पर्यटन

सुर्खेतमा वैकल्पिक विमानस्थल बन्दै

इकागज |
साउन २८, २०७९ शनिबार १६:४८ बजे

सुर्खेत- सुर्खेतको भेरीगंगा नगरपालिका स्थित छिन्चुमा वैकल्पिक विमानस्थल बन्‍ने भएको छ । वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थल विस्तारमा समस्या भएपछि भेरीगंगा नगरपालिकामा पर्ने छिन्चुमा वैकल्पिक विमानस्थल बनाउन लागिएको हो । जसका लागि नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्षका लागि बजेट नै विनियोजन गरिसकेको छ ।

चार करोड ४२ लाख ४७ हजार बजेट विनियोजन गरेको प्राधिकरणले यो बजेट विमानस्थल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) गर्ने काममा खर्चिने छ । वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थल विस्तारमा खर्चिलो हुने र विस्तारका लागि थप जग्गा उपयुक्त नभएपछि वैकल्पिक विमानस्थल निर्माण गर्न प्राधिकरणले बजेट विनियोजन गरेको हो ।


विमानस्थल बन्‍न योग्य छ वा छैन भन्‍ने अध्ययनपछि मात्रै थप बजेटका लागि प्रस्ताव गरिने प्राधिकरणले जनाएको छ । विमानस्थल निर्माणका लागि प्रक्रिया निर्धारण गरिएको क्षेत्रमा पर्ने प्रभावित सरोकारवालालाई सात दिनभित्र लिखित राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।

प्रभावित नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति तथा संस्थासँग लिखित राय सुझाव माग गरिएको छ । सरोकारवालाको राय सुझाव आएलगत्तै आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु गरिने प्राधिकरणले बताएको छ ।


Author

थप समाचार
x