पर्यटन

आज २५६६ औं बुद्ध पूर्णिमा

लुम्बिनी सिंगारेर चिरिच्याट्ट [फाेटाे कथा]

विहारकाे शिलान्याश नेपाल र भारतका प्रधानमन्त्रीले गर्ने

विक्रम खड्का |
जेठ २, २०७९ सोमवार ७:४३ बजे

बुटवल । सोमबार (आज) २५६६ औं बुद्ध पूर्णिमा । बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष समारोहका बीच बुद्ध पूर्णिमा मनाईदैछ । त्यसका लागि आवश्यक सबै तयारी पूरा भएको छ । बुद्ध पूर्णिमाको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएकाले पनि यस वर्ष बुद्ध पूर्णिमा विशेष हुने भएको हो । त्यसका लागि विश्व शान्तिको मुहानमा रुपमा चिनिने लुम्बिनी सिंगारेर चिरिच्याट्ट पारिएको छ । त्यसै विशिष्ट पाहुनाहरुको समेत सहभागिता रहने भएकोले सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

लुम्बिनी विकास कोषले बुद्धपूर्णिमाका दिन सोमबार आइपुग्ने भारतीय प्रधानमन्त्रीको स्वागतका लागि आवश्यक सबैजसो तयारी पूरा भएको जानकारी दिएको छ । भौतिक संरचना निर्माण र सजावटका साथसाथै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र र मायादेवी मन्दिर सिगांर्ने काम पूरा भइसकेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए । लुम्बिनीमा बुद्धपूर्णिमाको कार्यक्रमकै तयारी र पाहुनाको स्वागतका लागि आइतबार नै पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आले तथा परराष्ट्रमन्त्री नारायण खड्का लगायत लुम्बिनी आईपुगेका छन् ।


यसअघि शनिबार नै गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनीको सुरक्षा व्यवस्था र आवश्यक तयारी निरीक्षण गर्दै कोषका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए । त्यसैगरी विभिन्न मुलुकका विशिष्ट अतिथिहरू पनि लुम्बिनी आइपुगेको कोषाध्यक्ष भट्टराईले बताए । ‘कूटनीतिक निकाय र नेपाल सरकारका उच्च अधिकारी आईतबार नै लुम्बिनी आईपुग्नु भएको छ ,उनले भने । भट्टराईका अनुसार काठमाडौंबाट आइतबार १ हजार १ सय भिक्षु र भिक्षुणी पनि लुम्बिनी आइपुगेका छन् । 
 

बुद्धपूर्णिमा मनाउन मायादेवी मन्दिरको भित्र र बाहिर रंगरोगन गरिएको छ । बाहिरी पुरातात्विक संरचनालाई फूलले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरभित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर चिटिक्क बनाइएको छ । बाटोघाटो सफा गरिएको छ भने विहारहरूलाई झिलिमिली बत्तीले ढाकिएको छ । पवित्र उद्यान क्षेत्रमा झिलिमिली बत्ती राखिएको छ । लुम्बिनी गुरुयोजनाको भैरहवा तौलिहवा सडक खण्डअन्तर्गत एक किलोमिटर कालोपत्रे बाटाका दुईतर्फ नेपाल, भारत र बौद्ध धर्मावलम्वीका झण्डा टांगिएको छ । भैरहवादेखि लुम्बिनीसम्मको सडक चोक चोकमा स्वागतद्वार निर्माण गरिएको छ। लुम्बिनीमा मोदी बुद्धपूर्णिमाको मूल समारोह, मायादेवी मन्दिर अवलोकन र भारतले निर्माण गर्ने विहारको शिलान्यासमा सहभागी हुनेछन् । उक्त विहारको प्रधानमन्त्री देउवा र मोदीले संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम छ । उक्त विहार एक अर्ब भारतीय रुपैयांमा ३ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ । 

सुरक्षामा नेपाल र भारतका सुरक्षाकर्मी

बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था उच्च राखिएको छ । मोदीको सुरक्षाका लागि ३० जना भारतीय सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) बुधबार नै लुम्बिनी आइसकेका छन् ।

भैरहवा, लुम्बिनी क्षेत्रमा यस अघिको तुलनामा दैनिक चेकजाँच बढाइएको छ । लुम्बिनी आएका भारतीय सुरक्षाकर्मीले दैनिक लुम्बिनीमा नेपाली र भारतीय सुरक्षाकर्मीको टोलीले संयुक्त गस्ती सुरु गरिरहेका छन् । फ्रन्टलाइनमा भारतीय सुरक्षाकर्मी, भित्री सुरक्षा सबै प्रहरी हेडक्वार्टरले हेरेको र बाहिरी सुरक्षा मात्र जिल्लालाई जिम्मा दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए । मोदीका लागि लुम्बिनीमा ४ वटा हेलिप्याड बनाइएको छ ।  भारतीय प्रधानमन्त्रीलाई ल्याउने भारतीय वायु सेनाका दुई एमआई १७ हेलिकोप्टरले हालै निर्माण गरिएका दुई हेलिप्याडमा शनिबार परीक्षण उडान गरेका छन् । भारतीय सुरक्षा अधिकारीले हेलिप्याड अवलोकन र सुरक्षात्मक अवस्था जाँचबुझ गर्दै प्राविधिक जानकारी समेत लिएका छन् ।

मोदीको पहिलो लुम्बिनी भ्रमण तालिका यस्तो छ 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ सोमबार बिहान ११ बजे लुम्बिनी आउने कार्यक्रम तय भएको छ । उनी दिल्लीबाट कुशीनगर झरेर त्यहांबाट हेलिकप्टर प्रयोग गरेर सोझै लुम्बिनी आउने छन् । मोदीको भारतीय प्रधानमन्त्रीको रूपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो । यद्यपि उनी लुम्बिनीमा पहिलोपटक आउंदैछन् । यसअघि सन् २०१४ मा पनि मोदी लुम्बिनी आउने कार्यक्रम थियो तर लुम्बिनी नआई मुस्ताङको मुक्तिनाथ पुगेर भारत फर्केका थिए ।

उनी प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणमा लुम्बिनी भ्रमणमा आउन लागेका हुन् । लुम्बिनीमा मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने छन् । त्यसपछि मोदीले मायादेवी मन्दिर दर्शन र भारतीय बुद्धिस्टहरूको संस्था इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले बनाउने बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । एक अर्ब भारतीय रुपैयामा तीन वर्षभित्र बौद्ध बिहार निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।

मायादेवी मन्दिरमा करिब ४० मिनेट विशेष पूजामा सहभागी हुने र त्यहां केहीबेर फोटो सेसन तथा अशोक स्तम्भ अगाडि दीप प्रज्जवलन गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जानकारी दिएको छ । त्यसपछि मोदी २५६६ औँ बुद्धजयन्ती मूल समारोहमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीलाई लुम्बिनीमा नै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । लुम्बिनीमा नै दुई देशका प्रधानमन्त्रीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका सबै आयामहरूमा छलफल हुने परराष्ट्रले जनाएको छ ।

भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्रले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीबाट सोही दिन स्वदेश फर्कने छन् । मोदी लुम्बिनीमा करिब ३ घण्टा रहने सुरक्षा स्रोतले जनाएको छ । लुम्बिनीमा भारतीय सुरक्षा निकाय र भारतीय पत्रकारहरु पनि आइपुगेका छन् । 


 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x