । रेलमा जाँदाजाँदै म फेरि ‘प्यारानोइड’ भएँ । धम्मगिरी पुग्दासम्म म आफैँभित्र र बाहिर हराइसकेको थिएँ । अनेक आवाज सुनिन्थे । अनेक दृश्य देखिन्थे । टाढाबाट एकसाथ हजारौं मानिसले बोलाए जस्तो । कुनै अनकण्टारतर्फ अज्ञात शक्तिले ताने जस्तो । भोकनिद्रा गायव । असुरक्षित । 

अनि म त्यहाँ जिन्दगीमा पहिलोपटक ‘मेडिकेटेड’ । ‘मेडिटेसन’ गर्न ध्यानकेन्द्र गएको साधक ‘मेडिकेटेड’ ? मलाई भने एक गहिरो र दुरुह षडयन्त्रको (सु)गन्ध आइरहेको थियो । मुरारी आचार्यका साथ इगतपुरीबाट म घर फर्किएँ । अनि सुरु भयो, नेपालमा मेरो उपचारको शिलशिला । 

‘साइक्याट्रिक’ औषधिहरूको ‘साइड इफेक्ट’ भयानक । म मोटाउँदै गइरहेको । आँखाअगाडि कालो छाया । अँध्यारो भविष्य । २५ वर्षे जवानीमा म ‘कोल्याप्स’ । 
विराटनगरको एउटा ‘प्राइभेट क्लिनिक’मा भेटिएका डा. सुरेन्द्र शेरचनका औषधि केही हप्ता खाएपछि मलाई ‘इपिएस’ भयो । अर्थात्, औषधिको मात्रा नमिल्दा हुने अस्थायी ‘प्यारालाइसिस’ । बुबाआमाले ‘इमर्जेन्सी’मा काठमाडौँै लैजानुभयो । त्यहाँ फेला परेका डा. विश्वबन्धु शर्माको औषधिले ‘इपिएस’ ठिक भयो । अनि उनले फेरि नयाँ औषधि लेखिदिए, ‘सिजोडन टु’ । यसले मेरा विचारहरू अवरोध गर्दथ्यो । साथै पाचनप्रणालीमा पनि गडबडी उत्पन्न गरिदिन्थ्यो ।
 
घोर पीडामा हप्ता, महिना र वर्ष बिते । एक डाक्टरबाट अर्को डाक्टर । एक अस्पतालबाट अर्को अस्पताल । अनेक पुनःस्थापना गृहमा महिनौं बन्द । अनेक मान्छेका अनेक कुरा । अवहेलना, भेदभाव । झुण्डिउँ कि झैं पनि लाग्थ्यो । हैट, झुण्डिने कुरा पो गर्छ यो नाथे दिमाग ! अनि म आफ्नो दिमाग उल्ट्याउन थालेको थिएँ । 

म औषधि ‘डस्टबिन’मा कोच्न थालें । डाक्टरहरूसँग तर्कवितर्क गर्न थालें । अस्पताल छाडेर भागें । पुनःस्थापना गृहबाट कुलेलाम ठोकें । घर छाडेर भागें । पशुपतिनाथको मन्दिर वरपर हुने रामायण भजनमा जान थालेपछि अलिक आराम मिल्यो । अनि म लगातार भजन धाउन थालें । दिमागलाई सुन्न छाडेर म आफ्नो ‘दिल’ टटोल्न थालेँ । 

मान्छेहरू देख्दा सबै कलाकार हुन् भन्ने नै लाग्थ्यो । यहाँसम्म कि परिवारका सदस्यहरूले समेत अभिनय गरिरहेका छन् भन्या झैं लाग्ने । विभिन्न परिस्थितिहरू सृजना गरेर कसैले जबर्जस्ती यावत घटना घटाइरहेको हो कि भन्ने भान परिरहन्थ्यो । 

‘स्किजोफ्रेनिया’ निदान – आविष्कारको प्रेरणा ।
डा. शर्माको औषधि सेवन गर्दै घर आएर केही हप्ता सुतेपछि अलिक आराम मिल्यो । तर औषधिको सेवनबिनै म ठीक हुन चाहन्थें । त्यसैले एक दिन घरबाट राजधानीको एक अस्पतालमा ‘फलोअप’का लागि हिँडेको म इटहरीबाट दक्षिणतर्फ लागें । जोगबनी पुगेर कटिहार जाने रेल समातें । केही दिनमै म फेरि पुगेँ, इगतपुरी । त्यहाँ मलाई स्वीकार गरिएन । अनि म रहस्यमय पाराले पुगें, मुम्बई । 

म त्यहाँ धुजाधुजा । त्यो पूरै एक महिना मेरो पहिलो ‘रकबटम’ थियो । मेरो नाक जमिनमा नराम्रोसँग बजारिन पुगेको थियो । कसैले मलाई गोवा पुर्यायो । त्यहाँ एउटा अंग्रेजी अखबारले मेरो होस खुल्यो । धेरै दिनको मदहोशीपछि तारिख हेर्दा इगतपुरी छाडेको महिना दिन बितिसकेको थियो । कसोकसो म फर्किएँ । हो, म जीवितै घर फर्किन सक्षम भएको थिएँ ।

बेहोस बनाएर कसैले मेरो ‘लिबिडो’ झिके जस्तो अनि अप्रेसन गरेर ‘माइक्रो चिप्स’हरू ढाडमा हालिदिए जस्तो लागिरहेको थियो । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘साइक्याट्रिक वार्ड’मा एक महिना बसेपछि केही आराम मिल्यो । त्यहाँ मलाई ‘स्किजोफ्रेनिया’ निदान गरियो र बिल्कुलै नयाँ औषधि, ‘ओलान्जेपान’ चलाइयो । 

पाइतालाका घाउहरू भने ठिक हुनुको सट्टा झन्झन् संक्रमित हुँदै गए । तिनै घाउहरू पछि गएर खिल भए । कुनै उपचारले ठिक भएनन् । अझै छन् खिलहरू । २१ वर्षअघिको मेरो पहिलो ‘रकबटम’को उपहार, भत्भती पोल्ने खिलहरूसँग अहिले मेरो प्रेम बढेको छ । यसको लगातारको दुखाइले मेरो साक्षीभाव बढाउँछ । निको नहुने घाउहरूसँग अरु के अपेक्षा ?

सन् २०००,
नयाँ सडक दैनिक, शान्तिनगर, काठमाडौँ ।
केही हप्ता आराम गरेपछि मैले पत्रकार किशोर नेपाललाई भेटें । उनी नयाँसडक भन्ने एउटा ‘सिजनल’ दैनिक पत्रिका निकाल्ने तरखरमा थिए । प्रमुख संवाददातामा मैले काम पाएँ । मानसिक औषधिले मेरा लक्षणहरू नियन्त्रणमा लिएका थिए । तर म भित्रभित्रै असहज । तथापि नयाँ सडकका लागि विभिन्न अन्तर्वार्ता लिइयो । अनेक रिपोर्ट प्रकाशित गरियो । नयाँ संवाददाताहरूलाई कैयौं समाचार र फिचर लेखाइयो । 

केही महिना काम गरेपछि मैले डाक्टरको सल्लाहबिनै औषधि छाडिदिएँ । अनि त लक्षणहरू ह्वात्तै सतहमा आउन थाले । कुनै बाह्य शक्तिले नियन्त्रणमा लिएजस्तो । कसैले सुदूरबाट सम्मोहन गरेजस्तो । अनि भोकनिद्रा गायव । रातिराति म मठमन्दिर धाउन थालें । मध्यरातमा म नारायणहिटी दरबारको फन्को लगाउन थालें । राजधानीमा कहिल्यै नपुगेका ऐतिहासिक स्थानहरूमा पनि म मध्यरातमा पुग्न थालें । मलाई मान्छेहरूका चेहरा झन्झन् रहस्यमय लाग्न थाले । 

केही दिन यसरी बरालिएपछि मैले नयाँ सडक छाडें र स्पेसटाइम दैनिक ‘ज्वाइन’ गरें । त्यहाँ म झन् ‘प्यारानोइड’ । त्यहाँ काम गर्ने सबै पत्रकार र कर्मचारीहरू मलाई ‘डि कम्पनी’का ‘एजेन्ट’ लागिरहेका थिए । यसै पनि प्रकाशक स्व. जमिम शाहलाई दाऊद इब्राहिमको निकटस्थ रहेर काम गरिरहेको आरोप थियो । तर त्यहाँ कार्यरत सबैजना ‘जी कम्पनी’का ‘एजेन्ट’ पनि हुन सक्थे । त्यतिबेला यस्ता कुरा म खासै जान्दिनथेँ । 

त्यस्ता झस्काले मेरो ‘प्यारानोइया’को आगोमाथि घिउ थपेको थियो । केही महिना लाजिम्पाटमा ‘स्पेसटाइम’तिर बरालिएपछि टिचिङ अस्पतालको मानसिक वार्डमा भर्ना गरिएँ । ‘डिस्चार्ज’ भएपछि पनि म केही दिन ‘स्पेसटाइम’ गएँ । तर काम गर्न सकिँन । मेरो कल्पनाशक्तिलाई औषधिले ‘सिडेटाइज’ गरिदिएको थियो । फलस्वरूप मेरो लेखाइ पनि कमजोर प्रतित भयो । नेपाली पत्रकारितामा त्यसबेलासम्म केही ‘स्कूप’ मारिसकेको मलाई आफ्नै कलम दयनीय लागेपछि र मस्तिष्क अति नै भद्दा महसुस भएपछि मैले प्रमुख सम्पादक श्री आचार्यसमक्ष राजीनामा पेस गरें । 

श्री दाइले आश्वासन दिँदै भने, ‘कामैचाहिँ नछाड, बरु केही दिन बिदा लिएर बस ।’ 
तर म मानिनँ । काम छाडेपछि म फेरि घर गएर मस्त सुतें । 

सन् २००१,
नारायणहिटी दरबार हत्याकाण्ड 
यसै बीच दरबार हत्याकाण्ड भयो । त्यस रात मलाई केही रहस्यमय सपना आएका थिए । पछि पनि दरबार र पूर्वराजाहरू मेरा सपनामा अत्यधिक आए । मलाई रहस्यको गर्तमा थप जाकेर त्यस्ता सपनाहरू गायब हुन्थे । अनि फेरि फाट्टफुट्ट टप्किदिन्थे । यसपछि कथाभित्र थप भयंकर कथा । सपनाभित्र झन् रहस्यमय सपना । अनि सिनेमाभित्र बग्रेल्ती ‘हरर’ सिनेमाहरू आए । गए । अनि फेरि आए ।  

दरबार हत्याकाण्डले मेरो दिमाग नराम्रोसँग हल्लाइदियो । सबैको हल्लाएकै हो । तर अरुले यो घटना बिर्सिंदै गए पनि म भने यस रहस्यमय घटनामा अरु धेरै भासिँदै थिएँ । मलाई दरबार हत्याकाण्ड एउटा ‘कन्स्पिरेसी थ्योरी’मा आधारित छ झैं लाग्न थाल्यो । लागि नै रह्यो । अहिले त झन् लाग्छ । यस्ता विषयमा घटना ताजै छँदा अंग्रेजीमा मैले केही ‘ब्लग’ लेखें । पत्रकारद्वय नारायण वाग्ले र तीर्थ कोइरालाले मेरै अगाडि उक्त ब्लग पढेर मसँग केही ठट्टा गरे तापनि नेपालका केही ‘इन्टिलिजेन्ट’लाई थाहा छ, नारायणहिटी दरबार हत्याकाण्ड केवल एक ‘कन्स्पिरेसी’ हो भनेर निदान गर्ने ‘कम्पोनेन्ट’ भनेको लिलाराजको ‘स्किजोफ्रेनिक’ दिमाग नै हो । ‘स्किजोफ्रेनिक’ बाहेक केवल ‘कपीपेस्ट’ गर्ने कलमले यस्तो भयानक निदान गर्न सक्दैन भन्ने पनि ती ‘इन्टिलिजेन्ट्स’लाई राम्रोसँग थाहा छ । गम्भीर कुरामा केको ठट्टा ?

बुझ्नु भएन ? 
लगातार अहिलेसम्म म त्यो अति रहस्यमय दरबार हत्याकाण्डकै अनुसन्धान गरिरहेको छु ः ‘एस्ट्रल’, ‘भर्चुअल’ वा भौतिक एकसाथ । यसको समाधान नभएसम्म नेपाल शान्त हुँदैन । यस अति दुरुह विषयमा अरु कोही लगातार अनुसन्धानरत भए खबर पाउँ । 

सोध्नुहोला, ‘अनि यो अनुसन्धान पनि अभिनय नै हो त ?’ 
‘कन्स्पिरेसी’को अनुसन्धान पनि अर्को एउटा ‘कन्स्पिरेसी’ नै हुन्छ । हुँदैन त ? अनि त्यस् अनुसन्धानको भावी रिपोर्टका बारेमा तपाईंको चाहिँ के धारणा छ ?

मेरो अनुसन्धान पनि अझै सकिएको छैन । बिचमा अनुसन्धानमा नराम्रोसँग हराएपछि मैले एउटा समानान्तर उपन्यास लेखेँ, ‘म को हुँ’ । खासमा त्यो सारा उपन्यासमा मैले रहस्यमय ‘अंक १३’ कै जिकिर गरेको छु, राहुल पात्रका रूपमा । जिकिर मात्रै ? त्यो पात्र मेरो एक घना आविष्कार थियो । अहिले उक्त उपन्यासको नाम फेरि राख्न पाए म रोज्थेँ, ‘अंक १३’ ।

सन् २०२२, 
चर्चा ‘अंक १३’को ।
‘एकाडेमी अवार्ड’ जितेको हलिउड सिनेमा ‘अ ब्युटिफुल माइन्ड’मा प्रोफेसर जोन न्यासले आफ्नो मुलुकलाई दुष्मनबाट जोगाउन चालेका ‘स्किजोफ्रेनिक’ कदमहरू के कम महत्वपूर्ण छन् ? 

भनिन्छ, सबै कल्पनाहरू यथार्थ हुन् अर्थात् ‘अल इमाजिनेसन्स आर ट्रु’ । अर्कातिर दुनियाँका तमाम आविष्कारहरू पनि पहिले कल्पनामै सीमित थिए । जमाना अँध्यारोमा झट्टी हान्ने अब रहेन । अहिले त अँध्यारोमा प्रकाश फ्याँक्ने जमाना हो । जमिनमा खनेपछि पानी आउनुपर्छ । अनि पानी मात्रै एक उद्देश्य हो भने, पानी नआउन्जेल खनिरहनु पर्छ ।

त्यसैले हालसालै ‘जेठ १९’ मा यस मुलुकमा मैले ‘अंक १३’ गनेको थिएँ, एउटा लेख प्रकाशित गरेर । जसले जे भने पनि ‘अंक १३’ आख्यान होइन । यो कुनै ‘स्किजोइड इन्टरप्रिटेसन’ पनि होइन । ‘अंक १३’ एक तिक्त यथार्थ हो । यो एक ‘कालो घाम’ हो । ‘कालो घाम’ ? के यो सम्भव छ ? अब मैले एक खतरनाक तानाशाहको भनाइ सापटी लिने बेला भयो, ‘अक्सर यहाँ त्यही भइदिन्छ जे असम्भव छ !’ 

‘अंक १३’ माथि उक्त लेख अलिक अरिमठ्ठे र अपूरोसमेत थियो । त्यसैले अब म ‘एक्लै’ यसरी त्यसको ‘प्रिफेस’ लेख्छु । 

कारण ? आफ्नो सपनाको बाटो हिँडनू । चाहे एक्लै परियोस् ।

सन् २०२३,
उदय ‘अंक १३’को ।
समाप्त !


Author

थप समाचार
ad
x