विचार

कांग्रेस घोषणापत्रमा समाज रुपान्तरणको अपेक्षा

डा. कृष्णप्रसाद पौडेल |
बैशाख ३, २०७९ १२:५१ बजे

वैशाखको गर्मीसँगै गाउँ–सहरमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । संघीय संरचनाअनुरुप स्थानीय सरकारको संरचनामा गएसँगै दोस्रो चोटि चुनावी माहौलमा होमिएका छौं । सँगै पहिलो कार्यकालमा भए÷गरेका काम मूल्यांकन हुने नै छ । सरकारले २०७९ वैशाख ३० का निम्ति स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै मुलुक चुनावी माहौलमा प्रवेश गरिसकेको छ । निर्वाचन आयोग चुनावी मैदान तताउन आचार–संहिता जारी गर्नेदेखि मतदाता छपाइको काम तीव्र गतिमा चलिरहेको छ ।

उता, राजनीतिक दलहरू घोषणापत्र घोषणा र उम्मेदवार छनौटको प्रक्रियामा जोडतोडले लागेका छन । त्यसो त, २०७९ को वर्ष ‘चुनावी वर्ष’ हो । राजनीतिक दलहरू चुनावी घोषणापत्रमार्फत अबका ५ वर्षका निम्ति आ–आफ्नो पार्टीको कार्यादिशा र कार्ययोजना आमनागरिकको हात–हातमा पुर्‍याउन तल्लीन छन् । 


२०७४ को चुनावी दौडमा प्रमुख राजनीतिक दलहरूले प्रस्तुत गरेको चुनावी घोषणापत्रमा उल्लेखित भएका वाचा के–कति पूरा भए वा भएनन् साथै ती मुद्दाहरूलाई यो पाँच वर्षमा दलहरूले आत्मसात् गर्न सके वा सकेनन यो विषय आमनागरिकको मत दिने मुद्दा बन्‍नु आवश्यक छ । यसका साथै चुनावी घोषणापत्र कागजी दस्तावेज र मत माग्ने हतियार मात्र नभई आमनागरिकको जीवनको मुद्दा बोक्ने उद्घोषसहितका कार्यदिशाका हुनुपर्छ ।

पुस्तान्तरणसहितको वैचारिक रुपान्तरणको मुद्दालाई स्थापित गरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमार्फत महामन्त्रीमा विजयी गगनकुमार थापालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट ‘स्थानीय तह निर्वाचन– २०७९, घोषणापत्र तयारी समिति’को संयोजकको जिम्मेवारी मिलेको छ । देशको वर्तमान सामाजिक, आर्थिक र राजनीतिक परिवेशलाई आत्मसात् गर्दै कांग्रेसलाई स्थानीय तहको चुनावमा पहिलो पार्टी बनाउने लक्ष्यका साथ चुनावी घोषणापत्र महामन्त्रीले प्रस्तुत गर्नेछन् भन्‍ने विश्वास आमकार्यकर्ताको छ । 

देशको समग्र सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनको उद्देश्यका साथ कांग्रेसको स्थापना भएको थियो । आजसम्म पनि नेपाली कांग्रेसले त्यो उद्देश्य प्राप्त गर्न सकिरहेको छैन । बीपी कोइरालाले जुन वर्ग र समूहको जीवनस्तर उकास्न २००७ सालको क्रान्ति, २०१६ सालमा प्रधानमन्त्री हँुदै गर्दाको नीति तथा कार्यक्रम साथै २०३३ सालमा मेलमिलापको नीति ल्याएका थिए , त्यो आजसम्म पनि पूरा  हुन सकिरहेको छैन । 

कांग्रेसका विगतका घोषणापत्रले गरिबीको रेखामुनी रहेका जनता र सुकुम्बासीका दैनिक जीवनसँग सम्बन्धित मुद्दा र विषयवस्तुहरूलाई जुन रुपमा समावेश गर्नुपर्थ्यो, त्यति गर्न सकेन भन्दा अन्यथा नहोला । नेपालका अन्य दलहरूले कांग्रेसलाई हुने खाने र धनीहरूको पार्टीको रुपमा चित्रण गर्छन् । तसर्थः अब बन्दै गरेको घोषणापत्रले नेपाली कांग्रेस आम नागरिकको पार्टी हो साथै नेपाली कांग्रेस र समाजवाद पर्यायवाची शव्द हुन् भन्‍ने तथ्यलाई आमनागरिकको मानसपटलमा बसाल्न आवश्यक छ । यदि यसो गर्न सक्यो भने मात्र नेपाली कांग्रेसले आफूलाई आमजनताको अभिभावकको रुपमा आफूलाई उभ्याउन सक्नेछ, अन्यथा पछुताउनुको विकल्प हुने छैन । 

नेपाली कांग्रेसका कार्यकर्ताले आम नागरिकसँग गाऊँ होस् या सहरमा भोट माग्न जाँदा नागरिकद्वारा सोधिने मुख्य प्रश्नहरू जस्तैः संविधानले प्रदान गरेको नागरिकको मौलिक हक र अधिकारको व्यवस्था र कार्यान्वयनको मोडेल, सार्वजनिक शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, शहरी र ग्रामिण विकासको मोडेल, कानुनी राज्य, मानव अधिकार, सुःशासन, लोकतान्त्रिक मूल्य र मान्यता, समाजवाद, राज्यको स्रोत र साधनमा नागरिकको हक तथा अधिकार लगायतका विषयवस्तुमा नेपाली कांग्रेसको स्पष्ट धारणा कागजी रुपमा मात्र नभएर कार्यान्वयनको मोडेलको रूपमा समेत आउन आवश्यक छ ।

यसका साथै आम नागरिकको प्रत्यक्ष जीवनसँग सरोकार राख्‍ने विषयहरू शिक्षा, स्वास्थ्य, कृषि र राज्यको साधन र स्रोतमाथिको हक र अधिकारबारे पनि अब कांग्रेसले कार्यान्वयनसहितको स्पष्ट धारणा ल्याएन भने यसको ठूलो मूल्य कांगेसले चुकाउनुपर्ने देखिन्छ । 

आगामी पाँच वर्षभित्रमा नेपालको शिक्षालाई आमूल रुपमा परिवर्तन गर्ने उदघोष यो घोषणापत्रले गर्नु आवश्यक छ । यसका साथै नेपालमा रहेका ६ वटा महानगरपालिका र ११ वटै उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै कम्तिमा पनि हरेक प्रदेशमा एउटा सामुदायिक अस्पतालको स्थापनाको स्पष्ट कार्ययोजना आउँदै गरेको घोषणापत्रले सम्बोधन गर्नु आवश्यक छ ।

बीपी कोइरालाले २००७ सालको क्रान्ति, २०१६ सालमा प्रधानमन्त्री हुँदै गर्दाको नीति तथा कार्यक्रम अबको घोषणा पत्रले पूरा गर्ने सोच राख्‍न जरुरी छ । 

नेपाललाई गौतम बुद्ध जन्मिएको शान्ति भूमि र संसारको सबैभन्दा अग्लो चुचुरो सरगमाथाको उपनामले पनि चिनिन्छ । यसका साथै नेपाल संसारका सारा हिन्दुहरुको आस्थाको केन्द्र आराध्यानाथ श्री पशुपतिनाथको देश पनि हो । यसका साथै नेपाल ज्ञान भूमि र तपोभूमिको उपनामले पनि चिनिन्छ । नेपाल भौगोलिक विविधताका कारणले पनि विश्वभरि प्रसिद्ध छ । अतः नेपाल पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना बोकेको देश हो । त्यसैले नेपाललाई विदेशीहरुको मुख्य गन्तव्यको रुपमा विकास गर्नको लागि Eco-Tourism, Spiritual-Tourism र Agro-Tourism जस्ता अवधारणालाई विकास गरी कार्यान्वयन गर्न जरूरी छ । 

कांग्रेसको स्थापनाकालमा लिएका सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनका मुद्दाहरू समयको बहावसँगै हराउँदै गएको भान हुन्छ । घोषणापत्रमा लोकतन्त्रलाई संस्थागत गर्नेदेखि सिंहदरबारको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गर्नेसम्मका अवधारणा आत्मसात् गर्न सकिएन भने भारतबाट ब्रिटेनलाई लखेट्ने कांग्रेस आईको जस्तो अवस्था नेपाली कांग्रेसको नहोला भन्‍न सकिँदैन । यसका साथै नेपालमा पनि नयाँ आप र केजरीवालको उदय नहोला भन्‍न सकिन्‍न । यदि त्यसो भएमा यसको दोष नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टीको नाताले कांग्रेसले लिनुपर्नेछ । साथै लोकतन्त्रको संरक्षणका लागि नेपाली कांग्रेसले ठूलो मुल्य चुकाउनु पर्नेछ । 

देशमा बढ्दै गरेको शैक्षिक बेरोजगार, अन्तर्राष्ट्रिय जगतमा भइरहेको महंगी साथै मुद्रास्फितिको असर, देशमा वर्षेनी भइरहेको व्यापार–घाटा, कृषिजन्यवस्तुको उत्पादन र बजारीकरणको व्यवस्था, राज्यमा भइरहेको अनुत्पादक क्षेत्रको लगानी नियमन तथा नियन्त्रण, कानुनतः संघीय सरकारले स्थानीय सरकारलाई प्रत्यायोजन गरेको अधिकार, चुस्त दुरुस्त कर्मचारी प्रशासन लगायतका विषयवस्तुलाई समेत यो घोषणापत्रले सम्बोधन गर्नुपर्छ । यसको अलावा देशको समग्र सामाजिक, आर्थीक र राजनीतिक परिवर्तनको वाहकको रुपमा नेपाली कांग्रेसको घोषणापत्र आउनु आवश्यक छ । यो घोषणा पत्र कर्मकाण्डी भन्दा पनि कार्यान्वयनको स्पष्ट कार्यदिशासहित आओस् भन्‍ने अपेक्षा आम कार्यकर्ता र नेपाली कांग्रेसका शुभ–चिन्तकहरूको रहेको छ ।  

नेपालका प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइरालाले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई सबैभन्दा महत्व दिएको पाइन्छ । त्यसैले अब आउने कांग्रेसको घोषणापत्रले बीपीले देख्‍नु भएको समाजवादलाई सही अर्थमा प्रस्टयाउँदै त्यसको कार्यान्वयनका मार्गचित्र पनि प्रस्तुत गर्नु आवश्यक छ । अतः यो वर्ष नेपालका राजनीतिक दलहरूलाई नागरिकको मत मात्र प्राप्त गर्ने बाटो मात्रै नबनी करिब ६ दशक अगाडि बीपी कोइरालाले देखेको समाजवादलाई कार्यान्वयन गर्दै देशको समग्र आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणको कार्यदिशा प्रस्तुत गर्ने वर्षको रुपमा परिणत हुनेछ भन्‍ने विश्वास छ ।

(काठमाडौं विश्वविद्यालयबाट ज्ञान व्यवस्थापनमा विद्यावारिधि गरेका पौडेल ज्ञान व्यवस्थापन विज्ञ तथा नेपाली कांग्रेसका युवा नेता पनि हुन् । लेखक शिक्षाका विभिन्‍न आयाम र सुशासनका विषयमा कलम चलाउँछन् ।) 



Author

डा. कृष्णप्रसाद पौडेल

लेखक ज्ञान व्यवस्थापन विज्ञ तथा नेपाली कांग्रेसका युवा नेता हुन् ।


थप समाचार
ad
x