विचार

मतदातालाई अपिल : विवेक बन्धक नराखौं

पुष्पराज आचार्य |
बैशाख २७, २०७९ मगलवार २३:५८ बजे

आदरणीय मतदाताहरू, 

वैशाख ३० गते हुने स्थानीय निर्वाचनअघिको मौन अवधि आजै राती १२ बजेदेखि लागू हुँदैछ । यो मौन अवधि भनेको राजनीतिक दलहरूलाई प्रचार–प्रसारमा रोकमात्र होइन, मतदाताले ठण्डा दिमागले सोच्नका लागि पनि हो । आज साँझसम्म पनि दलका कार्यकर्तालाई निर्वाचनको प्रसार–प्रसारमा भ्याइ–नभ्याइ थियो । मौन अवधिले पक्कै तपाईंको थाकेको शरिरलाई आराम त दिनेछ भने सोच्नका लागि पर्याप्त समय पनि मिल्नेछ ।


हरेक व्यक्ति विचारले बाँधिएको हुन्छ । कुनै विचारधारासँगको निकटताका आधारमा कुनै अमूक दलप्रति झुकाव राख्नु स्वभाविक हो । तर कुनै दलप्रति झुकाव राख्दैमा मतदानमा आफ्नो विवेक बन्धक राख्नु हुँदैन । 

निर्वाचन लोकतन्त्रको सबैभन्दा सुन्दरतम अभ्यास हो । लोकतान्त्रिक व्यवस्था तबमात्र सुदृढ हुन्छ, जब तपाईं-हाम्रो मत सही ठाउँमा व्यक्त हुन्छ । तसर्थ लोकतन्त्रलाई बचाउने, सुदृढ गर्ने र जनप्रतिनिधिलाई जनताप्रति जवाफदेही बनाउने भनेकै मताधिकारको सही सदुपयोग मार्फत हो । 

नेपाली राजनीतिमा देखिएको उद्दण्डता र विकृतिलाई सच्याउने दायित्व विवेकशील मतदाताको हो । दलजीवी र दलका लम्पट कार्यकर्ताका कारण आज राजनीतिक दलहरूमा सनक पैदा भएको छ । हुन त दलको कार्यकर्ता हुनु भनेको विवेक बन्धक राख्नु होइन, तर नेपालजस्ता अल्पविकसित र गरिब मुलुकको नियति नै यस्तो बनेको छ । यो नियतिको कारण तपाईं–हामीले छानेका जनप्रतिनिधिको नियत ठीक नभएर हो । 

सबै जनप्रतिनिधि गैरजिम्मेवार र जवाफदेहीताविहीन छन् भन्ने होइन, राम्रा पनि छन् । बहुसंख्यक राम्रा छान्न सकियो भने त्यसले जनउत्तरदायी सरकार निर्माण हुन्छन् र त्यसको लाभ अन्ततः मुलुकलाई हुनेछ । मुलुकका बासिन्दा हुनुको नाताले तपाईं–हामीलाई अवश्य हुने नै छ । 

स्थानीय सरकार जनतासँग सबैभन्दा नजिकका सरकार हुन् । सार्वजनिक सेवा प्रवाहमा यिनको सबैभन्दा ठूलो भूमिका छ । यिनको योग्यता, क्षमता तथा कार्यदक्षताले मात्र सेवाग्राहीले लाभ प्राप्त गर्नेहुन् । तसर्थ हामीले हाम्रा सेवक छान्दा इमान्दार र निष्ठावान साथै कार्यक्षमता पनि हेर्नुपर्छ । 

लोकतन्त्रमा विकासको अवधारणा भनेकै नागरिकको सहभागितामा आधारित विकास हो । स्थानीय विकास त अझै जनसहभागितामा आधारित हुन्छन् । निर्वाचनको समयमा मतदातालाई फकाउने, घुर्क्याउने, धम्क्याउने, तर्साउने अनेकन हर्कत दलका नेता र दलजीविबाट भइरहेका छन् । लोकतन्त्रमा नागरिक सबैभन्दा बलियो हुन्छ, तर त्यसका लागि तपाईंले आफ्नो मताधिकारको सही प्रयोग गर्नुपर्छ । मताधिकारको सही प्रयोगले मात्र नागरिक सर्वोच्चता स्थापित हुन्छ । 

अनेकन् हिसाबले मतदातालाई प्रलोभनमा पार्नेदेखि धम्क्याउने खेलहरू विगतका निर्वाचनमा पनि नभएका होइनन् । अहिले पनि चलिरहेको छ, प्रतिवद्धता र आश्वासनका पोका खोलिएको छ । 

यसपटक मतदान गर्दा अघिल्लोपटक अर्थात २०७४ को निर्वाचनमा यहाँहरूसामु गरिएका प्रतिवद्धता के–के थिए, अनि के–के पूरा भए त्यो पनि यहाँहरूले समीक्षा गर्नैपर्छ । कसैले ठूला सपना देखाउँदैमा ती पूरा भैहाल्नेपनि होइनन् । त्यसका लागि साधन, स्रोत, तत्परता र सबैभन्दा मुख्य कुरा तिनको सम्भाव्यता पनि हो । 

लोकतन्त्रको यति लामो अभ्यासमा अभ्यस्त भैसकेकाले अब यहाँ कुनै भुलभुलैयाको कुरा छैन । तपाईंको सरकार कस्तो बनाउने र त्यसलाई कसरी सञ्चालन गराउने भन्ने सम्पूर्ण रूपमा यहाँकै अधिकारको कुरा हो । 

लोकतन्त्रमा छनौटको स्वतन्त्रता महत्वपूर्ण हुन्छ । उपयुक्त जनप्रतिनिधिको छनौटमा मतदाताहरूको विवेक प्रबल हुन्छ । अहिलेसम्म राजनीतिक दलहरूले जनताको विवेकको अवमूल्यन गर्दै आएका छन् । 

राजनीतिक दलका कतिपय नेता/नेतृ गण आफ्नो दलले नजितेका नगरपालिकामा पैसा नपठाउने धम्कीपूर्ण सार्वजनिक उद्घोष गर्छन् । कोही मैले भनेको ठाउँमा मत नदिए देश नै दुर्घटनामा पर्छ भनेर मतदातालाई अत्याइरहेका छन् । 

अघिल्लो महिनामात्र एक पूर्वमन्त्रीले सार्वजनिक रूपमा भन्दै थिए, ‘हामी सरकारमा छँदा अर्ब–अर्ब हान्दिएको हो ।’ ती नेताको आत्मविश्वास पक्कै पनि दर्शक दीर्घामा परर ताली बजाउने कार्यकर्ताका कारण थपिएको हुनसक्छ । तर भ्रष्टाचार गरेको हो, गर्न खोजेको हो भनेर भन्दा ताली बजाउनेचाहिं कस्ता लम्पट कार्यकर्ता हुन् ? 

खुलेआम सार्वजनिक मञ्चमा कसैलाई इंगित गर्दै ‘तपाईंले वेश्यावृत्ति गर्छ’ भनेर पत्रिकामा छपाइदिऊँ भनेर धम्की दिने साहस कसले जुटाइदिएको हो ? यो सबै आम रूपमा नागरिक सचेत नहुँदाका परिणाम हुन् । 

नेताले उसको अधिपत्य मानेर जनतामाथि शासन गर्ने, उनीहरूलाई नियन्त्रणमा राख्ने स्थिति जनता विवेकहीन भएको अवस्थामा मात्र सम्भव होला । 

नेपाली राजनीतिमा अन्तर्निहीत विकृत समस्या समाधानका लागि प्रबुद्ध/विवेकशील मतदाता आफैं सजग हुनुपर्छ । निर्वाचनले आम मतदाताको विवेकको परीक्षण लिइरहेको छ । निर्वाचनमा जो सुकैको विजय–पराजय भएपनि गलत व्यक्ति छानेर लोकतन्त्र नै पराजित हुने अवस्था आउन दिनुहुँदैन । 

नागरिक अधिकार र विवेकको जय होस् । लोकतन्त्र विजयी होस् । 

धन्यवाद !


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x