पर्यटन

हवाई उडान सुरक्षित बनाउन नयाँ हवाई उडान व्यवस्था लागू गर्दै प्राधिकरण

इकागज |
माघ १९, २०७९ बिहिवार १५:१२ बजे

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आगामी ग्रिस्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ ।

प्राधिकरणले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यवसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गर्ने लागेको हो । बुधबार प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउनका लागि हवाई उडान सम्बन्धी नयाँ व्यवस्था लागू गर्न लागेको बताए ।


उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सिकागो सम्मेलनका मापदण्ड बमोजिम ३/३ वा ६/६ महिनामा नेपालको हवाई उडान क्षेत्रको सुरक्षित बनाउनका लागि नियम परिर्माजन गर्ने गरिएको उल्लेख गरे । २७ जनवरीदेखि ३१ जनावरीसम्म प्राधिकरण आन्तरिक र हवाई उड्डयन क्षेत्रमा लामो समय काम गरेका विज्ञहरूसँगको छलफलबाट पाँच वटा नियम लागू गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

सूचना अधिकारी भुलले विमान दुर्घटना भएर नयाँ व्यवस्था लागू गर्न लागिएको नभएर प्राधिकरणको नियमित प्रक्रिया भएको पनि जिकिर गरे ।

सूचना अधिकारी भुलले चालक दलका सदस्यको थकानको जोखिम न्यूनीकरण गर्न उडानमा दुईभन्दा बढी चालक दलका सदस्य हुँदा थप समय उडान गर्न पाउने व्यवस्था खारेज गर्न लागेको उल्लेख गरे । उनले वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्ने व्यवस्था गर्न लागिएको पनि जानकारी दिए ।


Author

थप समाचार
x