विचार

‘नेपाली जनता जति सजिलो जनता कहीँ पाइन्छ र ?’

शुभाष चन्द्र पोख्रेल |
बैशाख २९, २०७९ १६:५२ बजे

देश चुनावको रापमा छ, चुनाव नभई पनि भाछैन तर चुनावको माध्यमबाट देशले क्रमिक लाभ लिँदै छ वा झन् आर्थिक भार थप्दै छ ? छुट्याउन धौधौ छ ।
केही अपवादबाहेक नेपालमा दल, नेता र नेतृत्व ‘गाली’का लागि मात्र योग्य भएझै लाग्छ !

तर गाली गरेर मात्र कहाँ सुख्ख छ र,
गाली गरौँ आफ्नै बोली अपवित्र हुन्छ !
त्यसै बसौँ असत्यको त्यसै जीत हुन्छ !!


माधवप्रसाद घिमिरेले लेखेको गीतको यो एक टुक्रा हामीले अहिले भोग्दै गरेको उकुसमुकुसको पूरै ‘महाभारत’ भन्न सक्ने विम्ब बोकेको छैन र ?
कुनै लापरबाह अभिभावक वा सन्तानका कारण लथालिङ्ग भएको परिवारजस्तै बनेको छ हाम्रो देश र यहाँको राजनीति ।

हामी एउटै दुष्चकरको भुमरीमा किन बारम्बार जेलिन बाध्य छौँ ? यसबाट कसरी उन्मुक्ति मिल्ला ? यस्ता अनगन्ती प्रश्न छन् र ती प्रश्नलाई सही उत्तर दिलाउन सक्ने एउटा सशक्त माध्यम निर्वाचन नै हो । तर हामी जनता पनि सचेत नागरिक बन्नुभन्दा ज्यादा ‘लापरबाह भोटर’मै सीमित भैरहेका छौँ !

नीति, योजना र कार्यान्वयनको खाकाका बारेमा कोही बोलेको सुनिँदैन, अहिले जताततै नेताका आक्षेपपूर्ण भाषण मात्र छन । यस्तोमा हामीजस्ता ‘निम्छरा’लेखकका शब्दहरू हुलमुलमै हराउन पनि सक्छन् । तैपनि ‘उज्यालो’ राजनीति र उन्नत समाजको अपेक्षाखातिर लेख्न÷ बोल्न त छोड्न हुँदै भएन !
सकेसम्म आलेख लामो नबनाउने गरि म केही सामाजिक दृष्टान्त र बिम्ब मार्फत राजनीतिको यो गोलचक्कर बारे केही भन्न चाहन्छु !

विम्ब एक
एकजना युवा जो विगतमा चरम लागुपदार्थ दुर्व्यसनमा परेर पछि सुधारको बाटोमा हिँडेका रहेछन् । उनले कुनै राष्ट्रिय टेलिभिजनमा आफ्नो कहानी सुनाउने क्रममा भनेको एउटा बाक्य निकै घतपरक थियो । ‘जबसम्म आमा बाबू (अभिभावक) थाक्दैन वा हार खादैननन् तबसम्म दुर्व्यसनमा फसेको सन्तानले सताउन छोड्दैन ।’
किताब किन्छु भनेर लगेको पैसा नसाको धुवाँमा उडाएको छ,
कलेज शुल्कको पैसा मस्तीमा सकाएको छ !
एक होइन अनेक बहानामा पैसा मागेर बर्बादीमा लागेको सन्तानले बाबुको कोटबाट पैसा चोरेको छ, आमाको थैलीबाट पैसा चोरेको छ, घरका किम्मती वस्तुहरू चोरेर बेचीबेची ऊ आफ्नो दुर्व्यसनमा मस्त भैरह्यो !

ढाँट्ने, छल्ने, चोरी गर्ने, नौटंकी गर्ने सन्तानको बानीबाट आजित आमाबाबुसँग कुनै एक दिन उक्त सन्तानले नयाँ बहाना बनाएर तीन हजार माग्छ । आफ्नो दुर्व्यसक छोरालाई तीन हजार होइन, तीस हजार दिँदै भन्छन्, ‘थाहा छ तैंले मागेको तीन हजार दुव्र्यसनकै लागि हो, अब हामी थाक्यौं, तीन हजार होइन, तीस हजार लैजा एकैपटक जति खान सक्छ्स खा, अनि आफैँलाई र हामीलाई पनि यो सब दिग्दारीबाट मुक्त गर । आमाबाबू जब साँच्चिकै थाकेको थाहा पायो अनि उसले सुध्रिने कोसिस गर्यो र सुधार मार्गमा छ अहिले ।

हाम्रो राजनीतिक चरित्र पनि ठ्याक्कै यस्तै छ । दुव्र्यसनी सन्तान (अधिकांश नेता÷राजनीतिकर्मी) को व्यवहारबाट अभिभावक (जनता÷भोटर) आजित भएको, लापरवाह सन्तान (दल÷नेता)लाई अभिभावक (जनता) थाकेको स्वीकारोक्ति कसरी गराउने होला !
यो नै अन्तिम पटक हो जति ‘घिच्न’ सक्छस् घिच भनेर ‘छेरौटी’ लागुन्जेल भोट खुवाएर होला कि, भोटै नदिएर भोकै राखेर हुन्छ ?
अभिभावक (जनता) अब अलि कठोर बन्ने कि ?

विम्ब दुई
यो बिम्ब चाहिँ म हुर्केको समाजको यथार्थ घटना हो, अलि धेरै जग्गा जमिन भएका एकजना गोविन्द दाइ भन्ने हुनुहुन्थ्यो, उहाँका दुई भाइ छोराहरू थिए । सार साउन आएपछि जब धानको बीउ राख्ने, खेत खनजोत गर्ने, रोपाइँको बन्दोबस्ती गर्ने बेला आउँछ ती दुबैजना छोराहरू कहिले परीक्षा तयारी गर्न छ भन्दै हिँड्ने, कहिले छुट्टी भएको क्यापस पनि पढाइ चलेको छ भन्दै बुटवलमै डेरा जमाएर बस्ने । यस्ता ‘कामचोर’ छोराहरूको पाराले दिक्क गोविन्द दाइले एक दिन फोन गरेर छोराहरूलाई साफ गाली गर्छन् । ‘तिमीहरू कुलङ्गार, खानका काल, कामचोर, बाबुआमालाई दुःख दिन जन्मेका, मौकाको ख्याल गर्न नसक्ने’ आदि इत्यादि ।  फोन संवादको सुरुमा अभिभावकीय अधिकारअन्तर्गत बेजोड पाराले हप्काउने गोविन्द दाइले जब छोराहरूसँग फोन बिसाउने बेला हुन्छ तब नम्र र लत्रेको पारामा ‘हवस् त अब फोन राखेँ है’ भन्दै आज्ञा लिएर बिदा हुने ।

हामीले भोगेको राजनीति र चुनावका बखत हाम्रो चरित्र पनि गोविन्द दाइ र उहाँका छोराहरूसँगको संवाद जस्तै छ । अरु बेला राजनीतिक दल र नेताले दुःख दिएको कहानी हालेर नथाक्ने अनि जब भोट खसाल्ने बखत आउँछ ‘हवस् त फोन राख्छु है’ भन्ने पारामा ‘हवस त भोट हाल्छु है’ भन्ने खालको लाचार बन्ने ।

विम्ब तीन
यो पनि म हुर्केकै समाजको दृष्टान्त हो, दुई जना साथी मिलेर साझेदारीमा दूध डेरीको व्यवसाय गर्ने योजना बनाए, योजनाअनुसार काम सुरु पनि भयो तर ती दुईमध्ये एउटा साथी असाध्यै सोझो अनि अर्को साथी चाहिँ ध्रुतको ‘ठेकेदार’ । आर्थिक कारोबार र लाभका कुरामा धूर्त साथी अगाडि सर्ने, मरिमेटेर काममा खट्न चाहिँ सोझो साथीलाई मात्र पर्ने । स्वभावतः कारोबार घाटामा गयो, धूर्त साथी मालामाल, सोझो साथी कर्जामा । लेनदेनको हिसाब गरेर साथीहरू कारोबारबाट अलग भए, हिसाबमा धूर्तवाला साझेदारले सोझोवाला साथीलाई केही पैसा चुक्ता गर्नुपर्ने देखियो, केही समय पछि दिने सहमति पनि भयो । सोझो साथी खेती किसानीको काममा लाग्यो धूर्त साथी राजनीतिमा लाग्यो । एक दिन सोझो साथी आफ्नो हिसाबको पैसा माग्न पुरानो साझेदारको घर खोज्दै पुग्यो । 

कुनै दलको ‘राजनीतिकर्मी’ बनिसकेको साथीले आफ्नो जायज हिसाबको पैसा माग्न आएको साथीलाई हप्काउँदै भन्यो, ‘आइन्दा पैसा माग्नका लागि मलाई खोज्दै आइस भने दिउँसोमा मलाई भेट्न मुस्किल छ, रातिमा आए जिउँदै फर्कन मुस्किल छ ।’ त्यसपछि उक्त सोझो साथीले आफ्नो लगानीको हिसाब माया मार्यो । कतै नेपालमा पनि ‘राजनीतिक साझेदारी’ यस्तै त हुँदै छैन, सोझो मान्छे (जनता÷ भोटर) ले आफ्नो साझेदार (नेता÷जनप्रतिनिधि)सँग भोटको हिसाब (जवाफदेहिता) माग्दा हिजो कस्तो व्यवहार भएको थियो, भोलि कस्तो चरित्र देखाउलान्, खुब ख्याल गरौ है ।

निर्वाचनको आचारसंहिता बमोजिम मौन अवधि सुरु भइसकेको छ, धेरै कुरा न लेख्न मिल्छ, न त तपाईं हामी धेरैजसोलाई लामो आलेख पढ्ने जाँगर÷फुर्सद नै छ !
अब ‘यक्ष प्रश्नकर्ता’ धारिलो पत्रकार राजेन्द्र बानियाँको शब्द सापटी लिएर आलेखको बिट मारौँ है ।

‘नेपाली जनता जति सजिलो जनता कहीँ पाइन्छ र ?’
हामी जनता सधैँ सजिलो जनता मात्र भइरहने हो कि ? अथवा आफ्नो सकारात्मक हितरक्षार्थ अलिअलि नटखट खालको जनता पनि बन्ने हो । निर्णय गर्ने मौका यही चुनाव नै हो है । 
(स्वतन्त्र पत्रकार)



Author

थप समाचार
ad
x