पर्यटन

बौद्धनाथ क्षेत्रमा बढ्न थाले बाह्य पर्यटक, आठ महिनामा एक लाख ३६ हजार बढी पर्यटक आए

इकागज |
चैत ९, २०७९ बिहीबार १९:५९ बजे

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा बाह्य पर्यटक बढ्न थालेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा यस क्षेत्रमा दक्षिण एसियाली देशका एक हजार पाँच सय ४४ र अन्य देशका एक हजार दुई सय ५६ पर्यटक आएका थिए । कोरोना महामारीका कारण त्यस आर्थिक वर्षमा पर्यटक कम आएका थिए । धेरै समय बन्दाबन्दी (लकडाउन) गरिएकाले कम पर्यटक आएका हुन् ।


यो सङ्ख्या आव २०७८/७९ मा बौद्ध क्षेत्रमा घुम्न आउने पर्यटक केही बढेका थिए । त्यस वर्ष दक्षिण एसियाली देशका ६५ हजार आठ सय ३१ र अन्य देशका ३० हजार एक सय नौ पर्यटक आएको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्तिमाया तामाङले जानकारी दिए ।

पर्यटकको सङ्ख्या चालु आर्थिक वर्षको आठ महिनामै एक लाख ३६ हजार नौ सय ३६ पुगेको उनले बताए । जसमा दक्षिण एसियाली देशका ६९ हजार आठ सय ३४ र अन्य देशका ६७ हजार ९२ रहेका छन् । समितिले पर्यटक आकर्षित गर्न यस क्षेत्रको सफाइमा विशेष ध्यान दिएको जनाएको छ । सफाइका लागि निजी क्षेत्रको गजुरमुखी सेक्युरिटी कम्पनीसँग सम्झौता गरिएको छ । 

कम्पनीका छ जना कर्मचारीले दैनिक बौद्ध क्षेत्रमा सफाइ गर्ने छन् । जसका लागि समितिले वार्षिक रूपमा रु १७ लाख ३९ हजार तीन सय १४ शुल्क दिने जनाइएको छ । रासस


Author

थप समाचार
x