पर्यटन

यती जहाज दुर्घटना : इन्जिनमा समस्याको संकेत

इकागज |
माघ २३, २०७९ सोमबार १९:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना भयो । दुर्घटनाबारे छानबिन गर्न जाँच बुझ आयोग पनि गठन भयो ।

आयोगले ककपिट भ्वाइस रेकर्डरको विश्लेषण गरेको छ । यति एयरलाइन्सको ९ एन-एएनसी एटीआर ७२ जहाज इन्जिनमै समस्याका कारण दुर्घटना भएको हुनसक्ने देखिएको आयोगले प्रारम्भिक जानकारी दिएको हो । 


आयोगका अनुसार इन्जिनमा पावर आइडलले काम नगर्दा दुर्घटना भएको देखिएको छ । 

‘फ्लाइट डाटा रेकर्डर र ककपिट भ्याइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिन्छ,' जाँच आयोगले जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘आयोगबाट अन्तिम प्रतिवेदन पेश गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्यांकको विश्लेषण र अनुसन्धानका आधारमा उडानमा थप सुरक्षा अभिवृद्धि गर्न प्रारम्भिक प्रतिवेदन पेश गर्ने तयारी भएको छ,'आयोगले भन्याे ।

आयोगका सदस्य तथा इन्जिनियर एकराज जंग थापाले इन्जिन चालु रहे पनि पंखाको कोण नमिलेको हुनसक्ने देखिएको जानकारी दिए । 

दुर्घटनालगत्तै सरकारका पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको थियो । आयोगमा सेनाका इ. उपरथी दीपक बाँस्तोला, वरिष्ठ क्याप्टेन सुनिल प्रधान र वरिष्ठ इन्जिनियर एकराज जंग थापा सदस्य तथा उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव रहेका थिए । 

उक्त जहाजमा ७२ जना सवार थिए । त्यसमध्ये ७० जनाको शव भेटियाे पनि २ जनाको अझै भेटिएको छैन ।

 

 

 


Author

थप समाचार
x