विचार

आर्काइभबाट

प्रजातान्त्रिक संघर्षको इतिहासलाई उपहास गर्नेहरूका नाममा...

२९ वर्ष ४ महिना २६ दिनपछि चैत २६ मध्यरातमा कसरी फर्कियो प्रजातन्त्र ?

हरिबहादुर थापा |
चैत २६, २०७८ ७:४३ बजे

त्यो मध्यरात । सहर तीन दिनदेखि कर्फ्युको सन्त्रासमा थियो । प्रजातन्त्र र बहुदलीय व्यवस्था पुनर्बहाली निम्ति २०४६ चैत २४ का दिन सहरमा नारा लाग्यो । त्यो दिनभर काठमाडौँमा शान्त वातावरणमा जुलुस प्रदर्शन भएको थियो, त्यति ठूलो जुलुस काठमाडौँबासीले त्यसअघि देखेका थिएन । उपत्यका नेपाली कांग्रेसको चारतारे र कम्युनिस्ट पार्टीका हँसिया–हथौडाको झण्डाले रंगिएको थियो । 

चैतको उखरमाउलो गर्मीका दिन थिए, ती । तर आन्दोलनकारीलाई कतै पनि कुनै पर्वाह थिएन । अनि सहरका घर–घरका छतबाट पानी खन्याउँदै आन्दोलनकारीलाई शीतल पारेका थिए । त्यो दिन पूरै देश प्रजातन्त्र मागको ‘अन्तिम क्रान्ति’मा थियो । 


आन्दोनलकारीहरूले सहरका भित्ता रंग्याएका थिए, ‘हामी प्रजातन्त्र चाहन्छौँ’, ‘पञ्चायती व्यवस्था मुर्दावाद’, ‘...देश छोड’ ‘...फाँसी दे’ । अर्थात्, आन्दोलनकारीको खास तारोमा राजा वीरेन्द्र, तत्कालीन प्रधानमन्त्री मरीचमान सिंह, खेलकुद परिषद्का सदस्यसचिव शरदचन्द्र शाह, दामोदर शमशेर लगायतका प्रतिकार समितिका कट्टर पञ्च परेका थिए । 

त्यो दिन प्रदर्शनकारीहरू टुँडिखेलको सभा सकी घर फर्कंदै थिए । यद्यपि नाराबाजी चलिरहेको थियो । घर फर्कंदै गरेको जुलुसका प्रदर्शनकारीहरू नारायणहिटी अघिल्तिर पञ्चायती व्यवस्थाका प्रवद्र्धक राजा महेन्द्रको सालिकमा धावा मात्र बोलेनन् कि जुलुस सिधै दरबारतिर अघि बढेपछि सुरक्षाकर्मीको गोली चल्यो । त्यो साँझ सहरका चारैतिर ढुंगा, इँटाले भरियो, गोली–अश्रु ग्याससँगै सहर एकाएक सन्त्रासमा परिणत भएको थियो । त्यो दिन काठमाडौँ मात्र होइन, जनकपुरको स्थिति पनि त्यस्तै थियो ।

पञ्चायती शासकहरूले त्यही साँझ सहरमा कर्फ्‍यु आदेश जारी गरे । भोलिपल्ट चैत २५ का दिन एक घण्टा कर्फ्‍यु खुल्यो । त्यो पनि किनमेलदेखि अलपत्र परेकाहरू आफ्‍नो थलोसम्म पुग्‍न पाऊन् भन्‍ने उद्देश्यसहित ।

मध्यरातमा प्रजातन्त्र
एकाएक २०४६ चैत २६ राति ११.१५ बजे रेडियो नेपालबाट शाही घोषणा हुन पुग्यो, ‘आजको अन्तर्राष्ट्रिय वातावरण र नेपालीहरूको एकतालाई समेत विचार गरी नेपालीहरूकै वर्तमान चाहनाअनुसार नेपालको संविधान २०१९ मा रहेको ‘दलविहीन’ शब्द हटाई तदनुसार समाजका विभिन्न विचारधारा प्रतिविम्बित हुने गरी संविधान सुधार सुझाव आयोगले सुझाव लिई मौसूफका हजूरमा प्रतिवेदन जाहेर गर्नेछ । साथै नेपालमा हाल लागिरहेको दलमाथिको प्रतिबन्ध पनि हटाइबक्सेको छ ।’

त्यो शाही विज्ञप्तिसँगै २०१७ पुस १ का दिन मध्यान्हमा खोसिएको प्रजातन्त्र मध्यरातमा फेरि उदायो । अर्थात् २९ वर्ष ४ महिना २६ दिनपछि नेपालीले प्रजातन्त्र देख्न पाए । नत्र पञ्चायतकालभरि नागरिक निर्दलीय व्यवस्थाको फन्दामा परे । राजा महेन्द्रले सेनाका आडमा संसद् भंग र निर्वाचित सरकार अपदस्थ मात्र गरेका थिएनन् कि २०१७ पुस २२ मा दलमाथि प्रतिबन्ध लगाएका थिए । 

बहुदलको घोषणासँगै नागरिक सहरमा निस्किए । दुर्भाग्य, दलमाथिको प्रतिबन्ध फुकुवा भएको सूचना सुरक्षाकर्मीले पाएका थिएनन्, अर्थात् ऊ कर्फ्‍युकै आदेशमा थियो । उसले कर्फ्‍यु तोडेकामा प्रजातन्त्रका आकांक्षीमाथि गोली चलायो । प्रजातन्त्र बहालीपछि पनि नागरिकको ज्यान गयो ।

दलमाथि ‘प्र.’को फुर्का
पञ्चायती संविधानबाट ‘दलविहीन’ शब्द हट्नु र दलमाथि प्रतिबन्ध फुकुवा हुँदा पनि नागरिकको उत्साहको लहर थामिनसक्नुको थियो । त्यो कालखण्डमा ‘प्रजातन्त्र’ अति प्रिय शब्द थियो । बोलीचालीमा ‘लोकतन्त्र’ शब्द प्रवेश गरिसकेको थिएन । 

हुन पनि पञ्चायतकालभरि हरेक पार्टीका अघिल्तिर फुर्का जोडिन्थ्यो, (प्र.) अर्थात् प्रतिबन्धित । प्रतिबन्धित नेपाली कांग्रेस अर्थात्, त्यो कालमा ‘प्रनेका’ले चिनिन्थ्यो । उता प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी चाहिँ ‘प्रनेकपा’ । राजनीतिदेखि समाजसम्म भिजेको ‘प्रतिबन्धित’ फुर्का । त्यो फुर्का नजोडेको खण्डमा जेल जानुपथ्र्यो । अनि ती पार्टीका नेता/कार्यकर्तालाई त्यसरी बोल्ने पनि बानी बसेको थियो ।

पञ्चायती व्यवस्थाबाट प्रतिबन्धित कांग्रेस र कम्युनिस्ट दुवै पीडित थिए । दुवै एक–अर्कासँग मिल्न सक्ने अवस्थामा थिएनन् । तिनीहरू पञ्चायतकालभरि फरक–फरक कित्ताबाट पञ्चायत विरोधी अभियानमै थिए । अनि संयुक्त आन्दोलन कर्ममा चाहिँ उत्रेका थिएनन् । अझ कांग्रेस–कम्युनिस्ट एकले अर्कालाई शत्रुकै रूपमा लिन्थे । कम्युनिस्ट घटकहरूले कांग्रेसलाई प्रमुख दुश्मनकै कित्तामा राखेका थिए । इतरशक्ति आफ्‍नै झगडामा रम्दा दरबार र दलविहीन पञ्चायती शासकलाई निर्धक्क रजगज गर्ने अवसर मिलेको थियो ।

पञ्चायतकालभरि नागरिकका स्वतन्त्रता खोसिएको थियो, मुख थुनिएको थियो । शासकविरुद्ध लेख्दा वा बोल्दा जेल पुग्नुपर्ने अवस्था थियो । बहुदल शब्द उच्चारण गर्नेहरू पनि जेल पुग्थे । पञ्चायती शासकका अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्ध बोल्ने र लेख्नेहरू बाँच्न सक्ने अवस्था थिएन । अनि पञ्चायतकालभरि नारा लगाइयो, ‘प्रजातन्त्र र संसदीय व्यवस्था कोरा र आयातित हो ।’ बहुदलवादी नागरिक भनेका अराष्ट्रिय तत्व (अत) हुन् । पञ्चहरूका मुखमै अल्झिएको थियो, ‘अत’ । त्यो शब्द जति चर्काे स्वरमा उच्चारण गर्‍यो, त्यति नै छिटो तिनलाई पदीय र अन्य प्रकृतिको लाभ मिल्थ्यो । त्यहीकारण उनीहरू स्याल हुइँया शैलीमा ‘अत’ प्रयोग गर्थे, पञ्चायतविरोधी मत राख्नेहरूविरुद्ध ।

खासमा निर्दलीय पञ्चायती राजनीतिको चरित्र पनि जहानियाँ राणासँगै मिल्दोजुल्दो थियो । त्यो ‘हुकुमी शासन’कै निरन्तरता थियो, केवल पात्रहरू बद्लिएका थिए, राणाका ठाउँमा अरु तत्व आइपुगेका थिए । राजालाई नेपाली नागरिकले राणा शासनको खोपीबाट मुक्त गराएका थिए, तर बदलामा राजा महेन्द्रले नागरिककै स्वतन्त्रता अपहरण गरे ।

‘त्यस्ता दृश्य अन्त्य गर्न’, कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको प्रयत्नमा २०४६ माघ २० मा दुवै शक्ति ‘एकजुट भएको खण्डमा कसैले पराजित गर्न नसक्ने’ निष्कर्षमा पुगे । उनीहरूको उद्घोष रह्यो, ‘परिवर्तन अवश्यम्भावी छ ।’ अर्का त, कम्युनिस्टहरू पनि अनेकन् कित्तामा उभिएका थिए । उनीहरूबीच पनि २०४६ पुस २६ का कार्यगत एकतासहितको ‘वाममोर्चा’ बन्यो, यद्यपि कट्टर कम्युनिस्ट शक्तिहरू त्यसमा पनि सामेल भएनन् । अर्थात्, उनीहरूको छुट्टै मोर्चा बन्यो ।

पचास दिन निर्णायक आन्दोलन
दलमाथि प्रतिबन्ध फुकुवाका निम्ति पञ्चायतकालभरि कुनै न कुनै किसिमको आन्दोलन चलिरह्यो, सशस्त्र संघर्षदेखि सत्याग्रहसम्म । २०४६ फागुन ७ का दिन सुरु भएको प्रजातन्त्र पुनर्बहालीका निम्ति ‘पचास दिने’ आन्दोलन निर्णायक बन्यो ।

राणा शासक फाल्दै प्रजातन्त्र उदाएको दिनलाई अवसर पार्दै २०४६ फागुन ७ बाट आन्दोलन प्रारम्भ भएको थियो । प्रारम्भिक दिनहरूमा प्रदर्शनकारीहरू ठाउँ–ठाउँमा उत्रे । त्यसपछि आन्दोलनकारी पक्राउको शृंखला नियमित बन्यो । आन्दोलन दबाउन सुरक्षाकर्मी र खेलकुद परिषद्का खेलाडी परिचालन गर्ने क्रम बढ्यो ।

आन्दोलन सुरु भएको दोस्रो दिन धनुषाको जदुकोहामा प्रहरी दमन चर्कायो । जहाँ दुईको ज्यान लिनुका साथै गाउँलाई त्रस्त तुल्यायो । जनआन्दोलनका क्रममा धनुषामा मात्रै पाँच सहिद भए ।

पञ्चायतविरुद्ध राजधानीमा मात्र होइन, जनकपुर, विराटनगर, चितवन, पोखरा, बुटवल, नेपालगन्ज जस्ता ठूला सहर तातिरहे । पत्रकारहरू त प्रजातन्त्र बहालीको ‘मिसन’मै थिए । युवा विद्यार्थीहरूले पनि बिस्तारै तात्दै आन्दोलन चर्काउन थाले । २०४६ चैत १७ देखि राजधानीमा आन्दोलनले चर्को रूप लिँदै गयो । जब पाटनमा जनप्रदर्शनकारीमाथि चर्को दमन सुरु भयो, तब आन्दोलनले उग्र रूप धारण गरेको हो । सँगै चिकित्सक, वकिल, साहित्यकार हुँदै अन्तिममा सरकारी कर्मचारीहरू समेत ‘कलम बन्द’ गर्दै सडकमा उत्रिए ।

सहरवासी सडक र टुँडिखेलमा
मध्यरातमा दलमाथि प्रतिबन्ध फुकुवा हुँदा धेरैजसो निद्रामा थिए । थोरैले मात्र मध्यरातमै प्रजातन्त्र चुमे । धेरैले २०४६ चैत २७ को बिहानीमा मात्रै प्रजातन्त्र बहाली भएको सुन्न पाए । प्रजातन्त्र बहालीको खुसी साट्न २०४६ चैत २७ दिन बिहानै सडकमा उत्रेका थिए, आमनागरिक ।

‘प्रजातन्त्रको जीतमा’ आमनागरिक कम्ती खुसी थिएनन् । त्यो दिनभर देश नारा, सिन्दुर, नाच र कांग्रेस–कम्युनिस्टका झण्डाले रंगिए । कांग्रेस–कम्युनिस्टका नेताहरू दिउँसो टुँडिखेलको सभामा उपस्थित भए, जहाँ आमभेल उत्रिएको थियो । नागरिकले त्यसरी नेताहरू देख्न वा भाषण सुन्न पाएका थिएनन् ।

त्यो दिन टुँडिखेलमा सबभन्दा आकर्षणको व्यक्तित्व गणेशमान सिंह थिए । कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा पञ्चायतविरुद्धको आन्दोलन सफल भएपछि सिंगो मुलुकले ‘लौह पुरुष’को संज्ञा दियो । जहाँ कांग्रेसका नेताहरू कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मंगलादेवी सिंह, अनि वाममोर्चा अध्यक्ष साहना प्रधान, कम्युनिस्ट नेताहरू मनमोहन अधिकारी, तुलसीलाल अमात्य, विष्णुबहादुर मानन्धर, निर्मल लामा, पद्मरत्न तुलाधर बोलेका थिए । जहाँ मालेका नेता झलनाथ खनाल भूमिगत जीवनबाट एकैचोटि टुँडिखेलको सभामा प्रस्तुत भएका थिए ।

अनौठो चाहिँ त्यो सभामा कांग्रेसका महामन्त्री गिरिजाप्रसाद कोइराला बोल्दा ‘हुटिङ’ हुन पुग्यो । ‘प्रजातन्त्रमा कसैको हार हुँदैन’ कोइराला बोल्दै थिए ‘यो सबै जनताको जीत हो । राजा र जनता दुवैको जीत हो । पञ्च पनि जनता भएकाले तिनीहरूको पनि जीत हो ।’

कोइराला ‘पञ्चको जीत...’ वाक्य के बोल्दै थिए । त्यसपछि टुँडिखेलमा एकाएक हुटिङ चल्यो । कोइरालाविरुद्ध त्यसरी ‘हुटिङ’ भएकामा कांग्रेसजन तात्न पुगे ।
हुन पनि कोइरालालाई बोल्न नदिने र उनको आवाज सुन्न नदिने गरी चर्को हुटिङ चल्यो । 

खासमा कोइराला प्रजातन्त्रको सैद्धान्तिक व्याख्यामा आधारित रहेर बोल्दै थिए । किनभने ‘प्रजातन्त्र’मा सबै नागरिकका हक–अधिकार सुरक्षित भन्ने शैलीमा बोल्दै थिए । उनले प्रजातान्त्रिक पद्धतिमा कसैको ‘हार’ हुँदैन, सबैको जित हुन्छ भनी सबैलाई उत्साहित गर्ने उत्कट चाहनाको अभिव्यक्ति मात्र थियो । प्रजातन्त्र बहालीपछिको त्यो बृहत् र बहुत उत्साहित आमसभामा कोइरालाविरुद्ध कम्युनिस्टहरू खनिएको आशंका गरियो । कोइरालाविरुद्ध त्यसरी ‘हुटिङ’ भएपछि कम्युनिस्टहरूको शैलीप्रति कांग्रेसीजनको मनमा चिसो पस्यो । अनि फेरि कम्युनिस्टहरूले प्रजातन्त्र फस्टाउन नदिने हुन् कि भन्ने आशंकाको बिउ पनि रोपियो । यद्यपि कम्युनिस्टहरू प्रजातान्त्रिक पद्धतितिरै बिस्तारै अभ्यस्त हुँदै गए ।

राजनीतिक पीडित सहायता समितिको प्रतिवेदनअनुसार, जनआन्दोलन २०४६ मा फागुन ७ देखि चैत २६ सम्म २२ जना सहिद भए । ‘प्रजातन्त्र’ दलविहीन निरंकुश पञ्चायतबाट पिल्सिएको नेपाली नागरिकका निम्ति ‘महान् उपलब्धि’ थियो । प्रजातन्त्र नेपाली नागरिकको बलिदानीको प्रतिफल हो, जसमा खेलबाड हुनु भनेको फेरि पञ्चायतकाल जस्तै निरंकुश शासक परिबन्दमा पर्नु हो । प्रजातन्त्रका लागि पुर्खाहरूले गरेको संघर्षको इतिहासलाई नजरअन्दाज गर्दै उपहास गर्नु आफैँप्रतिको अपमान र अपराध दुवै हो ।



Author

हरिबहादुर थापा

संसद्, शासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
ad
x