पर्यटन

कर्णालीको सुन्दरता

मनै लोभ्याउने बिजारे पाटन

कुहिरोमा लुकामारी खेल्दै रमाउँछन् पर्यटक

जितेन्द्र थापा |
पुस ९, २०७८ शुक्रबार ७:११ बजे

सुर्खेत-  वरिपरि हरियाली वातावरण, बीचैमा भकुण्डो आकारको मनै लोभ्याउने बिजारे ताल । मौसम सफा भएको दिन वरपरको वातावरणका मनमोहक दृश्य देख्‍न पाइन्छ । अझ क्षणभरमै हुस्सु र घामको रापले चौरसँग हुस्सु र सूर्यले लुकामारी खेल्न थाल्छ । जो कोहीको मन लोभ्याउँछ ।

गुन्यु चोलीमा सजिएकी युवती साँझ बिहान घाँस-दाउरा काट्न जाँदा र फर्कँदाको लस्करले पाटनलाई झनै मनमोहक बनाउँछ । त्यही पाटनका बीचमा एउटा आर्कषक सुन्दर भकुण्डो आकारको बिजारे ताल छ ।


दैनिकजसो आन्तरिक पर्यटक मनमोहक दृश्य हेर्न पुग्छन् त, कोही वर्षौदेखि आफ्ना हितैषी मित्रसँग भेटिँदाका अन्तर हृदयका गुम्सिएका कुरा पाटनमा बसेर मस्तले गफिन्छन् । अझ भनौँ पाटनमा गाई चराउने केटाकेटी खेल खेलेर रमाउँछन् । त महिला पुरुष एकान्त ठाउँमा आफ्ना बेदना दुःख कानमा औँला राख्दै आफ्नै लयमा विगतलाई स्परण गर्दै ठाडी भाका गाउँछन् । बिजारे छ नै त्यस्तो । जोकोहीलाई मोहक बनाइ छाड्छ । 

दैलेखको ठाटीकाँध गाउँपालिका-२ मा अवस्थित बिजारे चौर पर्यटकीय रुपमा थुप्रै सम्भावना भएपनि प्रचार–प्रसार र पूर्वाधार निर्माणमा स्थानीय तहको चासो नभएको स्थानीय बताउँछन् । पर्यटकीय रुपमा यो ठाउँमा थुप्रै सम्भावना बोकेको छ । एक स्थानीय भन्छन्, ‘तर, सम्भावना भएपनि स्थानीय सरकारको चासो छैन, गुमनाम अवस्थामा जस्तै छ ।’

बैशाख र जेठमा काफल, एैँसेलु टिप्न जानेको घुइँचो हुन्छ । अझ बसन्त ऋतुमा त चराचुरुङ्गीको चिरबिर आवाज र पालुवा पलाउँदा बिजारे पाटन झनै मनमोहक देखिन्छ । आन्तरिक पर्यटकलाई कोहिलीको मिठो स्वरले झनै मन्धमुग्ध बनाउँछ नै । वर्षात् र हिउँद ऋतुमा कुहिरोसँग लुकामारी खेल्न व्यस्त हुन्छ । 

संघीय सरकार गठन भएसँगै बिजारेमा सडक पुगेसँगै बस्ती पनि बस्न थालेका छन् । पहिले फाट्टफुट्ट रुपमा देखिने घर धेरै संख्या पुगिसकेका छन् । पश्चिम दैलेखका अधिकांश विद्यालय भ्रमण र वनभोज खान आउने गरेको स्थानीय जितबहादुर विष्ट बताउँछन् । ‘चिसो दिनभन्दा गर्मी दिनमा वनभोज खान धेरै आउँछन्’ विष्टले भने, ‘गर्मीयाममा घामले तातेका जिउँ यहाँ चिसो हावा सररर.... चल्ने भएकाले पनि गर्मीयाममा धेरै पर्यटक आउँछन् ।’

बिजारे नजिकै धौलापडा गुफा, ठूला छहरा, थुल्छडी भरना भएकाले पनि पश्चिम दैलेखको महत्वपूर्ण स्थान मानिन्छ । 

वर्षमा एकपटक मेला लाग्छ

समुन्द्र सतहदेखि करिब २३ सय मिटर उचाईंमा रहेको बिजारे पाटनमा वर्षको एक पटक मेला लाग्ने गर्छ । हरितालिका तीजको अवसरमा मेला लाग्ने गर्छ । हरितालीका तीजको अवसर पारेर चामुण्डा, आठबीस नगरपालिकादेखि थुप्रै चेलीहरु तीजमा नाँच्न यहाँ पुग्छिन् ।

प्रचार–प्रसारको कमी र ओझेलमा पर्दै गएको पर्यटकीयस्थल बिजारेमा पुग्न पर्यटन मन्त्रालयको पार्ट–२ कार्यक्रमअन्र्तगत ट्याक खालेपछि गाउँपालिकाले वर्षेनी बिजारेको सडक निर्माणका लागि बजेट विनियोजन गर्ने गरेको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए । 

आन्तरिक तथा बाह्य पर्यटकलाई बिजारे पुग्न असजिलो नहोस् भन्न सडक स्तरोन्नति गर्न २०७७/७८ मा ९६ लाखको ठेक्का भएको थियो, कोरोनाका कारण काम अघि बढ्न सकेन । आर्थिक वर्ष २०७८/७९ मा स्तरोन्नति र बाटो कटिङका लागि पालिकाको ४९ लाख र ४९ संघको गरेर ९८ लाखले यो आर्थिक वर्षमै काम सुरु हुने अध्यक्ष शाहीको भनाई छ । 

‘थुप्रै पर्यटकीय सम्भावना रहेको बिजारे पाटनमा बस्ती प्लानिङ गर्ने तयारीमा छौँ’, अध्यक्ष शाहीले भने, ‘तत्काल बस्ती प्लानिङ गर्ने तयारीमा छौँ, व्यक्तिगत जग्गा परेकाले प्लानिङमा समस्या भएको छ । जग्गावालासँग समन्वय गरेर चाँडै बस्ती प्लानिङ गर्छौँ ।’

दैलेख जिल्लामा रहेका दुईवटामध्येद्वारी झरना, क्षेत्र–१ को सदरमुकामबाट ७ कोष टाढा पर्छ । थुल्छडी भरना पाटनबाट १.५ किलोमिटर खोँचमा छ । करिब तीन घण्टा पैदल यात्रा गरेर ठाटीकाँध-३ मा रहेको मदान तालमा पुग्न सकिन्छ । यहाँ नाघे गुफा, व्यउली लेख तीन चुलीको अग्लो शीर जस्ता अग्ला डाँडाहरु देख्‍न सकिन्छ ।

बिजारे पाटनदेखि राजापुर बर्दिया, बझाङको अपि सैपाल हिमाल, जाजरकोट जिल्लाका केही हिमाल, सुर्खेतमाथिका लेक लगायत टाढाका अन्य हिमाल देख्‍न सक्ने स्थानीय प्रेम रामजाली बताउँछन्  । ठाटीकाँध २ र ३ र ५ नम्बर वडामा राष्ट्रिय चरा डाँफे मुनाल, मयुर, बाघ, रतुवा, घोरल लगायतका विभिन्न प्रजातिका चराचुङ्गी र जनावरका बासस्थान भएको स्थानीय बताउँछन् । पछिल्लो समय यी ठाउँमा भएका चराचुरुङ्गी र जनावरको चोरी–सिकारी बढ्दै गएपनि नियमन निकाय बेखबर छन् ।

बिजारेदेखि करिब तीन घण्टाको पैदल यात्रपछि छिमेकी पालिका चामुण्डा वीन्द्रासैनी नगरपालिका-३ स्थित जलगुफामा पुगिन्छ । करिब २५ मिटर लामो गुुफा प्रचार–प्रसार संरक्षणको अभावमा ओझेलमा परेको स्थानीय हिमाल रसाइली बताउँछन् । संरक्षण अभावमा गुफाभित्र रहेका हात्ती, बाघ, भगवान शिव, पार्वती र अन्य जनावरका मूर्ति चोरी भएका र भग्वावशेष भएको स्थानीय रसाईलीको भनाई छ । 

‘केही समयअघि देखिएका मूर्तिजति चोरी भइसकेका छन् भने संरक्षण अभावले भएका चिज पनि तोडफोड भएका छन्’ उनी भन्छन् । कर्णाली राजमार्गबाट दायाँ रामघाट सिंहासैन सडकखण्डको १९ किलोमिटरमा बिजारे पाटन पर्छ । ठाटीकाँध बजार हुँदै भिमपाइला पुगिन्छ, यहाँको भीम गुफा पनि ओझेलमा छ । यहाँदेखि २० मिटर उमालो पैदल यात्रापछि बिजारे पाटन भेटिन्छ ।

दैलेखमा पञ्चदेवल, सिरस्थान, बेलासपुर मन्दिर, कोटिला, नाभिस्थान, पादुका मन्दिर, नेपाली भाषाको पहिलो शिलालेख भएको दुल्लु पाथर नाउली पौवा, महाबुधाम पर्यटकीय स्थलहरुमध्ये पर्छन् । दैलेखको ठाटीकाँध गाउँपालिकामा रहेको विजारे पाटन, थुल्छडी झरना, धौलापडा गुफा, भिम गुफा, चामुण्डावीन्द्रासैनी–३ मा रहेको जलगुफा गुमनाम अवस्थामा छन् । 


Author

थप समाचार
x