सप्ताहन्त

संस्मरण र अनुभूति

सृजनाको उन्मुक्त अभिव्यक्ति

वसन्त लोहनी |
जेठ १४, २०७९ शनिवार ६:५२ बजे

सन् ४० को दशक । नेपालमा सिभिल इन्जिनियरिङले छलाङ लगाएको दशक । यसको सबै पक्षहरूमध्ये केही पञ्जीकृत भएका होलान् । तर धेरै भएका छैनन् । अभिलेखन अपूरो होला । या अझ भनौँ सिलसिलाबद्ध अभिलेखन त सुरु नै भएको छैन । तर निर्णायक दशक हो यो नेपालको । यो अवधिमा नै आधुनिक सिभिल इन्जिनियरिङको सुरुवात मात्र होइन साहसिलो प्रयोगहरू पनि भएका छन् । त्यो परिवेश र ती अवरोधहरूबीचमा । यो जगमा नै नेपालको विकास भएको हो । आजको विन्दुमा हामी आउन सकेका हौ । यो ऐतिहासिक यथार्थ हो, अभिलेखन भएको होस् या नहोस् ।

यो अवधिमा नेपालमा औपचारिक रूपबाट इन्जिनियरिङ शिक्षा सुरु भयो, नयाँ प्रविधिको । त्यो भनेको आधुनिक सिमेन्ट ढलान युग । ब्रिटिस इन्डियामा पनि यो भर्खरै जस्तो आएको थियो । नेपालले पनि सिमेन्ट ढलान युगमा प्रवेश गर्यो । त्यति बेलाको परिवेशलाई हेर्दा यो प्रवेश निकै चाँडो भएको हो । यसरी नै सिमेन्ट ढलान गरेको कार्यालय भवन बन्यो । दर्जनौँ आवासीय घरहरू बने । औद्योगिक भवनको निर्माण भयो । त्यति बेलाको समयको हेक्का राख्दा कल्पना नै गर्न नसकिने सिमेन्ट ढलान प्रविधिको प्रयोग गरेर सिनेमा हलको निर्माण भयो, जसको उद्घाटन राजा महेन्द्रले गरेका थिए । श्री ३ पद्म शमशेरको समयमा राजा त्रिभुवनका लागि यो प्रविधि प्रयोग गरेर नारायणहिटीभित्र नयाँ बन्ने दरबारको नक्सा पनि तयार भयो । सिमेन्ट ढलानको सडक बन्यो । र, यसै गरी वाटर फिल्टरेसन अर्थात् खानेपानी प्रशोधनको काम थालिएको थियो ।


त्यति बेलाको नेपाल भनेकै काठमाडौँमा अटाएको हुँदा यी सबै कार्यहरू स्वभावतः काठमाडौँ भित्रै नै गरिए । र, यी सबै कार्यहरू वेदप्रसाद लोहनीले नै गरेका थिए । इन्जिनियरिङ स्कूलको स्थापनामा कुलरत्न तुलाधर सह संस्थापक भएको बाहेक । त्यसैले यो दशक नेपालमा सिभिल इन्जिनियरिङको जागरणको दशकको थियो । वेदप्रसादको दशक थियो । हामी छलफलमा छौँ बहुआयामिक व्यक्तित्व भएका वेदप्रसाद लोहनीको ‘प्राविधिकका रूपमा वेदप्रसाद’अन्तर्गत । यस अन्तर्गतको आजको यो छलफल नेपालको वाटर फिल्टरेसन अर्थात् खानेपानी प्रशोधनसँग सम्बन्धित भएर अगाडि बढ्नेछ । यसको लागि पहिले अलिकति ऐतिहासिक परिप्रेक्ष्यबाट हेरेर अहिलेको समग्रता ठम्याएमा त्यो कामको मर्म अझ राम्ररी बुझिनेछ ।

प्रकृतिले उन्मुक्त अभिव्यक्ति दिएकी ठाउँ हो काठमाडौँ । र, यो अभिव्यक्तिको उत्कृष्ट स्वरूप बनेको कारण यहाँका मन्दिरहरू हुन् जुन त्यो अभिव्यक्तिमा संयोजित हुन सके । मन्दिरहरूको सहर हो काठमाडौँ । पवित्र मन्दिरहरू जसले हिन्दू र बुद्ध धर्मलाई यसरी मजबुतसँग जोडेको छ जसरी हाम्रो प्रत्येक सासमा चाहिने अक्सिजन बन्न यसका मलिक्युल अर्थात् कणहरू एक आपसमा मजबुतसँग जोडिएका छन् । कसले जोड्यो यसरी प्रकृति र मन्दिरलाई ? यसको उत्तर हो हाम्रो पुर्खाहरूले । हामी आफूलाई बुद्धिमान ठान्छौँ । तर हाम्रा पुर्खाहरू हामी भन्दा धेरै बुद्धिमान् थिए । त्यसैले त यो सम्भव भयो । उनीहरूले हिफाजत गरे अनि परिष्कृत गरे इन्डोजिनस नलेज अर्थात् परापूर्व कालदेखि हस्तान्तरित आफ्नो आवश्यकता अनुसारको आफ्नो माटोको मौलिक ज्ञानलाई ।

हेरौँ जताततै नेपालमा । प्रत्येक कुदिएका डाँडाहरूले त्यो ज्ञान प्रदत्त बाच्ने सङ्घर्षको इतिहास बोकेको छ । डाँडामा घर–छाप्रो हाले । फाँट बचाए खेतीगर्न । खेती गर्ने औजार आफँै बनाए । वस्तु पाले । मल उपयोग गरे । जङ्गल बचाए । पर्यावरणको हेक्का राखे । बादलपारिको देश जस्तो कता हो कता बाच्नु पर्ने तिनीहरूले क्रमबद्ध बनेर हिमालसम्म फैलिएका पहाडमा हिस्सा हिस्साको समूह बनेर बसे एक अर्काको भर गरेर । यसरी नै बन्यो बलियो सामुदायिक भावना । पानीको मुहान सुरक्षित राखे, फोहर गरेनन्, खाने पानीको लागि । औषधिमुलो गर्ने ज्ञान सँगाले । समग्रमा आफ्नै तागतमा बाच्नु पर्दछ भन्ने विश्वास र उमेद लिएर बाचेका थिए । अभाव, अप्ठेरो भूगोल, अलग्गिएको समूह र बाँच्ने अनिवार्यताले सिकाएको थियो यो सब । 

अहिलेको नेपालमा न त्यो ज्ञान नयाँ प्रविधिसँग मिसिएर सुरक्षित रहन सक्यो । न आफ्नो तागतमा आफै बाच्ने हो त्यो अठोट नै जीवित रहन सक्यो । आफ्नो निर्णय आफै गर्न सक्ने मुलुक भएर बाच्ने सर्त नै आफ्नो तागतको अभिवृद्धि गर्न सक्नुमा छ । विदेशी ऋण लिने एउटै मात्र आधार या औचित्य त्यो तागतलाई झन् मजबुत गर्नका लागि हो । अर्काले दिएको दान दातव्य खाएर झन् भिखारी बन्नका लागि होइन । यस्तो ऋण र भीक पनि राजनीतिक ठालुले लुटेर खाएका छन् । श्री लङ्काको हालको आर्थिक सङ्कट नै यही हो । व्याज तिरेर लिएको ऋण नै ठालुहरूले लुटेर खादा राष्ट्रको तागत झन् घट्दै गयो । अर्थात्, त्यो ऋणले आम्दानी बढाएन । उल्टो ब्याजसम्म पनि तिर्न नसक्ने स्थिति भयो । मुलुकले नै घोषणा गर्नु पर्यो टाट पल्टेको कुरा । 

नेपालको यही हालत हुँदै छ । एउटा फरकले मात्र त्यो सङ्कट टड्कारो नदेखिएको । श्री लङ्का धानिएको पर्यटनबाट, नेपाल रेमिटेन्सबाट, अर्थात् तन्नेरी ज्यान विदेशिनु परेर । विदेशी पर्यटकलाई श्रीलङ्का नै जानैपर्ने बाध्यता त छैन । कोभिडले त रोकिनै दियो । गरिबभन्दा गरिब नेपालीहरूलाई विदेशिनुपर्ने बाध्यता छ । जति बाँच्न कठिन भएको छ आफ्नो मुलुकमा त्यति विदेश जान बाध्य हुँदै गएका छन्, विकास र समृद्धिको भाषण सुनेर । तिनले आफ्नो घर परिवारलाई बचाएर राख्न विदेशबाट रगत पसिना गरेर रकम पठाउनैपर्ने हुन्छ । यसले गर्दा हाम्रा ठालुहरूले आरामसँग दान, दातव्य लुटेर खादा पनि ब्याज तिर्ने विदेशी मुद्रा देशमा उपलब्ध छ । जनजीविका रूपान्तरण भएको कारण मुलुकले कमाएर होइन । अनि त भएभरको सुख सुविधा लिएर मोजसँग अग्रगमनको छलाङ र समाजवादको भाषण छाँटेर शासकहरू रजाइँ गरिरहेका छन्, हामीलाई कजाइ रहेका छन् । 

राजनीतिक ठालु मात्र होइन कर्मचारीसम्म पनि सडक पारिगर्दा पनि ट्याक्सी खर्च दुई हजार रुपैयाँ लेखेर खान्छन् जसरी बहादुर भवनको निर्वाचन आयोगबाट सडक पारी होटेल येलोपगोडामा भएको निर्वाचनसम्बन्धी छलफलमा भाग लिन जाँदा खाएका छन् । त्यस्तै निर्वाचनका लागि विदेशीले दान दिएको कम्प्युटरहरू किनेको झुटो बिल बनाएर हाकिमहरूले खाएका छन् । भ्यु टावरबाट खाएका छन् । सानो खोल्सोको गोरेटो पुल दुई करोड लेखेर खाएका छन् । मुहान नै फोहोर भएपछि सर्वत्र फोहोर हुने नै भयो । राज्य सञ्चालनको यथार्थ यो नै हो । परिणति हो मुलुक अहिले बरबाद भएको छ । यही कारण हो मान्छेहरू हिजोको गोल्डन एज अर्थात् स्वर्ण युगको चर्चा गर्दछन् । 

यहाँनिर हो मानिसहरू मल्ल कालको अझै चर्चा गर्छन् ‘गोल्डन एज’ भनेर । त्यो प्रकृति र मन्दिरको संयोजनबाट निस्केको अभिव्यक्तिको कारणले । यो हुन सकेको मुख्य कारण पानीको सदुपयोग र व्यवस्थापन गर्न सकेकाले हो । जनताले सफा पानी पिउन पाएका थिए । हुन त लिच्छवि कालमा नै पानीको उपयोग र व्यवस्थापन गर्ने आफ्नै मौलिक ज्ञान भएको आधारहरूको चर्चा गरिन्छ । मानदेवको पालाको ढुङ्गेधारा र सातौँ शताब्दीमा राजा अंशुवर्माको सात तले दिव्य कैलाशकूट दरबारमा पानीको फोहोराको वर्णनलाई यसको आधारको रूपमा लिन सकिन्छ । तर मल्लकालका पानीको सदुपयोग एकदम बुद्धिमत्तापूर्वक भएको थियो।

खानेपानीका लागि ढुङ्गेधारा, सिँचाइको लागि नहर र राजकुलो र वर्षामा परेको पानी संकलन गर्न पोखरीहरूको व्यवस्था गरिएको थियो । हाम्रो पञ्चतत्वमध्येको एक तत्त्व भएको जलको मुहान भनेकै नाग देवताको ठाउँ हो भन्ने भावले जल धर्म र आध्यात्मिक उन्नयनसँग जोडिएको थियो । ढुङ्गेधाराहरूमा देवताको मूर्ति पनि राखिन्थ्यो । त्यसैले जलको उपयोग र संरक्षणसँग मान्छेको विशिष्ट भाव आबद्ध थियो । यो भाव बाँचेको हुँदा राणाकालमा पनि यो व्यवस्था संरक्षित थियो । त्यो जल उपयोगको मौलिक सामुदायिक ज्ञानलाई र सोअन्तर्गत बनेको व्यवस्थापन विधिलाई भताभुङ्ग पारिएपछिका अवशेषहरू अझै प्रत्यक्ष नै देख्न सकिन्छन् ।

पानी नआउने ढुङ्गे धाराहरू या सुन्धारा काठमाडौँमा जताततै छन् । र, त्यस्तै भटाभट पुरेर प्लटिङ गरिएर बेचिएका राजकुलोहरू काठमाडौँ भरिभरि छन् । ढुङ्गेधारा, जसलाई हिटी पनि भनिन्थ्यो मल्ल कालमा, त्यसबाट यसै पानी आएको थिएन । सोच र सीपले आएको थियो । आफ्नो मौलिक ज्ञान र स्थानीय उपलब्ध वस्तुहरू भरपुर प्रयोग भएको थियो । त्यस्तै, काठमाडौँ धान र तरकारी त्यसै फलेका थिएनन् । सोच र पानीको सही र प्रभावकारी उपयोग गर्न सकेर नै यी फाँटहरू अन्नको भण्डार बनेका थिए । उपत्यकाभित्र बहने नदीहरूको पानीबाट राजकुलो निकालिएको थियो । त्यसको किनारा मिच्न नपाउन र निर्बाध बहनको लागि मलुकी सवाल, सनद र आदेश बनेका थिए ।

मैले आफ्नै आँखाले देखेको थिएँ यस्ता राजकुलोहरू । चङ्गा उडाउन मैतीदेवी फाँटमा जाँदा मन्दिरको छेउबाट बहेको मेरो घाटीसम्म पानी आउने गहिरो राजकुलो । त्यस्तै कुष्माण्ड अर्थात् कुभिन्डो दान गर्ने नवमीको दिन चङ्गा उडाउन बुढानीलकण्ठ हिँडेर जाँदा सारा फाँटमा धान काटेर बनेका कुन्यूहरू देखिन्थे । बाटोमा किनारामा यस्तो कुलो र त्यो कुलोबाट घुमेका पानी घट्टहरू देख्थे म । राजकुलोहरूको मर्मत, संहार र संरक्षण गर्न गुठीहरू राखिएका थिए । र, यस्ता मर्मत र संरक्षण कार्यहरू पर्व र जात्राहरूसँग जोडिएका हुन्थे । पछि सरकारले संरक्षण गर्नेहरूबाट जमिन खोस्यो । जमिन मासिँदै गए । शासन गर्ने ठालुहरूले ती सरकारी जमिन मास्ने वा लिजमा दिएर कमिसन खाने काम गरे । हालसालको एक मात्र घटना लिने हो भने नेपाल ट्रस्टमा आएको राजा वीरेन्द्रको सम्पत्ति ऐन नै बदलेर कौडीको भाउमा मिलेमतो गरेर लिजमा दिएर खाएका छन्।

प्रधानमन्त्री निवासको कम्पाउन्ड वाल नै भत्काएर त्यसभित्रको जग्गा बाहिर पारेर पर्खाल लगाइदिएर जग्गा खाने कुरो सन्सारमा कही हुन सक्छ? किमार्थ हुन सक्तैन । तर हाम्रो प्रधानमन्त्री निवास बालुवाटारमा त ठीक यही नै भयो । त्यो जमिन नक्कली मोही खडा गरेर बेचेर नै खाए, प्रधानमन्त्री कै संलग्नतामा । हालैको अर्को घटना हेरौँ । ८ हजार गुठी जग्गा हड्पेर खाएको आयोगको प्रतिवेदन सरकार हेर्न पनि चाहँदैन । आखिर किन ? अझ प्रश्न उठेको छ– सरकार चलाउनेहरूको काम राम्रो स्थिति बसाल्न कि बेथिति गरेर सरकारी जग्गा लुटपाट गर्न ?

यस्तै बेथितिले गर्दा संरक्षण गर्ने जुन गुठीको व्यवस्था थियो त्यो खत्तम भयो । सरकारले गुठियारहरूलाई नै हटाइदिएपछि उनीहरूले चासो लिने कुरो भएन । सरकार चलाउनेहरूको ध्यान त्यो गुठी जग्गाको हेरचाह गर्ने होइन, त्यसबाट कसरी कमाउने भन्नेमा केन्द्रित भयो । जग्गा हडप्न लगाएर हुन्छ कि कौंडीको भाउमा लिजमा दिएर । यो दुर्गतिले गर्दा तिनलाई हटाए पछि पानीको मुहान पुरिए, जलाधार सूक्तै र खुम्चिँदै गएका छन् । पानीको स्रोत हराए । राजकुलोहरू बेपत्ता पारिए । ढुङ्गेधाराहरू पानी नआउने भएका छन् । प्रकृति र मन्दिर समागम भएर बनेको सुन्दर सहर यो काठमाडौँ कंक्रिट जङ्गलमा रूपान्तरण गरिएको छ ।

यसरी प्रकृति निसास्सिएकी छन् । सहर विरूप भएको छ । जीवन्त सहर संवेदनशीलता हराएर कहालीलाग्दो किसिमले फैलिँदै गइरहेको छ । ठालुहरू यसबाट तेल निकालेको जस्तो गरेर कमाइ निकालिरहेका छन् जसरी मेलम्चीको पानीबाट निकालिरहेका छन् । ६ वर्षभित्र सकिनुपर्ने राष्ट्रिय गौरवको परियोजना २४ वर्षमा पनि सकिएको छैन । ३५ अर्ब रुपैयाँ सकिसके । ऋणमाथिको ऋणबाट कति खाए कति ? शेरबहादुर देउवा नै मुछिएकाले मुद्दा चलेको थियो । तर अदालत त्यसको तथ्यतिर जानै चाहेन । अर्थात्, मुद्दामा प्रवेश नै गरेन । प्राविधिक कारण देखाएर खारेज गरिदियो, गैर संवैधानिक भनेर । एकाउन्टेबिलिटी कही कसैको छैन अहिलेको नेपालमा । स्वर्ण राज्य बनेको या बन्ने नीति तथा कार्यक्रम मात्र राष्ट्रपतिलाई वाचन गर्न लगाएर कर्मकाण्ड पूरा गरेर मात्र त भएन ? 

यो छोटो ऐतिहासिक अवलोकनपछि अब हेरौँ नेपालमा पाइपबाट खानेपानी वितरणको सुरुवात र समयको अन्तरालमा त्यसरी वितरण हुने खानेपानी फिल्टरेसन अर्थात् प्रशोधन गर्ने काममा वेदप्रसाद कसरी संलग्न हुन पुगे । र, यो संलग्नतममा परम्परागत ज्ञानलाई आफूले पढेको र अनुभव गरेको ज्ञानसँग आबद्ध गरेर कसरी त्यति ठूलो काम गरे । पहिले पाइपबाट वितरण खानेपानीबाट सुरु गरौँ । यो समय हो सन् १८९० को जब श्री ३ वीरले नेपालको पहिलो पाइपबाट वितरण गरिने खानेपानी आयोजनाको शिलान्यास गरे । 

ब्रिटिस इन्डियाको राजधानी कलकत्ताबाट खटिएका ब्रिटिस इन्जिनियरले यसको नाप नक्सा गरेका थिए । शिवपुरीबाट महाराजगन्जको पानी पोखरीमा पानी जम्मा गरी वितरण गर्ने योजना बनाएका थिए । बेलायतको ग्लस्कोबाट पाइप मगाएर निर्माण कार्य सन् १८९२ बाट सुरु भएर सन् १८९४ सकिएको थियो । यसरी काठमाडौँको राणा दरबारहरूमा पाइपबाट पानी पुग्यो भने सहरको विभिन्न टोलमा सार्वजनिक धाराहरू वीर–धाराको नाममा जडान भए । यसै गरी ३६ वर्षपछि भीम शमशेरले पनि खानेपानी विस्तार गरे नागार्जुनबाट पानी ल्याएर बालाजुमा जम्मा गरी वितरण गरेर । यसलाई ‘त्रि–भीम धारा’ भनिन्थ्यो । 

पाइपबाट पानी वितरण भएपछि प्रत्येक वर्ष हुने हैजा हरायो । ‘वीर धारको पानीले हैजा भगाउँछ’ भन्ने जन बोली बनेको काठमाडौँलाई फेरि हैजा र दूषित पानी प्रदत्त रोगले आक्रान्त पार्दै लग्यो । पानी प्रशोधन गर्नुपर्ने अनिवार्यता झन् टड्कारो हुँदै गयो । भीम शमशेर तीन वर्ष मात्र सत्तामा रहे । समयको यो अन्तरालमा पद्म शमशेरको पालामा वेदप्रसाद खाने पानीसँग जोडिन पुगे । खानेपानी प्रशोधन गर्न । यो पनि एउटा संयोग हो । र, नियति पनि । जुन काम त्यति बेलाको पानीअड्डाले गर्नुपर्ने थियो त्यो काम त्यसले गर्न नसकेर अलमलाई राखेको कारणले गर्दा अब वेदप्रसादले गर्नुपर्ने भयो । यो नेपालको पहिलो पानी प्रशोधनको काम थियो । जे पनि गर्न सकिन्छ लगन, सीप र सोच समझ भएपछि विश्वास थियो उनको । यो कुरामा दृढ भएका वेदप्रसाद सिभिल इन्जिनियरिङको हरेक फाँटको प्रयोग गर्ने आँट राख्थे । 

नियतिले यो काममा पनि उनैको नाम लेखिदियो जसरी सिमेन्ट ढलान युगमा नेपाललाई लैजानेमा होस् या इन्जिनियरिङ पढ्ने विद्यार्थीका लागि नेपालीमा पहिलो ज्यामितिको किताप लेख्ने काम तोकिदिएको थियो । यसरी नै उनी ‘र्यापिड ग्राभिटी मेथड’बाट पानी प्रशोधन गर्ने पनि पहिलो नेपाली बने । र, काठमाडौँ बासीले पहिलो पटक प्रशोधित पानी पिउन पाए । यो कामका लागि पनि उनी त्यसरी नै खटिएका थिए जसरी सरस्वती सदन बनाउँदा खटिएका थिए । मेरी आमाले भनेअनुसार वेदप्रसाद एक गाँस टिपेर बालाजु गइहाल्थे । यसका लागि उनको बाजे पद्मनाभको त्यो ज्ञानेश्वरस्थित थुम्कोको घर, जसलाई पछिसम्म पनि ‘लोहनी कुटी’ भनिन्थ्यो, त्यहाँ सरकारी घोडा आइपुग्थ्यो । सानैदेखि बाजेको घोडा चढेर हुर्केका वेदप्रसाद सहज ढङ्गबाट दौडाएर हिँडिहाल्थे उनको लक्ष चिन्तनतर्फ ।

नेपालमा खाने पानी प्रशोधन गर्ने पहिलो नेपाली वेदप्रसाद लोहनी हुन् । तर यो कुरा अभिलेखन गरिएको देखिएको छैन । पुराना मानिसहरू हुने कुरा भएन । नयाँलाई आधा काँचो कुरा मात्र थाहा छ । मैले यस विषयमा खानेपानीको केही इन्जिनियरहरूसँग पनि कुराकानी गरे । तर अलमलका कुराहरू मात्र सुने । मूलतः ‘इन्स्टिट्युसनल मेमोरी’ अर्थात् संस्थागत सम्झनाको प्रणाली नै छैन नेपालमा कतै पनि । त्यसले गर्दा चल्नु हो चलिरहेको जस्तो अवस्था छ । वाटर फिलटरेसन अर्थात् खाने पानी प्रशोधन पहिलो पल्ट नेपालमा सफलतापूर्वक सम्पन्न गरेका वेदप्रसादले जे भनेका थिए यसबारेमा त्यो जस्ताको तस्तै यहाँ प्रस्तुत गरेको छु ।

‘म कुनै इन्जिनियरिङ अड्डामा बसेको छैन । कसैको अन्डरमा पनि बसेको छैन । पद्म शमशेरको टाइममा सुब्बा दिए । त्यति बेला ठूलै पद मानिन्थ्यो, इज्जतको । सुब्बा बाजे भन्थे । फिल्टरेसनको काम मोहन शमशेरको टाइममा हो । नेपाल राज्यको पानीको फिल्टरेसन मैले गरेको हुँ । त्यो काम कसैले सोच्नै सक्तैन थियो त्यति बेला । फिल्टर नभएर मान्छे रोगले मर्न थाले । तर यहाँ फिल्टर गर्ने मान्छे भएन कोही । त्रि–भीम धारा बालाजुमाथि डाँडामा पोखरी बनाएर सप्लाई गरेको । यता महाराजगन्ज ट्याङ्की बनाएर वीर धारा आएको छ । बोलावट मलाई नै भयो । हिम्मत भएको मान्छे म । मैले गर्दछु भनिहाले । गर्न पनि थालिहाले । त्यो गर्न थाल्दा झर झमेला आए । रोकावट नै मात्रै । सहयोगको त कुरै छैन । लौ काम देखाउने भयो, यसले त सिद्ध्याउने भयो भन्ने भएछ पानी अड्डाको हाकिम कर्णेल शिवबहादुर बस्नेतलाई । उनले आफूले गर्न नसक्ने यो काम । मैले गरेकामा उनलाई रिस लाग्यो । एक दिन मोहन शमशेरलाई लेखेर दिएछन् उनले– सरकारले फिल्टर गराउने, झन् सरकारको दरबारमा नै फिल्टर पानी जाँदै जाँदैन । साइट सिलेक्सन गरेको मिलेन, यो मिलेन, त्यो मिलेन भनेर, लेखेछन् ।’

वेदप्रसादले यसबारे थप भने ः ‘त्यो बखतमा राजकाज अलि अर्कै चलेको हुनाले महाराजाधिराजलाई सिंहदरबारमा हाजिर गराइएको थियो । सात दिनमा राजा एकपटक त्यहाँ सवारी हुन्थ्यो । प्रधानमन्त्री मोहन शमशेरले असर्फी राखेर लिएर जान्थे र बसउठ गर्थे । त्यस्तै एक दिनमा नरबहादुर, शिवबहादुर र वेदप्रसादलाई बस्नु भन्ने हुकुम भएको छ भन्ने हामीलाई खबर आयो । नरबहादुर जुद्ध शमशेरको हजुरिया कर्णेल इन्द्रबहादुरको छोरा थिए । अब केही दिन लागे कि भन्ठाने । चाकडियाहरू सब थिए । महाराजाधिराज पनि सवारी भएको थियो । माथिको हलमा महाराजाधिराज, चार कमान्डिङ जनरल, प्राइम मिनिस्टर, कमान्डर इन चिफ, जङ्गी लाठ बसेको ठाउँमा केही दिन लागेको भनेको त झन् त्यहाँ त अपराधी जस्तो गरेर पो उभ्याइयो ।’

भन्दै गए वेदप्रसाद, ‘शिवबहादुरको निवेदन पो देखापर्यो । मोहन शमशेरले भने– मलाई लेखेर दिएर मात्र के गर्ने ? तिमी वेदप्रसादसँग छलफल गरेर आऊ न । उनले गरिरहेको कुरा छ । त्यसपछि केशर शमशेरले निवेदनमा लेखिएबमोजिमको कुरा म सोध्दै जान्छु त्यसमा एक एक प्वाइन्टको जवाफ तिमीले दिनुपर्दछ भने मलाई । अनि सोध्न सुरु गरे । दाजुज्यूको दरबारमा फिल्टरको पानी जाँदैन भन्छन् यिनले, त्यो हो कि होइन ? त्यो होइन भने मैले । फिल्टर त मेथड हो । माथि गर्दा धेरै रोपनी जग्गा अरूको लिनुपर्दछ । महाराजको दरबारमा त भिन्नै व्यवस्था गरेका छौँ हामीले त । एक एक गर्दै सोध्दै गए । मैले जवाफ दिँदै गए । दस एघार प्वाइन्ट सोधेपछि दङ्ग भए ती सब जना । अनि भने शिवबहादुरलाई– हेर, यिनीले त राम्रै काम गरिरहेका छन् । तिमीले लेखेर पठाएका छौ, ठीक छ । पर्यो भने कहिले कही लेखेर पढाऊ । तर यिनले कुनै गल्ती गरेको त देखिएन । वेदप्रसादले रोकिएर भने– यसरी ज्यान बचाउनु परेको थियो मैले । त्यत्रो काम गरे । त्यो चानचुने काम थिएन । अहिले पनि गएर हेर्न सकिन्छ । दिनरात गएर काम गर्दा पनि झन् त्यस्तो भयो । मैले जस त जिन्दगीमा कहिले पाएकै छैन जति गरे पनि ।’

अन्त्यमा, वेदप्रसाद लोहनीबारेको आजको यो समेत १७ औ शृङ्खलामध्ये पहिलो खेप माघ २२, २०७८ मा छापिएको थियो । त्यसको शीर्षक थियो ‘वेदप्रसाद, जसले सरस्वती सदन ढड्याए’ । त्यसमा पाठक प्रतिक्रिया लेख्नुहुने एक महानुभावको यो धारणा जस्ताको तस्तै राखेको छु । चतुर्मासभरि देवघाट धाममा बस्ने वेदप्रसाद लोहनीको उमेर उनले भेट्दा ८२ वर्षको थियो । उनको नाम सुदर्शन भण्डारी हो, जो खानेपानी तथा ढल निकास विभागका पूर्व निर्देशक हुन् । 

‘पिताजीको बारेमा प्रस्तुति गर्न लाग्नुभएकोमा धेरै धेरै धन्यवाद वसन्त सर । पुल्चोक क्याम्पस पढेको नाताले सो क्याम्पस स्थापना गर्न कूलरत्न तुलाधर, वेदप्रसाद लोहनीज्यूहरूको अतुलनीय योगदान रहेको भन्ने थाहा थियो । २०५३/५४ सालतिर उहाँ देवघाटमा बस्नुभएको बेलामा देवघाटमा खानेपानी योजना सञ्चालन गर्नुपर्ने भएकाले हामी खानेपानीको ३ जना इन्जिनियरहरूले उहाँसँग भेटी सरसल्लाह गर्ने निधो गर्यौँ । करिब १.५ घण्टा जति छलफल गर्यौँ । बालाजुको खानेपानी प्रशोधन केन्द्र बनाउँदाको विस्तृत विवरण सुनाउनु भयो । सबैभन्दा चाखलाग्दो कुरो चाहिँ उहाँ त्यो समयमा त्यो उमेरको भए तापनि पानी प्रशोधनका प्रत्येक इकाइहरूको principle, in dept मा वर्णन गर्नुभयो । देवघाटमा खानेपानीको सुविधा पुराउँदा सोबाट निस्कने तरल फोहोरको समेत प्रशोधन गर्ने गरी डिजाइन गर्न सुझाव दिनुभएको थियो । फोहोर पानीको व्यवस्थापनमा ध्यान पुग्न नसक्नाले अहिले देशमा भएका सबै नदीनाला तालतलैया प्रदूषणको चपेटामा रहेका छन् । उहाँमा भएको दुरदृष्टि, विषयवस्तुको ज्ञान, हक्कीपन अझै पनि ताजा सम्झनामै रहेको छ । उहाँको बारेमा अझ धेरै जानकारी हुने नै छ भन्ने आशामै छु ।’

वेदप्रसादबारे वसन्तका लेख

- समानान्तर यात्रा- सिमेन्ट ढलान र फ्युजन प्रविधिको

गजबको मान्छे उहाँ, तपाईंको फादर

पौरखी सोचले सधाएका हातहरू

सरस्वती सदन कसरी बन्यो ?

ज्यामितिको पहिलो पुस्तक

साँघुरो मन, काँचो रोटी

शासक, शासकीय र शासनको स्वरूप

कडा अनुशासनभित्र ‘अराजक’ बनेर जे सिके

गुरुज्यूको चउरको फुटबल म्याच

वेदप्रसादको खोच्याउने घोडा

दोभानबाट निस्किएको अठोट

जङ्गबहादुरको काँधमा खेलेकी

संस्मरण र अनुभूति : टालिएका झ्यालहरू

‘सेल्फ मेड’ वेदप्रसादजी

नबाब, कबाब, सबाब र आदाबको सहरमा

वेदप्रसाद, जसले सरस्वती सदन ठड्याए


Author

थप समाचार
x