पर्यटन

कञ्चनपुरमा 'क्याप्टेन वेद उप्रेती एभियसन म्युजियम' सञ्चालनमा

इकागज |
चैत ५, २०७९ आइतबार १०:४४ बजे

कैलाली- कञ्चनपुरमा 'क्याप्टेन वेद उप्रेती एभियसन म्युजियम' सञ्चालनमा आएको छ । भीमदत्तनगरपालिका-३ भाँसीमा शनिबारदेखि क्याप्टेन वेद उप्रेतीको स्वामित्वमा रहेको क्याप्टेन्स स्काई कम्पनी मार्फत उक्त म्युजियम सञ्चालनमा आएको हो ।

क्याप्टेन उप्रेतीकी आमा सरस्वती उप्रेतीले रिबन काटेर म्युजियमको उद्घाटन गरेकी थिइन् । आइतबारदेखि म्युजियम सर्वसाधारणका लागि खुला गरिनेछ ।


उप्रेतीले काठमाण्डौँबाट ल्याएको कस्मिक एयरको फोकर १०० विमानलाई एभियसन म्युजियम बनाएको बताए । करिब सात कठ्ठा जग्गामा फैलिएको म्युजियम सञ्चालनका लागि डेढ करोड रुपैयाँ लगानी गरिएको उनले जानकारी दिए । ‘यही कञ्चनपुरमा म हुर्किए । यहीको सिद्धनाथ विज्ञान क्याम्पसबाट आईएस्सीको पढाई पुरा गरे,’ उनले भने, ‘त्यही भावनात्मक सम्बन्धका कारण मुनाफा भन्दा पनि कञ्चनपुरको पर्यटनको विकासका लागि म्युजियम स्थापना गरेको हु ।’

एभियसन म्युजियमलाई आकर्षणको केन्द्र बनाउन भारतबाट दुई वटा ऊट पनि ल्याउन लागिएको उनले जानकारी दिए । भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले कञ्चनपुरमा एभियसन म्युजियम स्थापना गरेकोमा क्याप्टेन उप्रेतीप्रति आभार व्यक्त गरे । एभियसन म्युजियमको सञ्चालनले कञ्चनपुरको पर्यटन प्रबद्र्धनमा योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।


Author

थप समाचार
x