पर्यटन

पर्यटकीय विकासका लागि महोत्सव

इकागज |
माघ १४, २०७९ शनिवार २०:२० बजे

फाइल फोटो

कास्की - पोखरा महानगरपालिका–२३ स्थित पर्यटकीयस्थल चापाकोटको पर्यटकीय विकासलाई लक्षित गरी यही माघ २४ गतेदेखि २८ गतेसम्म चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ हुने भएको छ ।

चापाकोट पर्यटन प्रवर्द्धन समितिको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हुने महोत्सवको सह प्रयोजक चापाकोट देउराली सामुदायिक होमस्टे छ । महोत्सवमा विभिन्न संस्कृतिक कार्यक्रम तथा प्रतियोगिता हुने समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिए । 


उनका अनुसार महोत्सवमा नौमती बाजा, भजन, रत्यौली, खेलकुद, बाल नृत्य, दुना टपरी गाँस्नेलगायतका प्रतियोगिता हुनेछन् । महोत्सवमार्फत् स्थानीय प्राकृतिक, धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने, पर्यटन पर्यावरण विकास गर्ने, स्वरोजगारीमार्फत् आय आर्जनमा वृद्धि गर्ने विश्वास लिइएको छ ।

महोत्सवबाट बचत रकमबाट पर्यटन प्रवर्द्धनका लागि ठाउँ ठाउँमा सांकेतिक बोर्ड राख्ने, वृत्तचित्र निर्माण गर्ने, वेवसाइटमार्फत् प्रचारप्रसार गर्ने, पुस्तक पर्चा, छपाइ र वितरण गरिने उनले जानकारी दिए । 

समितिले बाम्दीबाट भुम्दीकोटसम्म पुग्ने पैदलमार्ग सिँढी बनाउने, होमस्टेलाई थप गुणस्तरीय बनाउने र नयाँ थप्ने प्रयास गर्नेलगायत योजना बनाएको छ ।
रासस


Author

थप समाचार
x