सप्ताहन्त

गफगाफ

‘फ्रग सेकुवा’ एट मौलीबारी !

लिलाराज खतिवडा |
जेठ २८, २०७९ ९:५४ बजे

‘इभिनिङ वाक’मा चिउरामिल चौकतिर निस्किएँ । जीवनको हार्डवेअर पसलमा केही रैथाने साथी सदाझैं भेला भएका थिए । म पुगेपछि अचानक मौलीबारी जाने चर्चा चल्यो । साथीहरूले त्यहाँ ‘स्टिम फिस’ खाने निर्णय गरे ।

‘स्टिम फिस ?’ मेरो मुख अमिलियो ।


मैले भनेँ, ‘यसै पनि अहिले वर्षाकाल हो, माछा खानु स्वस्थकर हुँदैन !’

जीवनले जवाफ दियो, ‘सिधै माछा मन पर्दैन भन्‍नु न !’

हाहाहा ...! म हाँसेँ । सबै हाँसे । 

चिउरामिल चौकमा घाम अस्ताउने तरखर थियो । तत्काल योजना बनाएर ‘रिफ्रेसमेन्ट’ लिन खप्पिस साथीभाइका बीचमा चेपिएको थिएँ, म । त्यसो त यसअघि पनि यस्ता केही अनपेक्षित लामाछोटा ‘अडवेन्चरस’ यात्रा भएका थिए । हामी त लगभग यस्तै हौं, ब्रो ! 

अबेर नगरी हामी दक्षिण हान्‍नियौं ।
... ...
पाँचथरे फार्म हाउस क्याफे, मौलीबारी । बक्राहा खोलाको किनारैमा । खोलापारी सुन्दरीचौक अनि किर्तिपुर । अहिले झोलुंगे पुल बनेको छ । यताका बासिन्दाको लामो सकस दूर भएको छ ।
उर्लाबारी चोकतिरको उखपात गर्मी अचानक गायब भएको थियो । दुर्गापुरीलाई देब्रेतर्फ छाडेर हामी होमटाउनबाट करीब ७ किलोमिटर पश्चिमदक्षिण झरिसकेका थियौं । बाटा वरपरका खेतहरूमा मकै पाक्दै । कताकता धानका ब्याड । पानी परेर कतिपय खेत जलमग्न । अनि वरपर चलिरहेको ताजा र ठेट् देहाती हावा । यथेष्ट अक्सिजन पिएर सबैको मस्तिष्क फक्रिन थालेको थियो ।
साथीहरूले प्रफुल्ल मुद्रामा अड्कल काटे, ‘हाम्रै गाउँहरू पनि सानातिना स्वर्ग हुन् । यहाँ केवल पारखीको कमी महसुस हुन्छ ।’

‘स्वर्ग सानोतिनो किन ?’ मैले कुराको परिधी बढाएँ, ‘यहाँबाट अलिक मास्तिर, बढीमा २ किलोमिटर उत्तर मेरो जन्मस्थान पर्छ । त्यसैले मेरा लागि यो भन्दा अर्को स्वर्ग छैन । म ८ वर्षको हुँदा बुबाले उक्त जग्गा बेचिदिनु भयो । अब मलाई त्यो जग्गा चाहिएको छ । त्यहाँ एउटा स्वर्ग बनाउने सपना छ । त्यसै कारणले गर्दा पनि पचास वर्षे उमेरमा बल्ल मेरो करियर सुरु भएको छ ।’ 
... ...
एउटा लामो माछाखाडीको किनारमा हामी गोलबद्ध बस्यौं । साँझ परिसकेको थियो । जाल हानेर माछा निकाल्ने समय थिएन । पहिल्यै अर्डर नगर्दा माछा खान नपाइने रहेछ । पोखरी हुँदाहुँदै फ्रिजमा माछा राख्नु अनुपयुक्त । माछा खाने भए बेलैमा पुग्नुपर्यो वा पहिल्यै अर्डर दिनु पर्यो ।
माछाप्रेमी मेरा साथीहरूले अब लोकल कुखुरा खाने ध्येय झिके । तदनुरूप काम सुरु भयो ।
खगेन्द्र माल्दाई निकै पुरानो उर्दू कब्बाली गाउन थाल्यो, ‘तु कुजा मन कुजा ...!’

हामी सानो छँदा ऊ स्कुलको टेबुल बजाएर लोकगीत गाउँथ्यो । टेबुलमा ऊ ‘च्यानापुल्टुंग ना पुल्टुंग’ बजाउँथ्यो । र, अन्त्यमा मुखैले ‘झँ्याइँ’ पाथ्र्यो । ऊ निकै रौसे र बिन्दास पाराको ।  

‘जाओस् न त एक पटक,’ स्कूले स्मरण झिकेर मैले आग्रह गरेँ । 

‘अब बिर्सिएँ,’ माइलाले खासै जाँगर चलाएन ।

... ...
नितम भतिजले अचानक मौलीबारी जाने योजना बनाएको थियो । खगेन्द्र माल्दाइले उसलाई समर्थन गरेपछि कसैको केही लागेन । हाम्रो दलबलमा सामेल थिए, बिष्णु, पप्पु र नविन पनि ।

फोटोग्राफी र हाइकिङ्प्रेमी जीवन एउटा हार्डवेअर व्यवसायी हो । तर ऊ भन्छ, ‘अब घरहरू बन्‍नु हुँदैन । भएकै घरहरू यथेष्ट छन् । यहाँ ४ जनाको परिवार २४ वटा कोठामा बस्छ । २ जनाका लागि यहाँ आधा दर्जन घरहरू बनेका छन् ।’

हुन पनि रकम ज्यादा भएपछि मान्छे भूतप्रेतहरूसँग बस्न बढी रुचाउँदोरहेछ । नत्र घरहरू यहाँ किन रित्ता छन् त ? स्मरण रहोस्, रित्ता घरहरूले केवल अवसाद बढाउँछन् । हैट, मलाई जीवनको कुरा घच्ची लाग्यो । एउटा हार्डवेअर व्यवसायी त यसो भन्छ भने, कति धेरै घरहरू बनेका रहेछन् त यहाँ ?

खगेन्द्र माइलो लगभग रिटायर्ड लाइफमा छ । पहिले ऊ विविध व्यवसायहरूमा थियो । केही वर्ष सिंगापुरमा पनि उसले बितायो । छोराछारी हुर्किसके । भर्खरै उच्च शिक्षाका लागि छोरी अस्ट्रेलिया गइन् । छोरो काठमाडौँमा पढ्दै छ । केही वर्ष अघिदेखि उसले रक्सी खाने पेसाबाट पनि अवकाश लियो । हाल ऊ हुक्का तान्‍न सिक्दै छ । 

पप्पु एक ठेकेदार हो । हाम्रो घरअगाडिको बाटो पनि उसैले बनाएको हो । कालोपत्रे हुनुभन्दा निकै पहिले यसबारे पहिलोपोस्ट डट कमका लागि मैले एउटा निबन्ध लेखेको थिएँ ः बाटो मीमांसा । अहिले कालोपत्रे भइसकेपछि निबन्धमा मैले अड्कल काटेजस्तै यसको रौनक फेरिएको छ । ट्राफिक पनि बढेको छ । निबन्ध पढ्ने भए, गुगलमा खोज्दा भेटिन्छ । 

विष्णु सुनचाँदी व्यवसायमा । उनका बारेमा मलाई त्यति धेरै जानकारी थिएन । उनी त्यतिधेरै बोलेनन् । कसैको व्यक्तिगत जीवन सोधेर होइन, संगत गरेर जान्दा उचित लाग्छ । पेसाले त जरुरी पर्दा म जसको पनि नीजि जिन्दगी खोतलिदिन सक्छु । मने, कुरा बुझ्नु भयो होला नि ?

मैले उनलाई सोधेँ, ‘२ हजार जनसंख्या नभएको कुनै टोलमा किन सुनचाँदी पसलचाहिँ २० वटा ? के सुनचाँदी व्यवसाय भाटाले बेरेर ठाउँ न कुठाउँमा रक्सी भट्टी खोलेजस्तै हो र ? कि गोरे जेल बसेर पनि यहाँ अझै ‘स्वर्ण धन्दा’ चलाइरहेको छ, हँ ?’ 
विष्णु केवल मुस्कुराए । अन्य साथीहरूले खित्का नछाडिरहन सकेनन् । 
नविनसँग मेरो अलिक पछि चिनजान भएको हो । ऊ जीवनको लगौंटिया साथी हो । ऊ १८ वर्ष साउदी अरब बसेर हाल छुट्टीमा घर आएको छ । 
मैले उसलाई सोधेँ, ‘अब विदेश नजाँदा हुँदैन ?’
‘नगएर के गर्नु ? यता त आवारागर्दी मात्रै ।’ उसको सटिक जवाफ ।
मैले थपेँ, ‘अब यतै भ्यागुत्ता पाल्नुपर्छ र खोल्नुपर्छ एउटा फ्रग क्याफे ।’
‘हाहाहा... !’ नविन जोडसँग हाँस्यो ।

... ...
नितम भतिज केही समय पहिलेसम्म ‘टोटला क्याफे’ चलाउँथ्यो । हाल ऊ ‘रेस्ट’मा रहेछ र उर्लावारी कलेजमा पत्रकारिता विषय लिएर स्नातक पढ्दै ।

मेरा आँखा फराकिला भए, होमटाउनमा अब पत्रकारिता पढाइ हुन थाल्यो ? यो निकै खुशीको कुरा हो । अब उर्लावारीका ‘रैथाने पत्रकार’ बन्धुहरूलाई ‘डिग्री होल्डर’ पत्रकारहरूले चुनौति दिने बेला आएछ । कलेज पढेर पत्रकारिता पेसामा युवाहरू आउन चाहनु निश्चय नै स्वागतयोग्य कुरा हो । यसै पनि पेसागत मर्यादा नहुँदा उर्लावारीमा कैयौं समाचारहरू ओझेलमा परे वा कतिपय जरुरी समाचारहरू दबाइए । थौरै पैसाले पनि यहाँ ठूलो समाचार किनिदियो । वा सानो समाचार पनि ठूलो दाममा बिक्री भयो । आउनु पर्ने मान्छेका अन्र्तवार्ता आएनन् । नआउनु पर्नेका अन्र्तवार्ता आए । ‘ब्रोड स्पेक्ट्रम’बाट नियाल्दा यहाँ केवल पीत पत्रकारिताको अभ्यास भयो । यहाँ मात्रै ? राजधानी लगायत सारा नेपालको रोग हो यो । नेपाल र भारतमा जति पीत पत्रकारिता दुनियाँमा अन्त कहाँ ? 

हाहाहा ...! 
नितम हाँस्यो ।
उसका बाबाआमाको विवाहभोज खाएको थिएँ । 
मैले ३२ वर्षे नितमलाई भनेँ, ‘हामीलाई दुवैतर्फबाट निम्तो थियो ।’ 
किनभने, हाम्रो घर उसको घर र मावली घरको बीचमा पर्छ । यो निकै अगाडिको कुरा थियो । विवाहपछि ज्वाइँ र जेठान भएर नितमका बुबा र मामाले आफ्नै स्थानमा एउटा चिउरामील खोले । त्यो मील निकै चल्यो । त्यसै कारणले उक्त स्थानको नाम नै चिउरामील रहन गयो । मील अझै पनि सक्रिय छ । तर पहिले जस्तो अहिले कहाँ ? बचपनको याद गर्दा एक जमानामा दसैंताका चिउरामीलमा मेला नै लाग्ने गथ्र्यो । मान्छेहरू केही दिनको पालो कुरेर भए पनि चिउरा कुटाएर लिएर जान्थे । 
यता जसको बिहे खाएको, उनीहरूका नातिनातिना भइसकेछन् । नितमकै ठूलो छोरो ७ पुगेर ८ लागेछ । युग बितेको हो कि वर्षहरू बितेका हुन् ? 
यहाँ जिन्दगी पत्तै नपाई बितिदिन्छ र यसको मजै सायद त्यही हो । 

... ...
‘तपाईं उचाल्दा गह्रौं, अनि समाउँदा किन यति चिप्लो ?’ अचानक जीवनले खगेन्द्र माल्दाइलाई आक्रमण गर्यो ।

हाहाहा ....! 
वातावरण फेरि एकपटक हाँसोमय भयो । 

‘कसो अरे ? कसो अरे ?’ कुरा निकै घत लागेर मैले जीवनलाई वाक्य दोहोर्याउन लगाएँ, ‘उचाल्दा गह्रौं, अनि समाउँदा चिप्लो ? के भन्‍न खोज्या यो ?’

‘मने, कोही कोही मान्छे यस्ता हुन्छन् कि तिनलाई कसैगरी वशमा लिन सकिँदैन । जसलाई बोक्न पनि सकिन्‍न । अनि समात्न पनि सकिन्‍न । जस्तो कि खगे माल्दाइ ।’ जीवनको स्पष्टिकरण ।

पेरु देशमा भ्यागुत्ताको मासुको जुस निकै लोकप्रिय छ । त्यहाँ यो जुसलाई ‘भियाग्रा’ नै मानिन्छ अर्थात् भ्यागुत्ताको मासुको जुसले यौन दुर्बलता र नपुंशकता ठिक गरेर यौन तथा प्रजनन शक्ति बढाउँछ । राजधानी लिमा पुग्नेहरू त्यहाँको प्रख्यात ‘एक्स्ट्रयाक्टो-डे-रना’ अर्थात् भ्यागुत्ताको मासुको जुस नचाखिकन फर्किंदैनन् । त्यहाँको सरकारले नै भ्यागुत्ताको जुस लगायत अन्य परिकार बनाउने कार्यमा प्रोत्साहन गर्दछ ।

निकैबेरदेखि मौन रहेर आफूमाथि आइलागेको ‘आइरोनी’लाई खगेन्द्रले टक्कर दियो, ‘उचाल्दा रुवा झैं हलुका र समाउँदा मैन जस्तै नरम मान्छे त बिरलै होलान् यो दुनियाँमा ।’

मनका गाँठाहरू यसैगरी फुट्दै थिए । बिना योजना घुमघाम । अनि बिना शिलशिला गफहरू । साथमा हाँसोका बेजोड फोहरा । यो पनि एक योगा हो । गर्नुपर्छ । सबैले गर्छन् । फलस्वरूप कुनै रोग नै लाग्दैन र अस्पतालमा तारेख धाउनु पर्दैन ।

... ...
रातको एघार बज्यो । 
कालो आकाशमा ताराहरू चम्किए । झ्याउँकिरीहरूको आवाज तिब्र हुन थाल्यो । बतासले आफ्नो शितलताको आयतन बढायो । छेउमा ट्वारट्वार भ्यागुत्ताहरू कराइरहे पनि आज वर्षाको कुनै संभावना देखिएन । नत्र हिजो र अस्ति यता चुल्हो भिजाउने गरी पानी परेको थियो र किसानहरू औधि खुशी भए । पाक्नै लागेका आँपहरू झरेर त खास्सै केही भएन, धान लगाउन पानीले अत्यधिक सुविधा दियो वा दिइरहेको छ ।   

‘अब फर्किउँ ।’ कसैले भन्यो । 

‘अब किन फर्किने ? यतै रात बिताउँ ।’ थप कुरा यस्तो आयो । 

‘रातभरी के गर्ने ?’ प्रश्न उब्जियो ।

‘भ्यागुत्ता पोलेर खाने !’ मेरो मुखबाट फुत्कियो ।

‘भ्यागुत्ता पोलेर खाने कुरा मलाई अलिक जँचेन ।’ विष्णुले नाक खुम्च्याए ।

मैले स्पष्ट पार्दै भनेँ, ‘माछा त यहाँ जताततै पाइन्छ । अनि यसलाई छ्याप्छ्याप्ती खाइन्छ पनि । खासमा माछा खानु उचित हुँदैन । किनभने, माछा र मान्छे उस्तैउस्तै सुनिन्छ । कतै न कतै यो हाम्रो गोत्रया दाजुभाइ जस्तो पनि लाग्छ । त्यसैले भ्यागुत्ता खानुपर्छ । यो जन्तुसँग हाम्रो गोरु बेचेको साइनो पनि छैन । अर्कातिर गाउँनगरमा आजकल कुख्यात बन्दै गइरहेको र नेपालमा गैह्रकानुनी ‘बिफ सेकुवा’को खपत पनि यसले ह्वात्तै घटाइदिन्छ !’ 

... ...
नभन्दै टर्च बोकेर मध्यरातमा हामी भ्यागुत्ताको सिकार गर्न निस्कियौं । अनुभवी साथीहरूले माछाखाडीको डिल कोट्याएपछि केही पाहा भ्यागुत्ता फेला पारिहाले । 
ओहो ! भ्यागुत्ताको सिकार गर्नु माछा मार्नुभन्दा धेरै सरल रहेछ ।

‘भ्यागुत्ता त यहाँ पालेरै राखे जस्तो छ ।’ मैले लख् काटेँ । 

सबैले होइन भने । तर क्याफे सञ्चालक तामांग भाइ हल्का मुस्कुरायो ।

जीवनले भन्यो, ‘पारखीहरू भएको खण्डमा यहाँ के नै असम्भव छ र ?’
 
यसै पनि माछा पाल्नु भन्दा भ्यागुत्ता पाल्नुमा सरलता र ज्यादा बुद्धिमानी देखिन्छ । अनि यसमा भिटामिन पनि प्रशस्तै । जस्तो कि भ्यागुत्ताको तिघ्रामा ‘ओमेगा ३’ प्रशस्त मात्रामा पाइन्छ । साथै यसमा ‘फ्याटी एसिड’, ‘पोटासियम’ र ‘भिटामिन ए’ पनि मनग्ये हुन्छ । भ्यागुत्ताको मासुमा माछा र कुखुरा मिसाएजस्तो स्वाद हुन्छ ।

त्यसैले यसलाई धेरैतिर ‘पानीचरो’ वा ‘समुद्री कुखुरो’ पनि भनिन्छ । यसको मासु निकै नरम पनि हुन्छ । कुखुराको मासुको तुलनामा यसमा अत्यधिक प्रोटिन हुन्छ र बोसो न्यून । निश्चय नै पारखीहरूले जुनसुकै जातको कुखुरा भन्दा भ्यागुत्ताको मासुलाई नै बढी मनपराएको देखिन्छ । उता अनुसन्धानले पनि कुखुरो र अन्य बोसोजन्य मासुभन्दा भ्यागुत्तोलाई नै उत्तम ठहर्याएको छ । यहाँसम्म कि यो माछोभन्दा पनि उत्तम मानिएको छ । 

पेरु देशमा भ्यागुत्ताको मासुको जुस निकै लोकप्रिय छ । त्यहाँ यो जुसलाई ‘भियाग्रा’ नै मानिन्छ अर्थात् भ्यागुत्ताको मासुको जुसले यौन दुर्बलता र नपुंशकता ठिक गरेर यौन तथा प्रजनन शक्ति बढाउँछ । राजधानी लिमा पुग्नेहरू त्यहाँको प्रख्यात ‘एक्स्ट्रयाक्टो-डे-रना’ अर्थात् भ्यागुत्ताको मासुको जुस नचाखिकन फर्किंदैनन् । त्यहाँको सरकारले नै भ्यागुत्ताको जुस लगायत अन्य परिकार बनाउने कार्यमा प्रोत्साहन गर्दछ । 

बैज्ञानिक रिसर्च अनुसार सागसब्जीसँग भ्यागुत्ताको मासु पकाएर खाँदा मुटु र रक्तसञ्चारका रोगहरू ठिक हुनुका साथै यसको मासुको उचित सेवनले डायबिटिज, क्यान्सर र अस्थमा जस्ता रोगहरू ठिक गर्दछ । भ्यागुत्ताको मासु स्वयम् ‘एन्टिबायोटिक’ भएकाले घाउ चाँडै ठिक हुने र ‘इम्युनिटी’ बढाउन पनि यसले मद्दत गर्दछ । कैयौं देशमा यसको मासु अत्यधिक लोकप्रिय छ ।

‘नेपाल र भारतमा अत्यधिक उपेक्षित ‘स्वर्ण जन्तु’ भ्यागुत्ताको महिमा अझै गुगल गरौं ?’ मैले साथीहरूलाई सोधेँ ।
पारखीको जवाफ आयो, ‘थ्योरी यति नै काफि छ । अब गरौं, प्राक्टिकल !’  

केहीबेर तातोपानीमा डुबाएपछि भटाभट भ्यागुत्ताका छाला काढिए । अनि टुक्रा गरेपछि सिलमा उनिए । वास्तविक स्वाद लिनका खातिर हामीले मासुलाई नुनखोर्सानी वा मरमसलासँग मोलेनौं । भुंग्रो तयार थियो । हल्का धुँवा छाड्दै भ्यागुत्ताको मासु पाक्न थाल्यो । वातावरणमा अलिक फरक स्वादको मासु डढ्न थालेको सुवास फैलियो । केही साथीले नाक खुम्च्याए । केहीले भ्यागुत्ताको सेकुवासँग खानका लागि गोर्खा बियरको सितन मगाए । 

माहौल बल्ल पो तात्न थाल्यो ।
केही साथीले स्वाद मानीमानी ‘फ्रग सेकुवा’ खाए । कोही भने छेउछाउमा बस्न समेत सकेनन् । केही साथीले यो उभयचर खाएको कुरा गोप्य राख्ने सल्लाह गरे । 

मैले रहस्यमय मुस्कान झिकेर भनेँ, ‘माछाको सट्टा भ्यागुत्ता पाल्ने मेरो योजना पुरानै हो । त्यसैले नेपालमा यो चखिलो, पोषिलो र औषधीय गुणले भरपूर जन्तुको मासु प्रमोट गर्न मचाहिँ जसरी पनि एउटा लेख लेख्नेछु । माछो-माछो भ्यागुत्तो !’

... ...
नितमले घडी हेर्‍यो, भोरको अढाइ बजेको थियो । लामो सास तान्दै उसले भन्यो, ‘अब जाने होइन ?’

‘कहाँ ?’ जीवनको छोटो प्रश्न ।

‘घर !’ नितमको छोटो जवाफ ।

‘घरहरू सबै मस्त निद्रामा छन् । बरु अब पोखरीमा जाल हान्‍नुपर्छ र बिहान हुन्जेलसम्म स्टिम फिसको मजा लिनुपर्छ । आखिर हामी जे उद्देश्यले यहाँ आएका थियौं, त्यो पूरा नगरी कसरी जाने ?’ जीवनले लक्ष्यभेदनको तीर फ्याँक्यो । 

माछा मन नपरे पनि मलाई उसको कुरा औधि मन पर्यो । सानातिना लक्ष्य पूरा गर्ने आदत भएकाहरूले नै ठूला लक्ष्य चुम्न सक्छन् । सिद्रा माछा मार्न जान्‍नेले एकदिन सार्क पनि मार्ने छ ।

उनीहरू जाल झिक्न थालेँ । नभन्दै साथीहरूले बिहान ५ बजेसम्ममा ‘स्टिम फिस’ खाइभ्याए । अनि हामी चिउरामील फर्कियौं । घाम उदाउने तरखरमा थियो । एकएक कप ‘लेमन टि’ले आँत भिजाएर हामी सबैजना आआफ्नो घर फर्कियौं ।

ठानेँ, कुनै संकल्प लिइसकेपछि त्यसलाई जसरी पनि पूरा गर्नुपर्छ । चाहे संकल्प माछा खाने होस् या भ्यागुत्ता !

खतिवडाका अन्य लेखहरू


Author

थप समाचार
ad
x