विचार

मानौँ संसद् पुनःस्थापना भयो रे, अनि के हुन्छ ?

सन्तोष अधिकारी, यूराेप |
माघ १२, २०७७ सोमबार १७:११ बजे

सर्वप्रथम तीनवटा उदाहरण पेस गर्न चाहन्छु । सप्तरी पथरीका मलर सदा मुसहरले भोककै कारण यही वर्षको मध्य जेष्ठतिर ज्यान नै गुमाउनु पर्‍याे । घरमा चार दिनदेखि चुल्हो नबलेपछि खाद्यान्‍नको जोहो गर्न निस्केका उनको पीडादायी मृत्यु भयो । जुन अस्वाभाविक थियो । उनको निधनले समाजवादको नारा बेचेर करिब दुई तिहाइ जनमत प्राप्त गरेको सरकार र सदनलाई गिज्याइरहेको थियो । हुन त भोक र प्यासको अभावमा दैनिकजसो ज्यान गुमाउने मलर सदाहरू जस्ताको रेकर्ड राखेको भए सायद धेरै ठेली भरिइसक्थे होलान् ।

दोस्रो, गत वर्ष असोजताका मिर्गाैला डायलसिसका लागि रौतहटबाट राजधानी आउने क्रममा रूपलाल शाहको बाटोमै मृत्यु भयो । पैसाको अभावले उनले समयमै डायलसिस गराउन सकेका थिएनन् । जीवन जोगाउन सहयोगको याचना गर्दै राजधानी हिँडेका ३५ वर्षीय रूपलालको जिजीविषा सडकमै सकियो । त्यसैको आसपासमा प्रधानमन्त्री केपी ओली विदेशमा गएर मिर्गाैलाको डायलसिस र फलोअप गरेर फर्केका थिए । 


पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पत्‍नी सीता दाहाल सिंगापुरमा उपचार गराएर स्वदेश फिरेकी थिइन् । हाम्रो समाजवादको अभ्यासमा असमानताका यस्ता बिर्सनलायक थुप्रै नजीर छन् । सेवा, सुविधा र अवसरको बाँडफाँडमा देखिने विभेदको अवस्था विकराल छ ।

तेस्रो, भर्खरै मात्र रामजी राम पैसा नभएकै कारण चिकित्साशास्त्रको परीक्षा दिनबाट वञ्चित भए । भलै पछि उनले परीक्षा दिएका छन् । आम रूपमा उनको गरिबीको कसरी खिल्ली उडाइयो र अपमान गरियो । त्यसको लेखाजोखा गर्नै सकिँदैन । पैसाको अभावमा कैँयन् रामजीहरूले आफ्नो भविष्य र लक्ष्यलाई तिलाञ्जली दिएर बाटो मोडेका प्रशस्त प्रमाण छन् ।

मलर सदा, रूपलाल र रामजी रामका पीडा केवल लाखौं नेपालीले भोगेका प्रतिनिधि उदाहरण मात्रै हुन् । अब चुरो कुरातर्फ लागौँ । अदालतमा विचाराधीन रहेको संसद् पुनःस्थापनाको मुद्दाबारे टिप्पणी गर्ने कसैलाई अधिकार छैन । तसर्थ यसबारे कुरा गरेर समय खेर नफालौँ । यो अब अदालत र कानुनको तजबिजीमा पुगिसकेको छ ।

मिर्गाैला उपचार गर्न काठमाडौँ आउँदै गर्दा बाटैमा मर्ने रूपलाल, भोकले मर्ने मलर र पैसा नभएपछि निकालिएका रामजीहरूलाई संसद् हुनु र नहुनुमा के फरक ?

दिनहुँजस्ता घट्ने माथि उल्लिखित यस्ता समस्या समाधानमा अहिले संसद् पुनःस्थापनाको चर्काे माग राख्‍ने निवर्तमान सांसदहरूले के भूमिका निर्वाह गरे ? संसद् हुनु र नहुनुले मलर सदा, रूपलाल र रामजीहरूको जीवनमा के अर्थ राख्यो ? कमरेडहरूले सिंगापुर बैंकक र न्युयोर्कमा उपचार गराइराख्दा संसद् फेरि पुनःस्थापना भयो भने अरू रूपलाल बन‍न विवश भइराखेका पात्रले के पाउँछन् ? भोकै ज्यान गुमाउनुपर्ने बाध्यतामा रहेका अरू लाखौँ मलर सदाका लागि के हुन्छ ? 

पैसा नभएकै कारण पढन र परीक्षा दिन नपाएका बाँकी रामजी रामले के पाउनेछन् ? अनि अझ महत्वपूर्ण कुरा त हिजो संसद् हुँदा यी समस्याको के कति सम्बोधन भए ? सम्बोधन गरेका भए यो विकराल अवस्था किन आयो ? बझाङ र बाजुरेली अहिले पनि नुनकै लागि घन्टौँ हिँड्न बाध्य छन् । कैँयन् हुम्ली र डोल्पालीलाई चामलको भात खान दसैं नै कुर्नुपर्ने विवशता छ । महोत्तरीको मुसहर बस्तीमा, अनि नवलपरासीको थारु बस्तीमा गर्मीमा लू लागेर र जाडोमा शीतलहरले वर्षाैं ज्यान गुमाउनेको संख्या उत्तिकै छ । कमरेड ! यो विवशताको अन्त्य गर्न हिजो तपाईं सांसदहरूले के भूमिका निर्वाह गर्नुभयो ? यस्ता दर्दनाक समस्या त ठेलीका ठेली छन् । 

अब तपाईँहरूलाई फेरि सर्वोच्च अदालतले सांसद बन्‍ने बाटो खुलाइदियो भने यी समस्याको हल हुन्छ ? अवश्य हुँदैन । मात्र तपाईंहरू फेरि एकथान सांसद बन्‍नुहुन्छ । देउवा, खनाल, दाहाल, नेपाल या ओली को प्रधानमन्त्री, को राष्ट्रपति बन्‍ने भन्‍ने रस्साकस्सीमै रम्नु हुनेछ । कुन गुट, समूह हाबी हुने भन्‍ने दाउपेचले नै प्राथमिकता पाउनेछ ।

अनि रूपलाल, मलर र रामजीहरूले तपाईँहरू सांसद् हुँदा के पाए ? अहिले नहुँदा के गुमाए ? भोलि फेरि हुनुभयो भने के पाउँछन् ? वास्तवमा केही गुमाएका पनि छैनन् र केही पाउँदैनन् भने तपाईँहरूका लागि फेरि किन ननभेज आन्दोलन गरिदिनुपर्ने ? 

तपाईँहरू सांसद हुँदा के पाए ? अहिले नहुँदा के गुमाए ? भोलि फेरि हुनुभयो भने के पाउँछन् ?

सत्र हजारको ननभेज आन्दोलनले के दियो ? दियो त केवल उही भोक, प्यास, अभाव, गरिबी, नातावाद, कृृपावाद, भ्रष्टाचार, बेथिति । अरू चित्तबुझ्दो जवाफ छ, कमरेड ? बिल्कुल छैन । २०४६ पछिको पनि कुरा नगरौँ । किनकि त्यसबेला राजसंस्था पनि थियो । अब भन्‍नुस् विसं २०६४ पछि तपाईंहरू नै होइन र, पटक पटक सांसद र मन्त्री बन्‍नुभएको ? आखिर के भयो ? अहिले सडकमा संसद् पुनःस्थापनाका लागि जनतालाई आन्दोलित हुन आह्वान गरी राख्दा यी प्रश्‍नको जवाफ छ ?

उसो भए पुनःस्थापना कसका लागि ? यसको मतलब विघटन सही या गलत थियो भन‍न खोजिएको होइन । मात्र बाँकी लाखौँ मलर, रूपलाल र रामजीहरूले के पाए भन्ने सवाल हो । के पाउनेछन् भन्‍ने हो । संसद् चाहियो भनेर बुरुकबुरुक उफ्रिँदै हिँड्नेहरूसँग अरू थप जिज्ञासा छ ?

कृषिमन्त्री भएर कृषकलाई मल दिन नसक्ने । उखु किसानको समस्या हल गर्न नसक्ने । सिद्धान्त र आदर्शका पाठ पढाउने तर काम गर्ने ठाउँमा पुगेपछि सिन्को नभाँच्‍ने घनश्यामहरूलाई फेरि मन्त्री बनाउन जनताले ननभेज आन्दोलन गरिदिनुपर्ने ? बोलेर देशलाई नै कायापलट गर्ने सपना बाँड्ने । तर एउटा बाख्रापालनमा पनि आफू सफल हुन नसक्ने योजनाविहीन भाषणबाज गगनहरूलाई फेरि सांसद बनाउन जनता सडकमा ओर्लिदिनुपर्ने ? कुरा चर्का गर्ने तर मन्त्री पड्काएपछि परिणाम दिन नसकेका योगेशहरूलाई योग्य ठहर्याउन जनताले आन्दोलन गरिदिनुपर्ने ? वाह ! क्या गजब छ । 

यिनै पात्रका लागि भोकै बसेर । जाडोमा कठांग्रिएर । बाढी र पहिरोमा पिल्सिएर । उपचारको अभावमा छटपटिएर । आम निर्दोष जनताले फेरि बलिदानी दिन तयार हुनुपर्ने । जनतालाई फेरि सडक तताउन आह्वान गर्ने आँट पनि कसरी आउन सकेको ? सोच्‍नुस् त कति उदेकलाग्दो छ ।

सम्धीले सांसद बन्‍ने अवसर पाएकै थिए । भतिजले राजदूत पड्काएकै छन् । ज्वाइँ, छोरीहरू सेटल भएकै छन् । भाइहरू वाणिज्यदूत बनेकै छन् । सर्पपालन केन्द्रले पैसा पाएकै छ । पूर्वप्रधानमन्त्रीहरूलाई होली वाइन कार्यक्रमको टेन्डर पार्न संसद् नभए पनि रोकावाट छैन होला । हाइड्रोको विवाद मिलाउन र कमिसन लिन संसद् नहुँदैमा सकस हुने कुरै भएन । यी काम त संसद् नभए पनि चलि नै हाल्छ । अनि कसका लागि र केका लागि संसद् चाहियो भन्दै थाल ठटाउन पर्यो । हिजो हुँदा पनि भएको यही र यत्ति नै हो ।

फेरि पनि कुनै चित्तबुझ्दो अर्को जवाफ छ भने भन्‍नुस् । रूपलाल, मलर र रामजीहरूलाई संसद् पुनःस्थापना हुँदा के हुनेछ ? तपाईँहरूलाई मन्त्री बनाउन । तपाईँका नातागोता, आफन्त र छोराछोरीलाई सरकारी सम्पत्तिमा ऐस–आराम गराउन सर्वसाधरणले सडकमा आएर टाउको फुटाउनुपर्ने । पुलिसको लाठी खाइदिनुपर्ने । घाइते बनिदिनुपर्ने । आन्दोलनमा आउन जनतालाई आह्वान गरिराख्दा ठण्डा भएर सोच्‍नुस् एकपटक ।

सिद्धान्त र आदर्शका पाठ पढाउने तर काम गर्ने ठाउँमा पुगेपछि सिन्को नभाँच्‍ने घनश्यामहरूलाई फेरि मन्त्री बनाउन जनताले ननभेज आन्दोलन गरिदिनुपर्ने ?
 

जनतालाई कति बेवकुफ बनाउनुहुन्छ । कति धेरै दास ठान्‍नुहुन्छ । विश्वका कुनै पनि लोकतान्त्रिक देशमा हाम्रोमा जस्तो देख्नुभएको छ ? जहाँ केही सीमित पात्र सधैँ मालिक बन्‍ने र सर्वसाधारण उनीहरूले जति बेला जे भन्छन्, त्यसैको लहैलहैमा हिँडिदिनुपर्ने ? तपाईंहरूको कुर्सी मोह पूरा गर्न पटकपटक भर्याङ बनिदिनुपर्ने । के यो काइदा हो ?

सांसद र मन्त्री हुनु अघिसम्म चप्पल लगाएर चकटीमा बस्‍ने तपाईँहरू । जीवनमा कुनै पेसा–व्यवसाय गर्नुभएन । तर आज करोड–अर्बको मालिक हुनुहुन्छ । ठूला मेगा प्रोजेक्टको सेयर होल्डर हुनुहुन्छ । यो कसरी सम्भव भयो ? कुनै उत्तर छ ? अहँ, बिल्कुल तपाईंहरूसँग छैन । अब फेरि भन्‍नुस् तपाईंहरूलाई अरू थप धनाढ्य बनाउन । तपाईँहरूका लागि सर्वसाधारण सडकमा आइदिनुपर्यो ।

क्याबात छ नेताज्यू । जनतालाई सधैँ दास नसम्झनू । भेडा बनाउन नखोज्नुस् । यो त एक्काइसौँ शताब्दी हो । जनता बदलिइसके । सोच बदलिसक्यो । अब देश बदल्ने हो । मलर, रूपलाल, र रामजीहरूको अवस्था र स्तर बदल्ने यात्रातर्फ लाग्‍ने हो । समृद्धि र सुशासनका लागि एकाकार हुने हो । परिवर्तनको यात्रामा जुन पात्रमा त्यस्तो अठोट र भिजन भेटिन्छ, उसैको पक्षमा वकालत गर्ने हो ।

अब त्यो दिशातर्फ उन्मुख हौँ । न कि फेरि पनि अस्थिरता निम्त्याउने आन्दोलनलाई प्रश्रय नदिऔँ । समाधानका लागि विकल्पहरूमध्येबाट उत्तम विकल्प नै रोजौँ । यी पात्र र प्रवृत्तिहरूलाई छिटो फेरबदल गर्न सकिने लोकतान्त्रिक उपाय नै रोजौँ । न कि रूपलाल, मलर र रामजीहरूको पीडा बुझ्न सक्ने नेतृत्व छिटो पाउन सकियोस् । लोकतन्त्रमा जनप्रतिनिधिमूलक संस्थाले नै जनताको आवाज बोल्ने हो । तर जनताको आवाज नसुन्ने पात्रहरूको विकल्पमा फेरि पनि छिट्टै नयाँ पात्र चयन गर्नु नै अर्को विकल्प हो । उनीहरूको बिदाइ नै उत्तम उपाय हो ।

अन्त्यमा संसद्को विकल्पमा संसद् नै हो । तर लाखाँै मलर, रूपलाल र रामजीहरूको आवाज बोल्न सक्ने । खारिएका र फेरिएका पात्रसहितको संसद् । बरु त्यसका निम्ति हामी जनता फेरि एकपटक चनाखो हुन जरुरी छ ।


Author

सन्तोष अधिकारी, यूराेप

हाल यूरोपमा बस्‍ने अधिकारी समसामयिक/राजनीतिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x